दमक/ सुन्दर समाज नेपालले दमकको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई सोमबार जाडोका लागि कम्बल वितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय दमकसंगको सहकार्यमा सो संस्थाले १२ थान कम्बल हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष लक्की सिटौलाले बताईन् ।
ति कम्बल संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्मदिनको अवसर पारेर प्रदान गरिएको संस्थाले जनाएको छ । ती सहयोगी सामाग्री संस्थाकी अध्यक्ष सिटौला, इप्रका दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरी लगायतले हस्तान्तरण गरेका थिए । अध्यक्ष सिटौलाले सामाजिक उत्तरदायित्व अन्तर्गत थुनुवालाई जाडोका लागि ती सामाग्रीहरु उपलव्ध गराइएको बताइन् । सामाजिक कार्यमा सक्रिय उक्त संस्थामा विभिन्न क्षेत्रका महिलाहरु मात्र आवद्ध छन् । यसअघि समेत उक्त संस्थाले थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथैं औषधीहरु समेत वितरण गरेको अध्यक्ष सिटौलाले बताइन् । सो कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष रुपा सेलिङ, वर्तमान सचिव मनु साम्पाङ, कोषाध्यक्ष झरना लक्सम, प्रनिता पौडेल लगायतको उपस्थिति रहेको थियो ।