दमक, ३१ भदौ-
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ४ गते दमक आउने भएका छन् । पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटीले आयोजना गर्ने ‘समृद्ध नेपाल, सुखी नेपाली’ विषयको वक्तृत्वकला तथा साक्षात्कार कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन ओली दमक आउने भएका हुन् ।
युवा संघको नगर कमिटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमबारे जानकारी गराइएको हो । संघका दमक नगर कमिटी अध्यक्ष विवेक शर्मा भट्टराईले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएका समयमा सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका विषयमा विद्यार्थी तथा नयाँ पुस्तालाई सुसूचित गराउन सो विषयमा वक्तृत्वकला आयोजना गरिएको बताए । दमक नगरमा रहेका माध्यमिक तहका विद्यालयहरुबाट वक्तृत्वकलामा सहभागी हुने विद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जना विद्यार्थीहरुलाई नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले नगद ११ हजार, तृतीय हुनेले नगद ७ हजार ५०० र सान्त्वना स्वरुप दुई जनालाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । पार्टीका प्रदेश कमिटी क्षेत्र (ख) का क्षेत्रीय अध्यक्ष अम्बिका खनालको प्रमुख उपस्थितिमा भएको पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य निशा लिम्बू, पार्टीका जिल्ला सदस्यहरु लिला दाहाल, गणेश बस्नेत, नगर कमिटी अध्यक्ष गेहनाथ पोखरेल, बोधप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।