विमल लामिछाने
दमक / पछिल्लो समय झापामा हात्तीको त्रास बढ्दै गएको छ । कन्काई सामुदायिक बनमा घाँस काट्न गएका ७७ बर्षीय कृष्णबहादुर भुजेलको दुईदिनअघि हात्तीले कुल्चेर ज्यान गयो । यस्तै २ महिना अघि विर्तामोड नगरपालिका वडा नं. ८ की लतुमाई मर्डीको निगुरो टिप्नेक्रममा जंगली हात्तीले कुल्चेर मृत्यु भएको थियो । यी पछिल्ला प्रतिनीधि घटनामात्र हुन् ।
पछिल्लो समय झापाका जंगल क्षेत्र आसपासका बस्तीमा जंगली हात्तीले मान्छेको ज्यान लिनका साथै त्रसित बनाउन थालेको छ । दमकको माथिल्लो क्षेत्रमा जङ्गली हात्तीका कारण वर्षेनी एक/ दुई जनाको ज्यानै जानेसम्मका घटना हुने गरेका छन् । जंगली हात्तीको उपद्रोले आजित भएका झापाका उत्तरी क्षेत्रका बासिन्दाले वैकल्पिक खेती लगाउन समेत बाध्य भएका छन् । हंसेदुम्से वनबाट हात्तीको बथान बस्तीमा प्रवेश गरेर दुःख दिन थालेपछि जनजीवन त्रासपूर्ण बनेको दमक–३ का वडाध्यक्ष नवीन बरालले बताए । जङ्गलबाट निस्किएको हात्तीले किसानको अन्नबालीसहित घरमा क्षति पु¥याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको बरालले बताए । हात्ती आउने डरले स्थानीयबासी कतिपय रातभर जाग्राम बस्नुपर्ने अवस्थापनि कायमै छ, उनले भने ।
झापाको कमल गाउँपालिका ५ स्थित सिम्लेमा केहिदिन यता दिनहुँ जसो जंगली हात्तीले उपद्रो मच्याउँदै आएको स्थानीय बताउँछन् । बस्तीसंगैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले उपद्रो मच्याउँदै आएपछि त्यहाँका बासिन्दा आंतकीत हुन पुगेका छन् । दिनुहुँजसो हात्तीले बस्तीमा उपद्रो मच्याउदै आएपछि स्थानीयले हात्ती नियन्त्रणको माग गर्दै आएपनि समाधानको विकल्प पाउन सकेका छैनन् ।
डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार वि.सं. २०६८ देखि २०७८ मंसिर मसान्तसम्म दशकमा झापामा ५३ जनाको मृत्यु भइसकेको छ । जसमा पाँचजना गैरनेपाली पनि छन् । जङ्गलमा दिउसो दाउरा र घाँस खोज्न गएका महिला र बालवालिकासमेत चपेटामा पर्ने गरेका छन् । झापाको भारतसँग सीमा जोडिएको बाहुनडाँगीदेखि दक्षिणी क्षेत्र कचनकबल र गौरीगञ्जसम्म प्राकृतिक जङ्गल र सामुदायिक बन रहेको छ । उत्तरी चुरे पहाडसँग जोडिएको भेगमा पनि जङ्गल नै भएको हुँदा हात्ती चरणका लागि सहज मानिन्छ ।
झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन । करेण्टमा परेर पाँचजनाको मृत्यु भएको छ । एक दशकमा पाँच दर्जनबढी मानिस हात्तीको आक्रमणमा घाइते भएको वन डिभिजन कार्यालय झापाले जनाएको छ । नेपालको जङ्गलमा बस्ने केही हात्ती स्थलसीमा पार गरेर भारतको बिहारका गाउँमा समेत आहाराको खोजीमा जाने गर्छन् । भारतबाट रातारात नेपाल भित्रिने हात्तीको बथानले पहिले पहिले धेरै जनधनको क्षति पु¥याएको भए पनि एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको स्थानीयको बुझाइ छ ।
मेचीपारि भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । भारतको पश्चिम बङ्गाल र आसामसम्म फैलिएको करिडरमा हात्तीको कयौँ पुस्ताले नेपालको कोशीटप्पुसम्म विचरण गर्दै आएको एक अनुसन्धानले देखाएको बन्यजन्तु आरक्षण कार्यलयले जनाएको छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसकिने यो सिलसिलाबाट अहिले पनि झापा आक्रान्त छ । मृत्युका घटना रोकिएका छैनन् । मृतकका परिवारलाई सरकारले दिने राहत पनि कतिपयले पाउन सकेका छैनन् । बन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानूनी व्यवस्था गरेको छ । तर अधिकांश पीडितले बेलैमा सो रकम पाउँदैनन् । स्थानीय सरकार र सम्बन्धित निकायले पहल नगरेको पिडित परिवारको गुनासो छ ।
मान्छेमात्र होइन जंगली हात्तीपनि वर्षेनी मर्ने गरेका छन् । झापामा २०७८ मंसिरसम्म विभिन्न कारणले १६ वटा जङ्गली हात्ती मृत फेला परेका डिभिजन वन कार्यालय झापाको तथ्याङ्क छ । मरेको हात्तीलाई घटनास्थलमै पोस्टमार्टम जाँच गरेर खाल्डोमा पुर्ने गरिएको छ । दाह्रा, खुर र पुच्छरको रौं रहेछ भने बनका पदाधिकारीले कार्यालयमै लैजाने गरेका छन् । हात्तीको पोस्टमार्टम जाँचबाट हात्तीको मृत्युको कारण पत्ता लगाउने गरिएको बताइन्छ । जङ्गलभित्र सिमसार र सेपिलो क्षेत्रमा मृत हात्ती भेटिने गरेका छन् । अन्यत्रै गोली लागेर वा अन्य कारणले घाइते भएर हात्ती चिसो र सेपिलो ठाउँमा पुग्ने गर्छन् । त्यहीँ तिनको मृत्यु हुने गरेको पाइएको डिभिजन वन कार्यालयको अनुमान छ । मृत हात्तीको शरीरमा धारिलो हतियार वा गोलीले छेडेका घाउ पनि देखिने गरेको स्थानीयको भनाइ छ । कतिपय हात्ती पर्याप्त आहार नपाएर क्षयरोगी हुने गरेको र उपचार अभावमा मर्ने गरेको बनका अधिकारीहरु बताउँछन् । सदियौदेखको झापाबासीले झेल्दै आएको हात्तीको त्रास सदाकालागि अन्त्य गर्न राजनीतिक दल र तीनै तहका सरकारले साझा योजना बनाउन ढिला गर्नुहुँदैन ।