लेख

औषधीय गुणका भावहरु

प्रेरणाले उत्साह सिर्जना गर्दछ । उत्साहले कर्म गराउने मनोवेगलाई सक्रिय गराउँछ । प्रेरित मनस्थितिले जस्तोसुकै परिस्थिति होस् स्वस्थ चञ्चलता प्राप्त हुने भएकोले मानिसलाई बाहिरी जीवाणुबाट समेत बचाउन सक्दछ । त्यसैले मनोविज्ञानको क्षेत्रमा खोज अनुसन्धान गर्ने कार्यमा कार्यरत मनोविदहरुले हौसाला, प्रेरणा, उत्साह दिने भावहरु हरेक अवस्थाका मानिसहरुलाई दिइरहनु पर्दछ भन्ने सुझाव दिने गरेको पाइन्छ । सकरात्मक बानीद्वारा प्रशिक्षित गर्दा पशु समेत प्रेरित बनेर मानिसप्रति मायालु बन्दछ । सकारात्मक प्रेरणाले प्रेरित भएर अविवेकी प्राणी विवेकी हुन सक्छन् भने मानिस आफैँमा विवेकीशील प्राणी भएर कतिपय विनासकारी घटनाहरुमा अविवेकी बन्नु कस्तो बिडम्वना । कोराना भाइरसले आज विश्वभरका मानिसहरुलाई आतङ्कित बनाइरहेको अवस्थामा मानिसहरुलाई औषधीय गुणका भावहरुको आवश्यकता परिरहेको छ ।
भावले मानिसलाई डोहो¥याएको हुन्छ । उसको बानीहरु स्थायी बन्न सक्नु मान्छेको आदत हो । समय अनुसार बानीको विकास गर्नुपर्ने तर सनातनी बिँडो उसमा रहेको एउटा जेनेटिक रोग भन्नु पर्दछ । सिधाहरुको आफ्नै लिंडेढिपि हुन्छ तर अभ्यासलाई विश्वास गर्न नसक्ने बुज्रुकहरु नै बुरुकबुरुक उफ्रँदै विरोधी चेतनाको खेती लाउन थाल्नु चाहिँ बुज्रुकी सभ्यताको संस्कारी आदत हो । उसले जानेको छ नाक–कान–मुख–आँखा यहाँनेर छन् र कामहरु यि यि हुन् भनेर । खानपिन गर्छ अनि मल त्याग गर्छ भन्ने पनि उसलाई राम्ररी थाहा छ । यि पनि विरोधी कर्महरु हुन् । के मानिस प्रकृतिको जस्तो विरोधी भावमा अडिन सक्दछ ? दिन र रात पनि विरोधी भाव हुन् तर यिनको प्राकृतिक सभ्यता कस्तो सुन्दरमय छ अनि सन्तुलनमा निरन्तरता । वर्षा, घाम, शितल, गर्मी, शितलहर न्यानो हावाको लहरी अनि उराठलाग्दो चैते हुरी जस्तो मानिसले मानव सभ्यतामा सन्तुलित विरोधी भावहरु सिर्जना गर्न सक्लान् ?
विरोधको चैतन्य आवश्यक हुन्छ तर कस्तो अवस्थामा महत्वपूर्ण हुन्छ मानिसले जानेर पनि चैतन्यको प्रयोग गर्न नमान्नु उसको बडेमानको कमजोरी हो । अझ हामी नेपाली बुज्रुकहरु भड्काउन पहलमान छौं भने साम्यभावको विकास गर्नमा न्यूनतम स्तरमा छौं । धेरै पहिलेदेखि पौरखी नमूना भन्दा हाँस्यपात्रको नमूना बन्न लालायित हाम्रो नेतृत्वको विरासतले विरोधी भावनाको संस्कारी सनातनी स्थापित गर्दै ल्यायो । मानिसमा उत्पन्न हुने विभिन्न रसायन मध्येकै विरोधी रसायन पनि एक हो । यो रसायनले विकास पनि गराउँछ र विनासी पनि । सिर्जना गर्ने उत्कण्ठाले उत्पन्न रसायनले विकास तर्फ लालायित बनाउँछ र समृद्धिको आधार बनाउन थाल्दछ । यस अवस्थामा नकारात्मकहरुलाई सकारात्मक बनाउँदै सुन्दर वस्तुहरुको निर्माण गर्न पुग्दछ । आवेगको कुण्ठाले उत्पन्न रसायनले बन्न लागेको सिर्जनाका आधारहरु भत्काउन थाल्दछ । यस अवस्थामा राम्रोलाई कुरुप देख्न पुग्दछ अर्थात् राम्रो गर्न थाल्दा उसको नजरमा विनासी दुष्चक्रको भूवँरी घुम्दछ । अनि विवेकलाई विरोधी हावामा फैलाएर विनास तर्फ मोढ्याउँछ ।
भड्कावको तरङ्गमा पौडिन तम्सिने अविश्वास पनि महामारीको अर्को रुप हो । जब जनसङ्ख्याकोे ठूलो हिस्सा अविश्वासको चपेटामा पर्दछ तब महामारीको चेतना कमजोर हुँदै जान्छ । विश्वासले रोग क्षमता शक्ति वृद्धि गराउँदछ । विश्वासी चेतनाको बढिसेबढि प्रवाह गर्ने समयमा विरोधी चेतनाको सल्बलाहवट किन त ? के मूर्ख मानिसकै आदत हो ? यदि होइन भने आपतको समयमा मानवीय संस्कारी सभ्यता बनाउन पर्ने होइन र ? घरज्वाइँलाई खानकै धन्धा भनेझैं जब अनायास विपत्ती आइलाग्दछन् तब डाडुपन्यु लिनेहरुको आँखामा लोभको भयानक लुब्धता बढ्न थाल्दछ र विरोधको तुफान सिर्जना गर्न पुग्दछन् । आपतकै समयमा मानिसको परिचय खुल्दछ । महामारी विरुद्धको चेतना बलियो बनाउन हाम्रो कर्म दत्तचित्त हुनु पर्दछ ।
मानिस मृत्युको मुखमा पस्न लाग्दा समेत हिसाबको बहीखाता पल्टाउँदै हुन्छ । अरुलाई पर्दा सिरिङ् नहुने उसको अमृत्यु चेतना जब आफू निकट बज्रिन थाल्दछ अनि भगवान् पुकाराको साँच्चिकै भक्तवीर भक्तजन हुन जान्छ । यही चेतनाले अहिले हामीलाई घरभित्रको बास गराउँदै छ । ‘सबै मानिस बाँच्न सकुन’् भन्ने ध्येयले मानिसले एक्लो एकताको संस्कार पनि विकास गराउनु पर्ने रहेछ । कुनै दुर्लभ कालखण्डमा एक्लाएक्लैको एक्लो एकता पनि बलवान अस्त्र हुन्छ । त्यस्तो एकताको लागि बलियो आत्मबल चाहिन्छ । मानव निर्मित बडेमान अस्त्रहरु समेत छुद्र साबित गर्न सक्ने परजीवीले मानिसलाई लुक्न विवश बनाइदियो । उसँग लुकेर एक्लाएक्लै लड्नु पर्ने ।
विरोधी चेतले आत्मविश्वास जगाउन सक्दैन । सहयोगी चेतनाले मात्र आत्मबलको तरङ्ग फैलाउन सक्दछ । प्रत्येक कर्मप्रति नकारात्मक दृष्टि लगाउन पुग्दा कस्तो सभ्यताको विकास होला ? सहजै अनुमान गर्न सकिन्छ कि बर्बर र ह्रिंसक सामाजिक सभ्यता बन्न पुग्दछ । ‘समस्याहरु दृष्टिकोणको ढङ्गमा निर्भर हुन्छन्’ समाजको व्याख्या गर्नेहरु भन्दछन् । कुन घटनाले उब्जाएको आशंकाको विरोध गर्दा वजनदार जनसमर्थन बन्न जान्छ भन्ने हेक्का राख्नेले मात्र सामाजिक अन्तरविरोधको भावना बुझेर प्राकृतिक विरोधी भाव अनुसार समाजलाई सकारात्मक प्रतिफल दिन सक्षम हुन्छ ।
मानिसले शुरुमा जे देख्यो उसको नजरमा उस्तै झझल्को रिङिरहनु उसको दृष्टिदोष हो । दोष र विरोधको दोधारे दोबाटोमा यात्रा गर्नेले राजनीतिको चुरो पक्डिन सक्दैन । अग्रज भ्रष्ट हुँदा अनुज भ्रष्ट नहुन पनि सक्छन् । आँखाभरि भ्रष्टताको दृष्टि छछल्किरहन दिनु हुन्न । हामीले चाहेको रङ्गदार राजनीति हो । जसले सबैलाई स्वर्गानुभूति दिन सकोस् । मोलतोलको हिसाबले राजनीतिको रङ्ग उडाउँछ ।
सत्तामा मात्रै सबथोक देख्ने आँखाले समाजको सामाजिक रसायन बिटुलिदियो । चतुर मान्छेहरु के गर्दा सत्ताका अनेकौं अवयवहरुमा प्रवेश गर्न सकिन्छ भन्ने दौडमा छन् । त्यहाँबाट विधानअविधान तरिकाले आफू बडो मनकारी भाव भएको प्रमाणित हुन लालायित पनि छ । तर प्रतिकुलता हुने बित्तिकै उसको धैर्य भताभुङ्ग हुन पुग्दछ अनि नकारात्मक भावको पञ्जामा पर्दछ । अहिले कोरोना भाइरसको आक्रमणले भयभित भएको सामाजिक मनोविज्ञानलाई अझ थप जटिल बनाउन त्यही नकारात्मक मनोविज्ञान समस्या बनेको छ । सत्ताको आँखाले सब ठीकठाक देख्छ भने सत्ताबिहिन आँखाले भयावह देख्ने अनि परिस्थितिलाई सुल्झाउने होइन कि उल्झन थपिदिने गर्दछ ।
विगतको आदतले मान्छेलाई बिच्क्याएको छ । सेवाको आवरणमा हिसाबकितावको चलखेल छताछुल्ल भएपछि दुनियाँ सशंकित हुनु स्वभाविक हो । जिम्मेवारीका अधिकांश मान्छेहरुको भित्री ध्येय विगतको खर्च पूर्ति गर्नु र भविष्यमा किन्न पुग्ने हिसाब जोहो गर्न लालायित हुन सक्ने शंका गर्नु नागरिकको स्तरबाट पाप होइन । एउटा सत्य चाहीं उनिहरुले निकै त्याग गर्नुपर्ने छ । खुब चलेको छ विरोधको व्यापार । त्रासदीले घेराबन्दी गरेको बखतमा सहानुभूति सहारा दिएर आत्मबल बढाउनु पर्नेमा उही आदती विरोधको व्यापारले महामारीको संकटकालमा लाभ होइन हानी हात लाग्नेछ । आम मानिसहरुको कानले अगुवाहरुको मुखबाट यो महामारीको समयमा औषधीय भावहरुका कुराहरु सुन्न पाउन् । जसले गर्दा मानिसहरुमा रहेको रसायनहरुमा रोग प्रतिरक्षात्मक क्षमतालाई सशक्तिकरण गर्न सकोस् ।

Author

You may also like