देश–समाज विचार/वहस स्थानीय

पत्रकारको रूपमा मेरा ठूलामामाको पचास बर्ष

:— उत्तरकुमार खत्री —:
आदरणीय ठूलामामा श्री गञ्जबहादुर दहालज्यूको पाँच दशक देखि इमान्दार, निडर र निष्कंलक कलम चलाउँदै सत्य, तथ्यको पक्षमा अडिग रही समाजलाई सचेत, सुसूचित र अधिकार प्रति जागरूक बनाउन स्वच्छ र पत्रकारिता मार्फत स्थापित गर्नु भएको विश्वास र विश्वसनीयता प्रति आदर प्रकट गर्दै तपाईंको कलम आउँदो पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सकोस हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
वाल्यकालमा मामाः आमाको अगाडि मामाको के बखान गर्नु भन्ने उखानसँग पटक्कै मेल नखाने मेरा ठूला मामा हजुरआमाको सकरात्मक दवाव र घरको प्रतिकूल परिस्थितिका बाबजुत पनि पढाईमा अब्बल हुनुहुन्थ्यो भन्ने कुरा हाम्री आमा अथवा उहाँकी दिदीले हामीलाई विद्यालय शिक्षाको क्रममा भएका अनगिन्ती अनुभवहरू कयौं पटक सुनाउनु भएको थियो। उहाँ गाउँमा घाँस पराल गर्दा होस् वा मेलापात गर्दा होस् किताव छोड्नु हुन्न थियो रे मलाई पनि उक्त कुराले प्रेरणा मिलेको थियो।यद्यपी म कक्षामा कहिल्यै पहिलो हुन सकिन तर उहाँ सधैं पहिलो हुनुहुन्थ्यो भन्ने कुरा मैले आमाबाट थाहा पाएको थिएँ। उहाँले विद्यालय शिक्षाको लागि करिब एक घण्टाको यात्रा गर्नुपथ्र्यो तर मेरा लागि घरको आगनमा विद्यालय थियो।उहाँ एस एल सी सम्मको अध्ययन पश्चात सपरिवार मधेश झर्नु भएको थियो।
संघर्षका दिनः मामा जेठो छोरो तीन जनाको परिवार पाल्ने जिम्मेवारीको वोध र उच्च शिक्षा अध्ययन गर्ने तीव्र चाहनाका कारण उहाँ झापाको गौराहदहबाट सदरमुकाम भद्रपुर जानु भएको थियो। घरको कमजोर आर्थिक अवस्था, जागिर खानुपर्ने वाध्यता र अध्ययनलाई सँगै लैजानु पर्ने चुनौति उहाँ सामु निकै कठिन थियो। हाम्रो देशमा अहिले पनि आफ्नो ईच्छा÷चाहना भन्दा पनि चिनेजानेको वा भनसुनबाट आफ्नो भविश्य निर्माण गर्ने परम्परा रहेको र उहाँ पनि सोही बमोजिम झापाको गौराहदहबाट भद्रपुरमा बसोबास गर्नु हुने आफन्त बसन्तकुमार खड्काकोमा पुग्नु भएको थियो।मामाको त्यसवेलाको चाहना बैंकमा जागिर खाई अध्ययनलाई अगाडि बढाउने र परिवारलाई भरथेग गर्ने भए पनि आफन्त बसन्तकुमार खड्काको सूर्योदय पत्रिका निकाल्ने काममा सहगोगीको भूमिकामा काम गर्न शुरू गर्नु भएको थियो ।
मेरो उच्च शिक्षा र मामासँगको आत्मियताः मलाई भोजपुर साविक प्याउली गाउँ विकास समिति हाल अरूण गाउँपालिकाको माचुङ्ग अवस्थित हाम्रो मामाघर हो भन्ने मात्र थाहा थियो तर हजुरआमा र मामाहरू त्यहाँ बसोबास गर्नु भएको खासै मेरो मानसपटलमा रहेको छैन्। सपरिवार मावली मधेस बसाँई सरे पश्चात खास हाम्रो मावली भनेको भिरकोट नै थियो । भिरकोट आमाको मामाली हो । अहिले पनि मावलीको कुनै याद छ भने भिरकोटको नै याद आउँछ । यसरी मामाघरको बाल्यकालमा खासै याद छैन् । जव म भोजपुरको प्याउलीबाट एस एल सी परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सिलसिलामा मेरो उत्तम विकल्पको रूपमा मामाघर दमक आएँ त्यस पश्चात् भने गञ्जमामाको सामिप्यतामा रहें। मैले नजिकबाट संगत गर्दा मेरा ठूला मामा गञ्जबहादुर दहालको पत्रकारिताको यात्रा पन्ध्र बर्ष व्यतित भइसकेको थियो । त्यसबेला उहाँले भोजपुरको अरूण गाउँपालिकादेखि झापाको गौरादह, भद्रपुर हुँदै दमकसम्मको यात्रा तय गरिसक्नु भएको थियो । म दमक आउँदा उहाँ सम्पादक दाईको रूपमा रूपान्तरण भईसक्नु भएको थियो ।
झापामा अध्ययन गर्ने अवसर र मेरो प्रेरणाको स्रोतः सम्वत् २०४६ सालको आन्दोलन र बहुदलीय व्यवस्थाको शुरूवाती चरणमा म कलेज अध्ययनको लागि दमक आएको थिएँ । त्यसबेला मामाको आर्थिक अवस्था सामान्य, चार जनाको परिवार र भाडाको घरमा बस्नु पर्ने बाध्यता थियो । यद्यपी मलाई परिवारकै सदस्यको रूपमा सहर्ष स्वीकार गरी थप अध्ययन गर्ने अवसर सिर्जना गरिदिनु भएकोमा उहाँहरू प्रति सदैव ऋणी छु । भरखरको राजनीतिक परिवर्तनसँगै मामाको प्रेस, जनज्योति साप्ताहिक पत्रिका र मामा सम्पादक भएका कारण उहाँको क्याम्पसका प्राध्यापक तथा राजनीतिक व्यक्तित्वहरूसँगको उठ्बसले मलाई पनि त्यहाँ तत्कालै भिज्ने अवसर प्राप्त भयो । म फुर्सदको समयमा प्रेसमा काम सिक्ने, पत्रपत्रिका अध्ययन गर्ने, पत्रिकाको ग्राहक बनाउने, ग्राहकबाट पैसा उठाउने लगायतका कार्यहरू गर्ने र सिक्ने अवसर प्राप्त भयो । दमकमा झण्डै तीन बर्ष विताउँदा मामाले मलाई सदैव सकरात्मक उत्प्रेरणा दिने र भविश्यका बारेमा स्पष्ट बाटो लिन सुझाव दिनु भएको थियो र आज पनि उहाँ मेरो प्रेरणाका स्रोत हुनुहुन्छ । अहिले म सम्झन्छु मामा दमकमा नहुनु भएको र उहाँले मलाई सहयोग नगर्नु भएको भए मेरो जीवन यो अवस्थामा आईपुग्न कठिन थियो । मेरो पहिलो घर भोजपुर भए पनि दोस्रो घरको रूपमा झापा रहन गयो र पछि झापाको प्रमुख जिल्ला अधिकारीको कर्मथलोको रूपमा समेत आत्मसाथ गर्ने मौका प्राप्त गरें । मामा स्थापित पत्रकार भएको हुँदा प्रजिअको जिम्मेवारीमा समेत मलाई झनै सल्लाह सुझाब लिएर काम गर्न सहज भएको थियो ।
एक इमान्दार स्वच्छ पत्रकारका रूपमा गञ्ज मामाः पत्रकार तथा पत्रकारिता पेसामा एक इमान्दार र अविचलित रूपमा पञ्चायत, बहुदलीय व्यवस्था, गणतन्त्रदेखि जेनजी पुस्ताको विद्रोहसम्म निरन्तर कलम चलाउने गञ्ज मामाले दमकलाई आफ्नो कर्मथलो बनाउनु भएको छ।अहिले उहाँ झापाकै पुरानो पत्रकारको रूपमा स्थापित हुनुहुन्छ। हाल पूर्वसन्देश दैनिक र जनज्योति साप्ताहिक पत्रिकाको माध्यमबाट समाजलाई सचेत, सुसूचित र अधिकार प्रति जागरूक बनाउन सक्रिय भूमिका निर्वाह गर्नु भएको छ । आफ्नो पेसा र व्यावसाय प्रति अति इमान्दार र स्वच्छ छवि बनाउनु भएका मामाश्रीको कलम आउँदो पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहेको र अझ बन्न सकोस्, सबैमा उत्प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
(लेखक खत्री नेपाल सरकारको सहसचिव हुनुहुन्छ ।)

Author

You may also like