:— रक्षा बम, संयोजक, नेपाल जेनजी फ्रन्ट —:
नेपालले फेरि एउटा ऐतिहासिक मोडमा पाइला राख्दैछ — जनआन्दोलनको आवेग, युवापुस्ताको चेतना र परिवर्तनको आकांक्षा सँगालेर फागुन २१ गतेको निर्वाचनतिर अघि बढ्दैछ । यो निर्वाचन साधारण प्रक्रिया होइन, यो जेनजी (न्भल श्) आन्दोलनले दिएको जनादेश कार्यान्वयनको पहिलो परीक्षा हो । यसैले हामी सबै नागरिक, विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरूले सत्य र न्याय बुझेर मात्र मतदान गर्नुपर्छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन केवल सडकको विरोध थिएन, त्यो पुरानो राजनीतिक अभ्यासप्रति युवापुस्ताको असन्तोषको विस्फोट थियो । दशकौँदेखि देशको नेतृत्व गर्दै आएका अनुहारहरू, राजनीतिक दलभित्रको बन्द सर्कल, र “म्युजिकल चेयर” जस्तै सत्ताको खेलले जनताको भरोसा र लोकतन्त्रको मर्म दुबै कमजोर बनाएका थिए। त्यसैले जेनजीले उठाएको पहिलो माग थियो — नेतृत्व सुधार र पुस्तान्तरण। राजनीतिक दलहरूले अब युवालाई केवल प्रदर्शनको नाममा होइन, निर्णायक भूमिकामा ल्याउनुपर्छ ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार अहिले निर्वाचन तयारीमा जुटिरहेको छ। यो सरकारको पहिलो र मुख्य म्यान्डेट नै निर्वाचन सम्पन्न गर्नु हो। तर, यो सरकारले मात्र होइन, सम्पूर्ण नागरिकले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ — सुशासन, पारदर्शिता र जवाफदेही शासन व्यवस्था स्थापना गर्न सच्चा जनादेश दिनुपर्छ ।
“दलहरूले हाम्रो आन्दोलनको म्यान्डेट बुझेर नयाँ सोचसहित आउनु पर्छ ।” यसको अर्थ हो— जेनजी आन्दोलन कुनै दलको विरोधमा होइन, तर सोचको सुधारका लागि भएको हो । भ्रष्टाचारविरुद्ध, ढोंगी राजनीति विरुद्ध र असमान अवसरका विरुद्ध भएको यो आन्दोलनले देशलाई एउटा नयाँ दिशा दिएको छ ।
राजनीतिमा युवाको सहभागिता केवल नारा होइन, आवश्यकता हो। निर्वाचन प्रणाली युवामैत्री भए पनि दलहरूले युवालाई स्थान दिएका छैनन्। आज पनि उम्मेदवार छनोटको प्रक्रिया पुरानो सोचमै अडिएको छ। यदि दलहरूले सचेत युवालाई अगाडि ल्याए भने मात्रै लोकतन्त्र बलियो हुन सक्छ। अन्यथा, लोकतन्त्र नामको प्रणाली केवल सत्ता–हस्तान्तरणको औपचारिकता बनिरहन्छ ।
जेनजी आन्दोलनले तीनवटा मुख्य कुरा स्पष्ट रूपमा देखाएको छ —
(१) संरचनागत सुधार, जसले राज्य संयन्त्रलाई पारदर्शी र जवाफदेही बनाउँछ;
(२) नीतिगत सुधार, जसले युवालाई
स्वदेशमै अवसर दिने वातावरण सिर्जना गर्छ;
(३) नेतृत्व पुस्तान्तरण, जसले पुरानो
सोचलाई नयाँ दृष्टिकोणले प्रतिस्थापन गर्छ।
जेनजीका अभियन्ताहरू भन्छन् — “जो सडकमा आउन सक्छ, प्रश्न गर्न सक्छ, ऊ नै राज्य चलाउन सक्षम हुन्छ।” यो वाक्य आजको युवापुस्ताको आत्मविश्वास झल्काउँछ। राज्य सञ्चालनका लागि परिपक्वता र इमानदारी आवश्यक छ, र ती गुण अहिलेका सचेत युवामा प्रशस्त छन् ।
भदौ २४ गतेको आन्दोलन हिंसात्मक बन्नु दुर्भाग्यपूर्ण थियो, तर त्यसले युवाको आक्रोश र राज्यप्रतिको असन्तोष स्पष्ट देखायो। आन्दोलनको मर्म हिंसा होइन, सुधार र जवाफदेहिता हो। आज पनि त्यो घटनाबाट सिक्दै युवापुस्ताले शान्त, संयमित र सचेत राजनीतिक चेतनाको अभ्यास गर्नुपर्छ ।
नेपाल जेनजी फ्रन्टले स्पष्ट सन्देश दिएको छ — नयाँ दल खोल्नु अन्तिम लक्ष्य होइन; मुख्य कुरा हो आन्दोलनका मुद्दा हरेक दलले आत्मसात् गर्नु। भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, र युवाको प्रतिनिधित्व यी साझा एजेन्डा हुन्। जसले यी मुद्दा आफ्नो नीति र व्यवहारमा उतार्छ, उसले जनताको समर्थन पाउँछ ।
राजनीतिमा आकर्षण ल्याउनका लागि नीतिगत सुधार अपरिहार्य छ । युवाले देशभित्रै भविष्य देख्न सक्ने अवस्था बनाउनु जरुरी छ — शिक्षा, रोजगारी र अवसरको सन्तुलन बिना देशमा राजनीतिक स्थायित्व आउन सक्दैन। राजनीति सफा व्यवसाय होइन, तर सफा सोच चाहिने सेवा हो ।
“कि हामी कसैका होइनौं, कोही हाम्रा होइनन्; हामी सत्य र न्यायका हौँ र सत्य र न्याय हाम्रा हुन् ।”
यो वाक्य केवल साहित्यिक होइन, नैतिक आह्वान हो । अबको निर्वाचन केवल दल वा व्यक्ति छनोट होइन, मूल्य र दृष्टिकोण छनोट हो ।
त्यसैले पहिलो पटक मतदान गर्न लागेका युवालाई सन्देश स्पष्ट छ —
भोट दिनु केवल अधिकार होइन, जिम्मेवारी पनि हो। आफ्नो क्षेत्रमा उम्मेदवारले के गरे, के गर्न सक्छ, र के गर्न नसके — प्रश्न गर्न सिकौँ। हल्ला होइन, अध्ययनका आधारमा निर्णय गरौँ। सत्य र न्याय बुझेर, विवेक प्रयोग गरेर मतदान गरौँ ।
नेपालको राजनीतिक रूपान्तरण अब पुस्तान्तरणमार्फत् मात्र सम्भव छ। नयाँ सोच, इमानदार नेतृत्व, र जिम्मेवार नागरिकतासँगै लोकतन्त्रको नयाँ युग सुरु होस् ।
स्मरण रहोस् — परिवर्तन सडकबाट सुरु हुन्छ, तर स्थायित्व मतदानबाट । (संयोजक बमसँग गोरखापत्रले लिएको अन्तर्वार्ताको सम्पादित अंश)