देश–समाज राष्ट्रिय समाचार स्थानीय

प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, मोदीसँग उच्चस्तरीय वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदैछन्। नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्यका विविध क्षेत्रमा नयाँ समझदारी कायम गर्ने उद्देश्यसहित प्रधानमन्त्री शाह भारत जान लागेका हुन्।

प्रधानमन्त्री शाह दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ। उनको नेतृत्वमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहलगायत ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जानेछ।

त्यसैगरी निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्। विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू पनि भ्रमण टोलीमा रहनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा पारवहन, व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषय प्राथमिकतामा रहनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका अवसरमा दुई देशबीच ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र मानव संशाधनलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि समझदारीपत्र आदानप्रदान गरिनेछ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

दिल्लीमा उच्चस्तरीय भेटघाट र व्यस्त कार्यतालिका

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन्। दिल्ली पुगेपछि साँझ ६ बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहको कार्यतालिका व्यस्त रहनेछ। बिहान १० बजे राष्ट्रपति कार्यालयमा उनको औपचारिक स्वागत तथा भेटघाट हुनेछ। त्यसपछि उनी राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यसपछि हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच उच्चस्तरीय भेटवार्ता हुनेछ। वार्तापछि मध्यान्ह १२ बजेर २५ मिनेटमा दुई देशबीच विभिन्न सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने कार्यक्रम छ। दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार दिउँसो ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक, कूटनीतिक तथा विकास साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।

Author

You may also like