दमक/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका निर्वाचन क्षेत्रमा दिईएका उम्मेद्वारीमा अनेक विविधता पाईन्छ । भदौको जेनजी आन्दोलनले युवा पुस्तालाई बलियो उपस्थिति चाहिने बताए पनि यहाँ धेरैजसो प्रौढ र ज्येष्ठ नागरिक उम्मेद्वार बनेका छन् भने केहि युवा अनुहार पनि देखिएका छन् ।
यस पटकको निर्वाचनमा कोशी प्रदेशमा २५ वर्षका नवजवान देखि ८३ वर्षका ज्येष्ठ नागरिक सम्म मैदानमा छन् । यि दुई उमेर समुह विचको समकालिन राजनीतिको सक्रिय पुस्ताका अनुहार यहाँ धेरै देखिन्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार कोशी प्रदेशमा ७० वर्ष वा सोभन्दा माथिल्लो उमेरका १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यीमध्ये कोही देशको प्रधानमन्त्री भइसकेका छन् भने कोही आफ्नो पार्टीको सिद्धान्त जोगाउन ८० को दशकमा पनि सक्रिय छन् । यस निर्वाचनमा कोशी प्रदेशकै सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा हिरण्यप्रसाद भट्टराई देखिएका छन्, ८३ वर्षीय भट्टराईले झापा क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै ओखलढुङ्गा–१ बाट राष्ट्रिय जनमोर्चाका ८० वर्षीय शेर बहादुर खत्री पनि मैदानमा छन् ।
कोशी प्रदेशका प्रभावशाली र राष्ट्रिय राजनीतिको शीर्ष तहमा रहेका धेरै उम्मेदवारहरू ७० वर्षको उमेर समूहमा छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ–६ बाट चुनावी मैदानमा छन्, उनी ७५ वर्षका भए ।
यस्तै नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका ७४ वर्षका केपी शर्मा ओली झापा–५ बाट मैदानमा छन् । कांग्रेसका ७२ वर्षीय नेता विजयकुमार गच्छदार सुनसरी–३ बाट पुनः प्रतिस्पर्धामा छन् । यस्तै नेपाल जनमुक्ति पार्टीका तर्फबाट झापा–२ मा उम्मेदवारी दिएका मनबहादुर पुलामी मगर ७५ वर्षका भए । नेपाली कांग्रेसको तर्फबाट भोजपुर–१ मा बालकृष्ण थापा ७३ वर्षका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सुनसरी–४ का प्रेम प्रसाद भट्टराई ७२ वर्ष पुगे भने जनमत पार्टीको तर्फबाट झापा–३ मा भिड्न लागेका हरसलाल राजवंशी ७१ वर्षका छन् ।
संखुवासभाबाट नेपाल जनमुक्ति पार्टीको तर्फबाट केशर सिंह राई, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मोरङ–१ मा उम्मेदवारी दिएका पूर्णबहादुर वाइवा तामाङ, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मोरङ–२ मा चन्द्रवीर राई, नेकपा (माओवादी केन्द्र)को तर्फबाट मोरङ–५ बाट उठेका गंगा प्रसाद गिरी ७० वर्ष पुगेका छन् । प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट कुल ४९५ जना चुनावी मैदानमा उत्रिएका छन् । पाका मात्रै होइनन्, यस पटकको निर्वाचनमा २५ वर्षका युवाहरू पनि प्रतिस्पर्धामा छन् । मोरङ–४ बाट प्रतिनिधि सभाका लागि २५ वर्षीय शालिकराम राई र मोरङ–५ बाट २५ वर्षीया गंगा कुमारी राजवंशी उम्मेदवार बनेका छन् । यी युवाहरूले पुरानो पुस्ताले बाटो छोडिदिनुपर्ने र नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने एजेन्डालाई अघि सारेका छन्, उनीहरू स्वतन्त्र हुन् ।
यस्तै रास्वपाबाट झापा–१ बाट उम्मेदवार बनेकी निशा डाँगी २९ वर्षकी छिन् । यस्तै रास्वपाबाटै तेह्रथुमका सुरेन्द्र कार्की २८ वर्षका हुन् । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरे पनि प्रत्यक्ष निर्वाचनतर्फ भने महिला उम्मेदवारहरूको संख्या निकै न्यून देखिएको छ, ४९५ जनाको सूची हेर्दा महिलाको संख्या औँलामा गन्न सकिने मात्र छ ।
इलाम–१ बाट ज्वाला नेपाल, झापा–२ बाट सरिता प्रसाई, झापा–१ बाट निशा डाँगी, मोरङ–५ बाट ममता यादव र आशा झाजस्ता केही सीमित महिलाहरूले पुरुषहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने आँट गरेका छन् । ठुला दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन अझै पनि हिचकिचाउने गरेको यस नामावलीले प्रस्ट पार्छ । अधिकांश दलहरूले महिलालाई समानुपातिक सूचीमा मात्र सीमित राख्दा प्रत्यक्ष निर्वाचनमा महिला नेतृत्वको विकासमा बाधा पुगेको देखिन्छ ।
पुराना दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) को दबदबा रहेको कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीजस्ता नयाँ शक्तिहरूले उम्मेदवारी दिएका छन् । रास्वपाले कोशीका प्रायः सबै क्षेत्रमा उम्मेदवार उठाएको छ । त्यस्तै तराई–मधेसकेन्द्रित जनमत पार्टीले, हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आफ्ना उम्मेदवारलाई सक्रिय गराएको छ । यसबाहेक अञ्जुलीमा रहेको माटो, बाँसुरी, चापाकल, कैंची, खरायो, स्टुल, लालटिन, गिटार र मुढाजस्ता चुनाव चिन्हका उम्मेदवारहरू पनि छन् ।
उम्मेदवारहरूको नामावलीले कोशी प्रदेशको बहुजातीय र बहुभाषिक बनावटलाई स्पष्ट रूपमा झल्काएको छ । ताप्लेजुङ र पाँचथरमा लिम्बू समुदायका प्रतिस्पर्धीहरूको बाहुल्य हुँदा मोरङ र सुनसरीमा राजवंशी, थारू, मधेशी र मुसहर समुदायको सशक्त प्रतिनिधित्व देखिएको छ । पहाडी जिल्लाहरूमा राई र लिम्बू समुदायको नेतृत्वदायी भूमिका देखिन्छ भने तराईका जिल्लाहरूमा कोच र मधेसी समुदायका उम्मेदवारहरूले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
उपस्थिति मात्र जनाउने
कोशी प्रदेशमा केहि दलहरुले भने आफ्नो उपस्थिति मात्रै पनि जनाएका छन् । ९ वटा त्यस्ता दल छन् जसले कोशीभरिबाट केवल १ जना मात्र उम्मेदवार उठाएका छन् । यी दलहरूका लागि यो निर्वाचन अस्तित्व रक्षा र उपस्थिति मात्रै देखाएको छ ।
प्रदेशभरि १÷१ जना मात्र उठाएर सबैभन्दा कम उम्मेदवार दिने पार्टीहरूको सूचीमा राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय सद्भावना पार्टी, नेशनल रिपब्लिक नेपाल, जय मातृभूमि पार्टी, राष्ट्रिय साझा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल र नेपाल जनता दल रहेका छन् । कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको संख्या ठुलो छ । कुल ४९५ मध्ये ९१ जना स्वतन्त्र छन् । जुन कुल संख्याको करिब १८.४ प्रतिशत हो ।