देश विषम परिस्थितिबाट गुज्रिएको छ । राजनीतिक , सामाजिक , आर्थिक , धार्मिक सबै क्षेत्रहरू तहसनहस छन् । न नियम छ , न कानुन छ न विधान छ । सबै ठाउँ बेथितिनै बेथितिले डामाडोल छ । एउटा सरकार बन्छ अनि ढल्छ फेरि बहुमतको बन्छ, तत्पश्चात् चलखेल हुन्छ, गुटबन्दीको खेल हुन्छ । यसरीनै अनेकन बाधा अडचनका बिचमा आजको राजनीतिको समय चक्र यसरीनै घुमेको छ । एउटा सरकारले बनाएको कुनै एउटा उच्च पद अर्को सरकार स्थापना हुने बित्तिकै तुरुन्तै अर्को मन्त्रालयमा पठाइन्छ । त्यो पनि गठजोडमा । यही भएर होला नेपाली राजनीतिले कुनै पनि निकायलाई अछुतो राख्न भने सकेन । आज यही विषयवस्तुमा केन्द्रित रहेर वस्तुनिष्ठ लेख सम्प्रेषण गर्दैछु जुन विद्युतसंग जोडिएको विषयवस्तु छ । प्रसङ्ग, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोश्रो कार्यकालका लागि नियुक्ति भएका छन् । उनी २०७३ मा नियुक्त हुँदा देशमा दैनिकी १२ घण्टासम्म लोडसेडिङ थियो । त्यो विभागमा प्रमुख पदमा नियुक्ति भइरहनेहरुले विद्युत चुहावट रोक्न सकेनन् , ब्रह्मलुट थियोे । अनुगमन तथा नियमन गर्ने टाउकेहरु माथिमाथिनै सेटिङ्गमा कारोबार मिलाउँथे । जब कुलमान नियुक्ति भए तत्पश्चात् कार्यकालको पहिलो वर्षमा काठमाडौ उपत्यका र दोश्रो वर्षमा देशैभर लोडसेडिङ अन्त्य गराएका उनी त्यसयता लगातार जनजन नेपालीको मुटुमा बास बस्न पुगे ।यसरी उनी चर्चापरिचर्चाको केन्द्रमा रहनुनै उनको कार्यदक्षताको उच्च मूल्यांकन हुनु हो बिगतदेखि बर्तमान समयसम्म आइपुग्दा साँचो अर्थमा विश्लेषण गर्ने हो भने उनी जत्तिको एक कुशल नेतृत्व आजसम्म पाइएको छैन । यस विषयलाई ठोकेरै भन्न सकिन्छ कि कुलमान भनेका उज्यालोका धोतक नै हुन् । प्राधिकरणको नेतृत्वमा दोश्रो कार्यकाल सुरु गर्दा भने देशमा उत्पादित विद्युत बढी हुने र खपत नबढाए वा निर्यात नगरे ठूलो घाटा ब्यहोर्नुपर्ने बहस हिजो थिएन, तर अहिले यही कुरामा बहस चलिरहेकै छ । त्यसैले उनको पहिलो र दोश्रो कार्यकालको अवस्था विल्कुलै फरक हुने छैन भन्ने कुरामा हामी आम जनमानस आशावादी छौं किनकि उनले काम गरेर देखाउन सक्नुपर्छ । हामी कहाँ अन्तर्राष्ट्रिय स्तरको विज्ञ खोजेर राष्ट्रिय आयोजना या निगमहरुमा नियुक्ति दिने भन्ने कुरो हाललाई अलि टाढाको होला तर देशभित्रै पनि परीक्षित ब्यवस्थापक , विज्ञ र प्रशासकहरुको सट्टा झण्डा बोक्नेहरुको मात्रै नियुक्ति हुनु र तत्पश्चात् दलका झोलेहरु र समर्थकले आँखा चिम्लेर समर्थन जनाउने गर्नु दुर्भाग्यपूर्ण हुनेछ । असल र सही मान्छे सही ठाउँमा नभइ कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न सक्दैन । कुलमान घिसिङ एउटा सफल छवि बनाएका परीक्षित ब्यक्ति भित्र पर्दछन् जो कसैले अनर्गल प्रचारवादी नगरे हुन्छ । अन्य राष्ट्रमा भएको भए कुनै सरकारी या ठूलो निजी कम्पनीको नियुक्तिमा उनी सबैभन्दा पहिलो छनोटमा हुन्थे , तर हाम्रो देश नेपालमा राजनीतिक खिचातानीले गर्दा राजनीतिक रङ्ग लगाइयो उनलाई , कसको मान्छे ,कसको नातेदार यस्ता अनेकन बाधा र अड्चन बिच उनी यो बेलामा जुन पद प्राप्त गरेर अघि बढेका छन् , त्यही अनुसार प्रशस्ती काम गर्नुप¥यो । हामी राष्ट्रियताको चर्को बहस गर्छांै , तर काम भने माखो मार्दैनांै । आज विद्युत प्राधिकरणमा नेपाली राजनीति अछुतो रहेन एउटालाई फ्याँक्ने अर्कोलाई ल्याउने यही सवालमा हिजो यही पदमा आसिन भएका हितेन्द्रदेव शाक्यले देश डुबाउने र कुलमानले उकास्ने मात्रै गर्छन् भन्ने कदापि कोहि कसैले सोच्नु हुन्न । तर हाम्रो नियुक्ति र अनेकन ब्याख्याले त्यस्तो अर्थ लाग्न गएको देखिन्छ । राम्रो गर्ने चाहना सबैको हुन्छ । केहीमा अलि बढी तरीका हुन्छ , त्यति हो । र , त्यस्तो तरीका भएका ब्यक्तिहरुलाई संस्था या कम्पनीमा ल्याउँदा एउटा ‘पोजिटिभ भाइव’ पैदा हुन्छ र त्यसको पूर्ण असर नतिजामा हुन्छ । एउटा विद्युत प्राधिकरणमा कुलमान आएर मात्रै देश बन्दैन ,संस्कार फेरिन्न । हाम्रा सबै नियुक्ति दलदासबाट माथि उठेर विज्ञहरुको तहसम्म पुग्नुपर्छ । पुग्नेबित्तिकै कायापलट हुन्छ भन्ने पनि होइन ,सुरुवात हुन्छ । हामीले त सुरु पनि गरेका छैनौं । हितेन्द्रदेवलाई स–सम्मान पदस्थापन गरेर कुलमानको पुनर्नियुक्त्ति गर्दा एउटा सकारात्मक सन्देश भने तमाम नेपालीहरुलाई गएको छ ,तर यो अपवाद मात्रै हो जो कि भन्ने कुरामा अझैपनि अलमलता भने छ नै । दीर्घकालीन विद्युतमा आत्मनिर्भर बन्नका लागि स्वदेशी लगानीमा ठूल्ठूला आयोजना बनाउनका निम्ति सबै जुट्नैपर्छ । यसका लागि धेरै योजना अघि बढाउनैपर्छ । जलाशययुक्त आयोजनाहरु तत्काल सुरु गर्नुपर्छ । यसलाई प्राथमिकतामा राखेर अघि बढनुपर्छ । सुशासन , भ्रष्टाचार , नियन्त्रण , सेवालाई राम्रो बनाएर कुलमान यो क्षेत्रमा अघि बढ्न सके भने उनको नाम पक्कै पनि स्वर्ण अक्षरले लेखिने छ । उनले भनेका छन् कि –‘हिजोको अवस्थामा जे काम गरेर एउटा उचाई बनाएको छु त्योभन्दा माथि जानका लागि मैले धेरै काम गर्नु छ । मेरा लागि हिजो र आजको परिस्थिति पनि सहज नहुन सक्छ हिजोको एउटा टिम थियो । आज अर्को टिम बनाउनुपर्ने हुन्छ । पहिलाका टिममा भएका धेरै साथीहरु रिटायर हुनुभएको छ । राजनीतिक र सामाजिक वातावरण पनि चुनौतीपूर्ण हुन सक्छ । यो भन्दा अघिको मेरो कार्यकाल सकिपटि त्यतिबेला बनेको ओली सरकारले मलाई सो पदमा पुनःनियुक्ति गरेन । जसलाई जनताले पनि रुचाएका थिएनन् । त्यसपछि म पूर्ण रूपमा बाहिर बसेर हेर्दै थिए कुनै परिवर्तन हुन्छ कि भने तर त्यो हुन सकेन । अहिले मैले पदभार ग्रहण गरेको पनि भर्खरै हो । अब बाँकी काम मैले धेरै गर्नु छ । यसरी उनले यी कुरा भनिरहँदा पनि हामी के नजरअन्दाज गर्न सक्छांै भने धेर थोर लोडसेडिङ मुक्त हुन सक्ला भन्ने मात्रै हो त्यो भने आगामी दिनमा हेर्न बाँकीनै छ । पर्खौं अनि हेरांै , हेर्न अझै बाँकी छ । पहिलो कार्यकालमा माग धान्न विद्युत जुटाउनेपर्ने थियो , यतिबेला खपत बढाउने र बजार खोज्नुपर्ने चुनौती भएकाले पनि उनको यो पुनःनियुक्ति चुनौतीपूर्ण रहेको हुनाले यथासक्य प्राधिकरणमा देखिएको अन्यौलता हटेर जाओस् ।