स्थानीय

अव्यवस्थित पोल र तार हटाउने काम शुरु  

दमक/ झापाको दमकमा लामो समयदेखि विजुलीको पोलमा टाँगिएका टेलिकम र विभिन्न इन्टरनेट प्रदायक संस्थाहरुका अव्यवस्थित  तारका कारण शहर बजारनै कुरुप जस्तो देखिएको थियो । टेलिफोन र इन्टरनेटका तारहरुको गुजुल्टोका कारण कतिपय ठाउँमा मानिसहरुलाई आवागमनमा समस्या हुन्थ्यो भने कतिपय ठाउँमा बेला बेलामा तारहरु लत्रिएर हिंडडुलमा समस्या पैदा हुन्थ्यो । यति मात्र होइन, कहिलेकाहीँ विद्युतको पोलमा टाँगिएका तारहरुको गडबडीका कारण आगलागी हुँदा इन्टरनेट सेवा मात्र अवरुद्ध हुने होइन, नसोचेको दुर्घटना समेत हुने गरेको विगतका घटनाहरुबाट थाहा भएकै कुरा हो ।
यस्तो अवस्थामा दमक नगरपालिकाका विभिन्न वडाका शहरबासी तथा आसपासका क्षेत्रहरुका बासिन्दाहरुको गुनासो पनि उत्तिकै परिरहेको थियो । तर नगरपालिकाले समयमा त्यस्ता गुनासाहरुको सम्बोधन गर्न नसक्दा आलोचना समेत खेप्दै आएको नगरपालिकाले जनाइरहेको थियो  । नेपाल टेलिकम र निजी इन्टरनेट सेवा प्रदायक संस्थाहरुले पनि सो समस्याको समाधान गर्न सकेका थिएनन् । नेपाल विद्युत प्राधिकरणले पनि पुराना विजुलीका पोलहरु विस्थापन गरेर नयाँ पोलहरु गाडन सकिरहेको थिएन । यो समस्याबाट पीडित व्यापारी व्यवसायीहरु र शहर बजारका मुख्य भागका बासिन्दाहरुले तारको अव्यवस्थापनले आफूहरुलाई सताएको गुनासो गरिरहँदा सो कुरा बारम्बार नगरपालिका नेतृत्व र वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई पनि पीर परिहेको थियो । यस्तो अवस्थामा शुक्रबारदेखि भने दमक नगरपालिकाको समन्वय र पहलमा जेसीज चोकको गोल्डेन गेटदेखि थाना लाइन हुँदै शान्ति मार्ग र नमूना बजारसम्मका विजुलीका पोलहरु हटाउन थालिएको छ । बिजुलीका पोलमा रहेका टेलिकम, केवल र निजी इन्टरनेट प्रदायक संस्थाहरुका अव्यवस्थित तारहरु हटाउने अभियानको शुरुवात गरिएको  छ  । सो कार्यको थालनी गर्दा शुक्रबार फिल्डमै आएर दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले प्राविधिकहरुलाई हौसला दिएका छन् ।
विद्युतको पोल हटाउन आवश्यक गाडी र यन्त्रहरुको व्यवस्थापन गरिएको छ भने सो कार्यमा दमक नगर प्रहरी, नेपाल टेलिकम र नेपाल विद्युत प्राविधिकरणका प्राविधिकहरु बिहानैदेखि खटिएका छन् । ‘यसलाई हामीले अभियानका रुपमा लिएका छौं । बिजुलीका पुराना पोलहरु हटाउने, त्यसमा टाँगिएका इन्टरनेट र टेलिफोनका तारहरु हटाउने कार्य अब तदारुकताका साथ अघि बढ्ने छ । अहिले थाना लाइन हुँदै नमूना बजारसम्म यो कार्य शुरु गरिएको छ ।’ दमक नगरपालिकाका नगर प्रमुख थापाले फिल्डमा रहेकै बेला भने– यो रुटमा
अव्यवस्थित….. ४० वटा बिजुलीका पुराना पोलहरु हटाइनेछ । त्यसपछि दमक बसपार्क हुँदै नगरपालिका रोड र उत्तरमा दमक फन पार्कसम्मका पुराना पोलहरु हटाइने छ । त्यस्तै बेलडाँगी रोडदेखि उत्तर मामा चौकसम्म पनि यो कार्य गरिने छ  । जेसीज चौकदेखि शंखधर चौकसम्म पनि यो कार्य गरिने छ ।  त्यसका लागि केही समय लाग्ने छ, तर सबै बजारबासी र पीडामा परेका दमकबासीहरुको आमचाहनालाई सम्बोधन हुनेगरी काम हुने उनले बताए । बिजुलीको पोल हटाएपछि तार टाँग्न समय लागेपनि शहर बजारको सौन्दर्यकरणका लागि नगरपालिकाले काम थालेको उनले बताए  । ‘बजार सुन्दर र आकर्षक होस्, यात्रीहरुको आवागमनमा सहजता होस्, शहर सफा रहोस् भन्नेनै हाम्रो उद्देश्य हो ।’ दमक नगर प्रमुख थापाले आफ्नो योजना बारे सुनाउँदै भने– सडकका फुटपाथमा फ्रि वाइफाईको व्यवस्था, सडक बत्तीको व्यवस्था, सिसि क्यामेरा जडान लगायतका कामहरु गर्नेछौं, जसबाट नगरबासीहरुलाई राहत मिलोस् । यो कार्यको थालनी भएको छ, यसमा सबैलो आवश्यक सहयोग र साथ दिनुपर्ने छ ।’ दमक बजार र आसपासका क्षेत्रलाई सुन्दर र आकर्षक बनाउने यो अभियान क्रमिक रुपमा सम्पन्न हुँदै जानेछ । अहिले बिगारिएका, भत्काइएका संरचनाहरुको उपयुक्त व्यवस्थापन सकेसम्म चाँडो गरिने पनि उनले जानकारी गराए । पुरानो भत्काएर नयाँ बनाउने क्रममा नगरवासीहरुलाई विकल्प पनि दिनुपर्छ, त्यसका लागि केही समय लागेपनि धैर्यधारण गर्न र अहिले भइरहेको शहरको आकर्षण बढाउने काममा सबैको सहयोग रहने कुरा अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । ‘पटक पटक जसो समस्याको गुनासो आएकोमा अहिले आएर यस कार्यमा सहयोग गर्ने नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरण साथै ती कार्यालयका प्राविधिक सहयोगी टिमलाई धन्यवाद दिनुपर्छ ।’ नगर प्रमुख थापाले भने– दमक शहरलाई अब नयाँ रुपमा देख्न पाइनेछ । यहाँ हुने चोरीका समस्याहरु पनि विस्तारै हल भएर जानेछन् । त्यसमा सरकारी सुरक्षाकर्मीहरुको सदैव साथ र सहयोग रहने कुरामा विश्वास गर्नुपर्छ ।’

Author

You may also like