काठमाडौं । युरोपका विभिन्न देशमा बिहीबार एक दर्जनभन्दा बढी विमानमा बम राखिएको धम्की आएपछि कैयौँ उडान आकस्मिक अवतरण गराइएको छ। केही विमानलाई सैन्य विमानले सुरक्षा दिँदै गन्तव्यसम्म पुर्याएका छन्। यद्यपि, सुरक्षा जाँचका क्रममा कुनै पनि विमानमा विस्फोटक पदार्थ वा शङ्कास्पद वस्तु फेला नपरेको अधिकारीहरूले बताएका छन्।
बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले युरोपभरिका उडानलाई लक्षित गरी आएका धम्कीलाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भनेकी छन्। युरोपेली सङ्घका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले भने घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्ने निष्कर्षमा पुग्न अहिले नै हतार गर्न नहुने बताएका छन्। घटनाबारे सम्बन्धित देशका सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन्।
धम्कीपछि फ्रान्स, इटाली, बुल्गेरिया, चेक गणतन्त्र, पोल्यान्ड र रोमानियालगायत देशका विमानस्थलमा सुरक्षा जाँच गरिएको थियो। आयरल्यान्डको डब्लिनबाट रोम जाँदै गरेको एर लिङ्गसको विमानलाई फ्रान्सको एभ्रुस्थित सैन्य हवाई अड्डामा अवतरण गराइएको थियो। त्यस्तै, हेलसिन्कीबाट रोम गएको फिनएयरको विमानलाई इटालीका वायुसेनाका लडाकु विमानले सुरक्षा दिएका थिए।
बुल्गेरियाका लागि उडेका र्यानएयरका तीन विमानमा पनि बमको धम्की आएपछि सैन्य विमानले सुरक्षा दिएका थिए। तीमध्ये दुई विमान सोफिया र एउटा प्लोभ्दिभ विमानस्थलमा सुरक्षित अवतरण भएका थिए। चेक गणतन्त्रको प्राग विमानस्थलमा धम्की आएका चार विमानको जाँच गर्दा पनि कुनै शङ्कास्पद वस्तु फेला परेन।
ब्रसेल्सस्थित ब्रुगेल थिङ्क ट्याङ्कका वरिष्ठ अनुसन्धानकर्ता ज्याकोब फङ्क किर्केगार्डले यस्ता धम्कीलाई युरोपेली सरकार र विमानस्थलका सुरक्षा निकायको प्रतिक्रिया परीक्षण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्ता घटनाले हवाई यातायातको विश्वसनीयतामा अनिश्चितता सिर्जना गर्नुका साथै आर्थिक क्षति र उडान व्यवस्थापनमा समेत असर पार्न सक्छन्।
विमान सुरक्षासम्बन्धी विज्ञहरूका अनुसार बमको झुटो धम्कीले उडान मार्ग परिवर्तन, सुरक्षा जाँच, चालकदलको समय व्यवस्थापन र यात्रुको कनेक्सन उडान छुट्ने समस्या निम्त्याउँछ। उड्डयन सुरक्षा विज्ञ फिलिप बाउमका अनुसार एउटा उडान अवरुद्ध हुँदा एयरलाइन्सलाई दुई लाख ५० हजार अमेरिकी डलरसम्म खर्च लाग्न सक्छ।
यसअघि पनि पोल्यान्डको एलओटी, स्क्यान्डिनेभियन एयरलाइन्स, विज एयर र र्यानएयरका उडानलाई लक्षित गरी यस्तै धम्की आएका थिए। यस साताका घटनामा कसले धम्की दिएको हो, घटनाहरूबीच कुनै सम्बन्ध छ वा छैन र त्यसको उद्देश्य के हो भन्नेबारे भने अझै खुल्न सकेको छैन।