दमक/ कृषि पेसातर्फ युवाको आकर्षण बढेपनि कृषि प्राविधिकको अभावमा समस्या सिर्जना हुन थालेको छ ।
वैदेशिक रोजगारीलगायत अन्य पेसा छाडेर अहिले झापामा कृषि पेसातर्फ आकर्षण बढेर कृषकहरू व्यवसायिक खेतीमा आत्मनिर्भर बन्न खोजिरहेका छन् ।
तर, बोटबिरुवा लाग्ने अज्ञात रोग र कीराका कारण किसानहरूले वर्सेनि लाखौँ रुपैयाँ रकम नोक्सानी ब्यहोरिरहेका छन् ।
खेती तथा विभिन्न कृषिजन्य वस्तुमा लाग्ने रोग–कीरा र तिनको निदान बारे कृषकलाई पर्याप्त जानकारी नहुँदा र समस्या समाधानका लागि समयमै प्राविधिक नभेट्टाउँदा कृषकको लगानी नै डुब्ने अवस्था पुगेको छ ।
जिल्लामा कृषकले केरा, कागती, सुपारी, मेवा तथा व्यवसायिक कृषिमा मौरी, कुखुरा, गाई, माछा लगायत पालन गर्दै आइरहेका छन् ।
करिब तीन विगाहा जमिनमा केरा खेती गर्दै आइरहेका बाह्रदशी गाउँपालिका कृषक देवी चिमरीया भन्छिन्, ‘लगभग १० कठ्ठा जमिनभित्रका केराका बोटहरू मरिसकेको छ, केही खेती त खोलाले पनि बगायो, अब हामीलाई लगानी उठाउनै समस्या परेको छ, अहिले केराको गानादेखि नै कुहिएर बोटहरू धमाधम मर्न थालिसकेकोले समस्या समाधानका लागि प्राविधिक पनि भेटाएका छैनौँ ।’
कुन रोग लागेको हो, त्यो समेत थाहा नपाउँदा समस्या भइरहेको उनले बताइन् ।
यहाँ कृषि प्राविधिकको खाँचो रहेको बताउँदै केरा कृषक लक्ष्मीप्रसाद चिमरीयाले भने,
‘अहिलेसम्म हामीले पुराना साथीहरूको अनुभवकै आधारमा खेती गरिरहेका छौँ,
माघ आउन लाग्दा बोटहरूमा किराको प्रकोप बढ्ने भएकोले त्यसको समाधानका लागि हामीलाई अब प्राविधिक नै चाहिन्छ ।’
बोटबिरुवामा कुन रोग र कीरा लागेको हो भनेर पहिचान नगरिदिँदा र त्यसको औषधि समेत पहिचान हुन नसक्दा कृषकहरू थप मारमा परेका छन् ।
संघीय संरचनामा गएपछि अहिले जिल्लामा प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र रहेको छ ।
कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकको दरबन्दी १० जना तोकिएको छ ।
तर, दरबन्दी अनुसार प्राविधिक नरहेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार १० औँ तहका एक, आठौँ तहका ६, छैटौं तहका दुई र पाँचौँ तहका एक जना स्थायी दरबन्दीका प्राविधिक हुनुपर्ने हो ।
तर केन्द्रमा तीन जना स्थायी र तीन जना करारका दरबन्दी रहेको उनले बताए ।
६ जना प्राविधिकले जिल्लामा आएका अनुदानको कार्यक्रमको मात्र अनुगमन र समस्या बारेमा जानकारी लिने गरेको बताउँदै उनले भने,
‘कुनै कृषकको खेतीमा अज्ञात रोग वा कीराको समस्या देखापरेमा त्यो स्थानीय तहका प्राविधिकले हेर्नुपर्ने हो ।’
स्थानीय तहहरूमा पनि पाँच प्राविधिकको दरबन्दी तोकिएको छ ।
तर, जिल्लाको १५ वटै स्थानीय तहमा दरबन्दी अनुसारको प्राविधिक भने छैनन् ।