-नकुल काजी –
झापाबाट प्रकाशनमा आइरहेका दैनिक, पाक्षिक, साप्ताहिक अखबारहरूमध्ये सबभन्दा बढी घटनापरक र पक्षरहित समाचार तथा उपयाेगी जानकारीमूलक स्तम्भहरूले समृद्ध, झापाली पत्रकारिताकाे विगत गाैरवलाई टेवा दिने प्रयत्न गरिरहेकाे ‘पूर्व सन्देश’ (दैनिक अखबार)-ले २१ओैं वर्ष प्रवेश गरेकाे उल्लसित उपलक्ष्य र त्यसका सम्पादक गञ्जबहादुर दाहालकाे पत्रकारिता यात्राले ५० वर्ष पूरा गरेकाे सुखद अवसरमा हर्षातिरेक कलम समाएकाे छु ।….
२०२३-०२४ देखि२०३५ -०३६ सम्मकाे बाह्र-तेह्र वर्ष, राजधानी बाहिर (माेफसल)-का जिल्लाहरूमध्ये सूचना-सेवा (पत्रकारिता), साहित्य सिर्जना, शिक्षादेखि राजनीतिक चेतनायुक्त गतिविधिका सन्दर्भमा झापा जिल्लालाई ‘अग्रणी’ मानिन्थ्यो । त्यसैमध्ये सूचना-सेवाकाे त्याे अपूर्व यशस्वीयतालाई अघिल्लाे पंक्तिमा ‘झापाकाे गाैरव’ भनिएकाे हाे । यद्यपि, २०३६ सालदेखि यता सूचना-सेवा र साहित्यकाे सिर्जनशील फाँटकाे ऊर्जा रुखिँदै गई यी दुई विधा भिमलाउने क्रम बढेकाे छ तापनि झापालाई अन्य जिल्लाहरूकाे तुलनामा अद्याअ्पि बाैद्धिक क्रियाकलापका सन्दर्भमा अगुवा जिल्ला नै मानिने गरिन्छ, गरिँदैछ ।
पहिलाे पुस्ताका साहित्य-सर्जक र सूचना-सेवामा संलग्नहरू अहिले दुई-चार जना मात्र जीवित छन् र ती अहिले पनि लगभग (जसाेतसाे !) क्रियाशील नै दखिँदा छन् । उनीहरूसँग, कलमकर्मीका हकमा, निर्विकल्प राज-नेतृत्वशाली पञ्चायती व्यवस्थाकाे ‘कठाेरकाल’ गुजारेका अनुभवहरू छन् , प्रजातन्त्र-लाेकतन्त्र र आजकाे गणतन्त्रकालद्वारा विभक्त (?) सामाजिक र राष्ट्रिय परिवेशकाे खिचातानीप्रद पराेक्ष शासकीय आग्रहका कारण आज पनि अप्ठ्याराे गरी गुज्रिनुपरिरहेकाे अनुभूति त जाे छँदैछ । अर्थात् तिनै पुरानाका संगतमा हुर्केकाहरू तथा समयक्रमका नवाेदितहरू अहिले याे सेवाकाे माध्यमबाट अस्तित्वमा छन् । तर, पत्रकारिता र साहित्य समेतकाे सारभूत सिद्धान्त (fundamentat principle) न ३० वर्षे राजतन्त्र-नेतृत्वकाे पञ्चायतकालमा अवलम्बन गर्ने स्वतन्त्रता थियाे न त, विभिन्न कारणका कारण, त्यसपछिका कालखण्डहरूमै ।
पत्रकारिता व्यावसायिक कित्तामा मात्र एकनिष्ठ संलग्न रहेकाे पचास वर्षे आह्लाद फर्माइरहनु भएका गञ्जबहादुर दाहाल पनि विगतका दुई-तीन असहजकाल र आजकाे अझ अक्करिलाे समयमा समेत निरपेक्ष (non-alliance) पत्रकारकाे रूपमै टिकिरहनु भएकाे छ , जाे याे व्यावसायिक सिद्धान्तकाे वर्तमान सान्दर्भिक भावभूमिमा सानाे प्रशंस्य आँट र सफलता हाेइन ।
पत्रकार गञ्जबहादुर दाहाल झापा सदरमुकाम भद्रपुरबाट बसन्तकुमार खँड्काकाे सम्पादनमा २०२६ सालदेखि प्रकाशन प्रारम्भ भएकाे ‘सूर्याेदय’ (साप्ताहिक समाचारपत्र)-मा २०३२ सालमा संलग्न हुनु भएकाे थियाे र त्यही नै उहाँकाे ‘पत्रकारिता’ कित्तामा प्रवेशकाे प्रथम बिन्दु हाे भन्ने मेराे जानकारीमा छ । त्यहाँ छ वर्ष अनुभव हासिल गरेपछि उहाँले, अर्को फड्कोमा, २०३८ सालदेखि ‘जनज्योति’ (साप्ताहिक)-काे सम्पादन-प्रकाशन प्रारम्भ गर्नु भएकाे थियाे, जसकाे शुरु वर्षहरूमा भर-अभर म पनि सहयाेगी थिएँ, जसकाे प्रकाशन आज पनि बरकरार छ । सिधा-साेझाे, निर्लाेभी र शालीन चारित्रिक गुणका धनी गञ्जबहादुर दाहाल त्यसैकारण आफूलाई आफ्नै बल-बुतामा उभ्याउन सफल व्यक्तिकाे उदाहरण बन्नु भएकाे मेराे ठम्याइ हाे । म गञ्जबहादुर दाहालसँग उहाँकाे पत्रकारिता जीवनकाे शैशवकालदेखि नै नजिकबाट परिचित कलमकर्मी हुँ नै । उहाँकाे पुस्ता झापामा माइलाे हाे । याे माइलाे पुस्ताका लगायत सूचनासेवामा सम्पृक्त मेरा दाैंतरीहरूले समेत मलाई ‘अग्रज’ मान्छन् – के अर्थमा हाेला भन्ने मलाई लाग्छ भने, मेराे अक्षरखेतीकाल हाल ६४ वर्षमा गुज्रिरहेकाे छ र याे अवधिमा मैले सकेसम्म आफूलाई सदैव ‘सत्य’-द्वारा निर्देशित राख्तै आएकाे छु । ‘सत्य एक्लै भए पनि बहुमतमा हुन्छ’ (अर्थात्, No one has topic to object the beauty of Truth to enjoy the power majority even when all alone.) भन्ने विश्वमान्य सूक्तिलाई मैले सकेसम्म शिराेधार्य गर्ने कठिन र कण्टक प्रयासमा आफूलाई धकेल्दै आएकाे तरस्वी अनुभूतिहरू छन् मसँग । यस अर्थमा, म गञ्ज दाहालका कर्मशीलताकाे फेयरिस्त जान्ने व्यक्ति मात्र नभई पत्रकारिताकाे परख गर्न जान्ने एउटा याेग्य पारखी पनि हुँ भन्ने ठान्दछु । याे मेराे आत्मश्लाघा पटक्कै हाेइन, ममा जीवन्त यथार्थ सम्पत्ति नै यही र यत्ति नै मात्र रहेकाे छ !
अतः पत्र-पत्रिकाकाे ‘कृतित्व’ भनेकै त्यसले पाठकका जानकारीकाे तिर्खा सम्पूरक र रूची-सम्बर्द्धक समाचार एवम् विभिन्न विषयगत खुराकका निश्छल प्रक्षेपणहरू हुन् । अर्थात्, कुनै पनि पत्रिकाका सम्पादक-प्रकाशकका हैसियतकाे अनुहार हाेइन, उसले पाठकसमक्ष पस्किने समाचार-सूचनाहरूकाे स्वरूप र तिनमा निहित निष्पक्ष स्वभाव र निरपेक्ष प्रभाव हाे । यसाे हुँदा, ५० वर्षदेखि पत्रकारिताकाे अभ्यासमा निर्लिप्त गञ्जबहादुर दाहालकाे ‘पूर्व सन्देश’-का दैनिक अंकमा जति समाचार, टिप्पणी र अन्यान्य जानकारी-उत्सर्जक सामग्रीहरू हुन्छन् , झापाका अन्य दैनिक अखबारका त के कुरा, सात-सात दिनमा प्रकाशमा आउने साप्ताहिकहरूले पनि त्यति धेरै सम्प्रेषण गर्न सकिरहेका छैनन् नभन्नु म आफ्नाे बाेधसत्यकाे धर्म मान्न सक्तिन । झापाकाे सदरमुकाम र बिर्तामोड जस्ता महत्वपूर्ण र ‘ठूला ठाउँ’-बाट प्रकाशित दैनिक-साप्ताहिकहरूलाई पनि विविध सामग्री प्रेषणमा ‘पूर्व सन्देश’-ले, नवाेदित नगर दमकबाट, उछिनिरहेकाे म याे एक अनुभवी पर्यवेक्षक एवम् जानिफकार पाठककाे हैसियतले मनग्गे भनिरहेकाे छु । र, याे नै सादृश्य ‘सत्य’ पनि हुँदै हाे ।….
अतः ‘पूर्व सन्देश’-काे एक्काइसाै वर्ष प्रवेश र त्यसका सम्पादक गञ्ज दाहालकाे पत्रकारिता जीवनले पचास वर्ष पूरा भएकाे आह्लादकारी अवसरमा हर्षातिरेक बधाई ज्ञापन गर्दछु । र, आगामी दिनहरू अझ समृद्ध रूपमा अझ उदाहरणीय सफलता मिलाेस् भन्ने आभ्यन्तरिक शुभकामना व्यक्त गर्दछु ।
प्राज्ञ टाेल, भद्रपुर ] ****** [२२ मङसिर , २०८२