जनता हिजोआज वाक्क दिक्क छन । नहुन पनि कसरी ? नेपाली राजनीतिमा देखिएको बर्तमान अवस्था राम्रो देखिन्न । नदेखिने धेरै कारणहरु छन ती मध्येको एक हो नेपाली राजनीतिमा भ्रष्टाचार, बेथिति, विकृति अनेकन छन । यसलाई कसैलेपनि रोक्न र छेक्न सक्दैन । जसले जस्तोसुकै जुनसुकै भाषण गरुन, क्रान्तिकारी कुरा गरुन, यहाँ परिवर्तन हुनेवाला छैन । नयाँ पुस्तान्तरणलाई राजनीति विरासत सम्झेर कुनैपनि दलका बयोबृद्द नेताहरूले सत्ताको चावी दिनेवाला छैनन । यहाँ हिजोआज जेन–जीका नाममा सबै दलहरुले युवाहरुको नाम उठान गर्ने कुराहरू उठाउछन तर लागु कसैले गर्नेवालै छैनन । त्यो त आज “हात्ती आयो, हात्ती आयो, फुस्सा “भनेझैं फुस्सा भयो । हिजोका दिनमा जेन– जीहरुको आन्दोलनले ल्याएको परिवर्तन आज दिनप्रतिदिन किनारा लाग्दैछ । उसैको उत्सर्गले आएको यो परिवर्तनको मुनाफा बर्तमान सरकारले खादैछ । उनीहरूलाई खोजिखोजी जेल चलान गरिरहेको छ, सरकार । हिजो उनीहरूलेनै यो सरकार जसरी बनाए, आज उनीहरूनै तारो भइदिएको छ, सरकारको आँखामा । आखिर किन तारो बन्दैछन, जेन–जीहरु ? सबैले आजचाहि नाम उच्चारण गर्दैछन, आगामी फागुन २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा जेन–जी युवाहरुको नाम । लेखेर राख्नुस कि जबसम्म जेन–जी युवाहरु एकीकृत हुँदैनन तबसम्म उनीहरूलाई यो देशका सत्तरी नाघेका नेताहरूले युवाहरूलाई न संसद पद न पार्टीको उपल्लो तहको जिम्मेवारी दिन्छन ।
आगामी दिनमा जुनसुकै पार्टीका युवाहरू एकजुट भएर अघि बढ्न सक्नुपर्यो । हाम्रो देश नेपालमा ठुला या साना दलका युवाहरु हेर्नुस कति छन कति । उनीहरूको शिक्षा हेर्नुस, तुलना गर्नुस, कहिँ कतैपनि थोरै शिक्षा भएका जेन–जी युवाहरू भेटिन्नन । तर किन उनीहरूलाई पाखा लगाइरहेका छन बयोबृद्द नेताहरूले । बोल्दा बोली लटपटिने, सास बढ्ने, औसधि घण्टा नबिराइ सेवन गरिरहनुपर्नु बृद्धलाई अहिलेपनि युवाहरूले काखमा चेपेर हिडिरहेकै छन । वास्तवमा किन बुझ्दैनन, जेन– जीहरु ? किन एकजुट हुन सक्दैनन ? छेपारोले रङ्ग फेरेजस्तै फेरिरहन्छन , ठुला पार्टीहरुमा । देशलाई दोहन गर्ने, पार्टीलाई परिवारवादमा लैजाने, पार्टीमा गुटउपगुटको भेला गर्ने आखिर को हुन त, तिनै बयोबृद्द हुन जसले देशमा चौतर्फी घेरावन्दीमा लैजान उद्दत छ । युवाहरू किन बुझ्दैनन ? कुन पार्टीमा समाहित भएर अबको मार्गचित्र कोर्नुपर्ने हो कि तिनै पुराना दलहरुका शीर्ष नेताहरूलाई पदबाट अवकास दिन दवाब सिर्जना गर्नुपर्ने हो, त्यो अहिलेसम्म बुझ्न नसक्नु भनेको आजका नयाँ युवाहरुको जमातले भुल गरिरहेको देखिन्छ । देशमा हिंसाको आगो बाल्ने अरु कोहि होइनन, तिनै बृद्ध नेताहरू हुन जसले नेपालको राजनीतिक मियो अहिलेपनि समातिरहेको छ । उनीहरूकै चक्रब्यूहमा “र” का एजेन्टहरु नेपाली माटोमा घुसिरहेका छन । यो कुरा किन बुझ्दैनन, जेन–जीहरु । आज उनीहरूनै माइतीघर मण्डलामा कुस्ती खेलिरहेका छन, दिनदिनै । एकले अर्कोलाई धारेहात लगाइरहेका छन । हिजोका दिनमा सहादत प्राप्त गरेका ती निहत्था बालबालिकाहरुको रगतले सिर्जेको बलिदानको अपमान कसले गरिरहेको छ ? उसैलाई सत्ताच्यूत गर्न किन हिच्किचाउदैछन जेन–जीहरु ?
देश प्रसव पीडामा छ
तिमी एकआपसमा झगडा गर्दैछौ
उता हिजो हराएको सत्ता खोज्दैछन
तिमी रगतका पाइला टेक्दैछौ
नेताहरु तिमीलाई खुडा टेकाउदैछन
तिमी मसाल जुलुस देखाउदैछौ
तिमी हेरिहेरि छायामा लुक्दैछौ
हे युवा ! तिमी किन झुक्दैछौ ?
सत्ताको बागडोर अब तिम्रै हातमा छ
पुराना हराए नयाँ आउँदैछन
मिलाउ तिम्रा हातहरु, उठाउ तिम्रा साथहरु
जुटाउ तिम्रा स्वरहरु, फुटाउ तिम्रा बातहरु
हटाउ तिम्रा नकारात्मक सोचहरु
नछुटाउ तिम्रा सकारात्मक खोजहरु !!!
जति ढोल बजाउ, जति जनतालाई आशा देखाउ, तिम्रा कर्तुत ढाकछोप गर । हिजो तिमीले देश दोहन गरेर कमाएको कालो धनको विरासत नेपाली जनताले बिर्सेका छैनन । तिमीले किन आफ्नो बिरासत बुझेनौ ? हिजो के के मा सहमति गर्यौ ? के बेचेनौ ? खोला खोल्सादेखि महाकाली नदी, मेची नदीका पिल्लर कसलाई बिक्री गरेनौ ? तिम्रा नक्कली भाषणबाट आजित भएर तिम्रो साथ छोडेर हिडेका छन, तमाम शैक्षिक बेरोजगार युवाहरू । सट्टेवाजीमा फेरि जेन–जी युवाहरूलाई आगामी चुनावमा मत माग्न जनताका झुप्रा–झुप्रामा पठाउन अब कठिन होला भन्ने सोच । तिमीलाई अहिलेसम्मको उमेरसम्म राज्यसत्ता आफ्नो हातमा अझै सम्हाल्छु भनेर जनतालाई भन्न अब लाज लजाउदैन ? एकपटक गम्भीर भएर सोच कि अब नि जनता ढुङ्गे युगमा छन भन्ने तिम्रो दिमागले सोच्नु दिवास्वप्न हुनेछ । बिगत फर्केर हेर, हिजो के गरेनौ ? पटकपटक संसद बिघटन गर्यौ, फेरि पुनःस्थापना गर्यौ । अनेकन काण्ड मच्चाउदा नि पुगेन । हिजो तिनै युवा तिम्रा कार्यकर्ता थिए, कफन भिराएर रेलिङ्ग भाँच्न र आगो बाल्न, लाठी जुलुस देखाउन हिडायौ । अहिले तिनै युवाहरु जेन–जी भए । तिनीहरूलाई भुराहरु परेड खेल्न आएका हुन, गल्छन खेल खेलेर जान्छन यही कारण फेरिपनि सत्ताको चावी हाम्रो हातमा आउनेछ भन्ने सङकीर्ण सोच अब त्याग । देशले कोल्टेफेरि सक्यो । सबैका हात–हातमा मोबाइछ, विभिन्न प्रविधि छन । सामाजिक सन्जालमा, सहकारी माफिया, लुसिफर अनेकन नाममा दाजेर कोहि कसैलाई अनर्गल गाली प्रचारबाजि गरेर अब केही हुनेवाला छैन । बरु हिजोका दिनमा बचेखुचेका साख जोगाउ , हात मिलाउ सबै सङ्ग । आज हिजोको जस्तो छैन । तिम्रा आँखाले भाद्र २३ र २४ गते हिजो देख्यौ देशमा । उनैको उत्सर्गले गर्दा तिमीले पाएको भौतिक र राजनीतिक सुख आज खोसियो किन ? अहिले लावारिस बन्यौ किन ? बुझ्याछौ, गुन्याछौ, सोच मनन गर । अहिलेका युवाहरुको उदघोषले तिम्रा पुराना चुनाव चिन्ह पक्कापनि देख्ने छैनन । हिजो पार्टीको काममा लगायौ, सानै उमेरमा झोला बोक्न लगायौ । आज ती युवाहरू कत्ता छन ? खोज, अन्वेषण गर । कतै बिचलित भएका त छैनन ? पक्कापक्की गर । बिनासित्तिमा रवि, बालेन र कुलमान घिसिङ्गका फोटा जोडेर किन अनर्गल प्रचारबबाजी गर्दैछौ ? के उनीहरूको बिचार मिल्नुहुदैनथ्यो ? एकीकृत हुनुहुदैनथ्यो ? किन डर मान्दैछौ ? किन हतासिदैछौ ? महान नेपाली जनता आज वैकल्पिक पार्टीको खोजीमा छन भन्ने कुरा हेक्कामा राख ।

Author

You may also like