समाचार

भारतको पश्चिम बंगाल सरकारले निर्यातमा अवरोध गर्दा मेची पुलमा रोकिए २५ ट्रक

काँकडभिट्टा।  नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ । भारतको पश्चिम बंगाल सरकारले निर्यातमा अवरोध गर्दा ट्रक रोकिएका हुन् ।

तर भारतबाट भने मालबाहक ट्रक नेपाल निर्बाद रुपमा आइनै रहेका छन् ।  लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका एक व्यवसायीले नाम नखुलाउने सर्तमा भने भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको थियो । तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएनन् ।  बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोकेको बताएको छ ।

व्यवसायीका अनुसार सबै अम्लिसो, चिया र अलैंचीका गाडी हुन् । चिया र अलैंची भारत तथा अम्लिसो बंगलादेश निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जनायो । नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई भएकाले सामान रोकिएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

Author

You may also like