कला/साहित्य/संस्कृति देश–समाज राजनीति समाचार स्थानीय

निर्वाचन अशान्त बन्ने संकेत : गौरमा कफ्यु, दलका कार्यकर्ताबीच झडप

दमक । निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक तनाव बढ्दै गएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी तीव्र बन्दै जाँदा विभिन्न स्थानमा दलबीचको विवाद, झडप र हिंसात्मक गतिविधि देखा पर्न थालेका छन्। गौरदेखि सुनसरी र दाङसम्मका घटनाले देशको शान्ति सुरक्षाप्रति गम्भीर चिन्ता उब्जाएको छ ।
सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा बिहीबार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) का कार्यकर्ताबीच झडप भएको हो। कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभामा सहभागी हुन जाँदै गर्दा रास्वपाका कार्यकर्तासँग बाटोमा विवाद सुरु भएको थियो। सो विवाद हात हालाहालमा परिणत भएपछि प्रहरीले लाठीचार्ज गरी स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक –एसपी) केशव थेवेले जानकारी दिए । उनका अनुसार तरुण दलका कार्यकर्ता र रास्वपाका समर्थकबीचको वाकयुद्धले झडपको रूप लिएको हो । अहिले स्थिति सामान्य भए पनि निर्वाचन नजिकिँदै जाँदा त्यस्तो तनावले सुरक्षाप्रति चुनौती थपेको उनले बताए ।
त्यस्तै दाङमा बिहीबार राति रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोप लगाउँदै एमाले कार्यकर्ता आक्रोशित भएका थिए । त्यसको प्रतिकारमा शुक्रबार एमाले समर्थकले रास्वपा कार्यालयमा तोड्फोड् गरेका थिए । यसै सन्दर्भमा जिल्लाको तुलसीपुरमा पार्टीको झण्डा जलाएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई शनिबार पक्राउ गरिएको बताए ।
यही प्रकरणमा शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ परिसकेका छन् । प्रहरी नायब उपरीक्षक बोहराले झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिहरूको
खोजी भइरहेको जानकारी दिए ।
दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भिडमा झण्डा जलाइएको थियो ।
दाङमै अर्को घटना भएको छ । राजा वीरेन्द्रको सालिकमा अपमानजनक व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले निन्दा गरेको छ । यस्तै, चितवनमा सडकमा शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रसित भएका थिए, तर पछि सो झोलामा फोहोरको थुप्रो भेटिएको प्रहरीले जनाएको छ ।
यसैबीच, रौतहटको सदरमुकाम गौरमा धार्मिक विवादले उग्र रूप लिँदै साम्प्रदायिक दंगाको रूप लिएको छ । साधारण भनाभनबाट सुरु भएको विवाद तीन दिनमै हिंसात्मक दंगामा परिणत भएपछि प्रशासनले यो समाचार तयार पर्दासम्म कफ्यु जारी रहेको छ । गौर नगरपालिकाका विभिन्न वडामा रहेका चारवटा मस्जिदमा आगजनी गरिएको र सवारी साधनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ । अहिलेसम्म नौवटा सवारी साधन पूर्ण रूपमा जलेका छन् भने सात जना घाइते भएका छन्। प्रशासनले दंगा भड्काउने आरोपमा जनमत पार्टीका नेता शेख जमशेदसहित करिब २० जनालाई नियन्त्रणमा लिएको छ ।
दंगापछि गौरमा कडा सुरक्षा व्यवस्था गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासन उच्च सतर्कतामा छन्। मधेश प्रदेशमा बढ्दो तनावबारे छलफल गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा चारै सुरक्षा निकायका उच्च अधिकारी सहभागी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले देशभरका राजनीतिक दल र समर्थकलाई संयमता अपनाउन र चुनावी आचारसंहिता पालना गर्न आग्रह गरेकी छन्। उनले संवेदनशील क्षेत्रमा निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएकी छन् ।
यसैबीच, नेकपाका सहसंयोजक माधवकुमार नेपालले गौरमा भएको तनावप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न दुवै समुदायलाई संयमित रहन अपिल गरेका छन् । उनले भने, “हिन्दु होस् वा मुस्लिम, कुनै पनि समुदायको जीवन जोखिममा पर्नु हुँदैन ।” निर्वाचन नजिकिँदै गर्दा देशभर देखा परेका यस्ता घटनाले लोकतान्त्रिक अभ्यासको सुरक्षा र स्थायित्वप्रति गम्भीर प्रश्न उठाएको छ ।

Author

You may also like