दमक, सुजन गाैतम २० चैत – शिक्षण पेशालाई नै आफ्नो जीवन समर्पित गरेका शिक्षक प्रशान्त निरौलाले शिक्षाकर्मीहरूको सम्मान र पेशागत सुरक्षा सुनिश्चित गर्नका लागि आन्दोलनमा होमिनुपर्ने बाध्यता आएको बताएका छन्। शिक्षक पेशामा रहँदा पटक-पटक अपमानित हुनुपरेको उनको भनाइ छ।

श्री सर्वोदय मावि, धनपालथान-७ मोरङका शिक्षक निरौलाले आफ्नी अर्धाङ्गिनीलाई लेखेको भावुक पत्रमा शिक्षण पेशामाथि समाजको हेपाहा प्रवृत्तिले मनोवैज्ञानिक चोट दिएको उल्लेख गरेका छन्। “शारीरिक रूपमा म ठिकठाक छु, तर मानसिक रूपमा ममाथि निरन्तर निर्मम प्रहार भइरहेको छ,” पत्रमा उनले भनेका छन्।

उनले शिक्षण पेशा रोजे पनि समाजले शिक्षकलाई कमजोर प्रतिस्पर्धीको गन्तव्यका रूपमा लाञ्छना लगाउने गरेको गुनासो गरे। शिक्षण पेशाप्रति राज्य र समाजको उपेक्षाले आफूलाई विद्रोहमा उत्रिन बाध्य बनाएको उनले बताए। तीन महिनामा आउने तलबले ऋण मात्रै तिर्न सक्ने अवस्था रहेको बताउँदै शिक्षण पेशामा आर्थिक स्थायित्वको अभावलाई उनले प्रमुख समस्या बताएका छन्।

चैत २० गते शिक्षाकर्मीहरूको समूहले सरकारविरुद्ध विद्रोह गर्न लागेको भन्दै आफू पनि त्यसमा सहभागी हुने दृढता व्यक्त गरेका छन्। “राज्य कहिले काँही निर्दयी हुन्छ, मेरो छातीमा गोली लागे पनि तिमी नरुनु, तिम्रो सिन्दूर पुछेर भए पनि हाम्रा सन्तानले शिक्षककै हुन्छु भनेर गर्व गर्न सक्ने वातावरण बनाउन म आन्दोलनमा जानै पर्छ,” उनले भावुक हुँदै भनेका छन्।

शिक्षण पेशालाई बचाउन शिक्षाकर्मीहरू एकजुट हुनुपर्ने बताउँदै निरौलाले आफ्नो आन्दोलन अन्तिम संघर्ष हुने बताएका छन्। “या त जित्नुछ, या त बित्नुछ,” भन्दै उनले शिक्षण पेशाको अस्मिता र स्वाभिमान जोगाउन अन्तिमसम्म लड्ने प्रतिबद्धता जनाएका छन्। उनले शिक्षाकर्मीहरूलाई एकताबद्ध भई शिक्षण पेशाको सम्मान र हकहितका लागि आवाज उठाउन अपिल गरेका छन्।

Author

You may also like