देश–समाज समाचार स्थानीय

झापा–५ मा सबै दलको घरदैलो उल्लास

दमक । निर्वाचन नजिकिँदै गर्दा झापा–५ अहिले देशकै राजनीतिक केन्द्रबिन्दु बनेको छ। सहरका गल्लीदेखि गाउँका बाटासम्म राजनीतिक रङ चढेको छ– हरेक दलले प्रयोग गरेको सिटी सफारिमा उम्मेदवारका तस्बिर, भिजन र नारा छापिएका पोष्टर टाँसिएका छन्। सिटीमा गुञ्जिने माइकमा पार्टीका गीत बजिरहेका छन् । घरदैलोमा नेता–कार्यकर्ता “हामीलाई भोट दिनुस्” भन्दै वल्लो घर–पल्लो घर दौडिरहेका छन् । मतदातासँग हात मिलाउँदै, कुरा सुन्दै र प्रश्नको उत्तर दिँदै उम्मेदवारहरूका व्यस्त दृश्य सर्वत्र देखिन्छन् ।
सानादेखि ठूला दलसम्मका सबै नेता, कार्यकर्ताहरु हरेक मतदाताको घरघरमा छन । निकै रमाइलो मानेर उनीहरु मत मागिरहेका छन् । दमक–५ को एलम्बर चोकमा कांग्रेस उम्मेदवार मन्धरा चिमरिया (पौडेल)का लागि मत माग्दै नेता कार्यकर्ता आए । उनीहरुले झण्डा, ब्यानर र सिटीलाई उम्मेदवारको ब्यानरले सिंगारेर आकर्षक र मनोरञ्जनात्मक गितहरु बजाउँदै घरघर डुलिरहेका देखिन्थे । यो प्रक्रिया राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि थियो । उनीहरु पनि घरदैलो कार्यक्रमलाई उत्सवमय तरिकाले हिंडिरहेका थिए । यसैगरी घरदैलोलाई प्रभावकारी उत्सवमय बनाउँदै मतदाताको ध्यान खिच्ने क्रममा छन नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङ । यस्तै नेता तथा कार्यकर्तासँगै हिंडिरहेका छन– राष्ट्रिय परिवर्तन पार्टीका सविन राई । सोही अवस्था देखिन्छ मंगोल नेशनल अर्गनाइजेशनका सान बहादुर मेचेको, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुशान्त साम्पाङ राई, पिपुल फस्ट पार्टीका धर्मराज गुरागाई, राष्ट्रिय मु्िक्त नेपाल पार्टीका अमृत रसाइली, नेपाल कम्युनिष्ट पार्टी माओवादीका सञ्जय राई, श्रम संस्कृति पार्टीका समिर तामाङ, नेपाल जनमुक्ति पार्टीका पदमबहदाुर जवेगु, जनता समाजवादी पार्टीका धिरेन सुब्बा, जनमत पार्टीका अमृतलाल महतोलगायत केही स्वतन्त्रहरुबाट समेत घरदैलो कार्यक्रमलाई उत्सवमय बनाउँदै मत मागिरहेका देखिन्छन ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवार केपी ओली विना पनि घरदैलो कार्यक्रम गर्दै आइरहेको भएपनि शनिबार ओली झापा आइपुगेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र साह पनि शनिबार नै झापा आइपुगेका छन् ।
देशकै मुख्य आकर्षक बनेका चुनावी प्रतिद्वन्द्वी यि दुई जनाकै घरदैलो कार्यक्रमलाई उनीहरुको अनुपस्थितिमा नेता, कार्यकर्ताहरुले निर्वाचन क्षेत्रका विभिन्न वडा, गाउँ, बस्तिमा घरदैलो गरिहेको परिदृश्य उम्मेदवारको उपस्थितमा उत्सवमय रोमाञ्चक बन्ने गरेको छ । यिनै दुई नेताको उम्मेदवारीले यो क्षेत्र देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बनेको छ । शनिबार दुवै जना फेरी आफ्नो निर्वाचन क्षेत्रमा आइपुग्नुलाई नेता, कार्यकर्ताले उत्साहका रुपमा लिएका छन् ।
विगतका निर्वाचनमा अध्यक्ष ओलीको झापामा नाममात्र उपस्थित देखिन्थ्यो । काठमाडौंमै बसेर कहिले वारेसमार्फत मनोनयन दर्ता, कहिले जितको प्रमाणपत्र लिन आउने–त्यति मात्रै उनको झापा भ्रमण हुन्थ्यो । तर यो पटक परिदृश्य पूर्णतः उल्टिएको छ ।
महिना दिनयता उनी चारपटक काठमाडौं–झापा ओहोरदोहोर गरिसकेका छन् । स्थानीय नेताका अनुसार ओली यसपटक करिब १६ दिनभन्दा बढी समय आफ्नै क्षेत्रमा बिताइसकेका छन्– यो समयावधि उनले २०४८ पछि कहिल्यै झापामा नबिताएको बताइन्छ ।
ओली शनिबार चौथो पटक झापा ओर्लिए । उनले झापा–३ का अगुवा कार्यकर्तासँग भेटघाट गरेपछि दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा आयोजित शैक्षिक संस्थाहरूको कार्यक्रममा सहभागी भए। उनका कार्यतालिकामा हिसान, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिसँग छलफलदेखि गाउँ–गाउँमा भेटघाटसम्मका कार्यक्रम छन् ।
ओलीकै क्षेत्रमा बालेन साहको प्रवेशले राजनीतिक समीकरण नै उल्टिएको छ । बालेनले काठमाडौंमा देखाएको स्वतन्त्र छविलाई झापासम्म ल्याएर जनसंपर्क अभियान तीव्र पारेका छन् । उनी पनि ओलीकै प्रवृत्तिबाट घरदैलोमा छन् । एक दुई दिन घरदैलोमा मतदाता समक्ष भेटघाट गर्ने र पार्टीको अन्य कार्यक्रममा सरिक हुन जाने दिनचर्याले वालेनलाई छोएको छ । केही दिन अघि पश्चिम नेपाल पुगेका वालेन साह शनिबार झापा आइपुगेका छन । साह हुँदा र नहुँदा यता उनको चुनावी अभियानको घरदैलो कार्यक्रम भने रोकिएको छैन । जनतालाई कुरा बुझाउने, राय लिने, कुरा सुन्ने र मत माग्ने प्रक्रिया चलिरहेको छ ।
á सुरक्षा र व्यवस्थापन तयारी
निर्वाचनको चाप बढेसँगै स्थानीय प्रशासनले सुरक्षामा चासो बढाएको छ। झापा प्रशासनका अनुसार चुनावी कार्यक्रमहरू शान्तिपूर्ण बनाउन प्रहरी र सशस्त्र बलका टोली परिचालन गरिएका छन्। निर्वाचन आयोगले मतदाता शिक्षा र आचारसंहिता पालना गर्न दलहरूलाई पटक–पटक आग्रह गरिरहेको छ ।

Author

You may also like