सुख – दुःख, ऐचोपैचो जे जसरी भएपनि ८२ को यो दशै जेनतेन हामीमाझ टरेर गयो । हामीलाई सुखानुभूति प्रदान गर्ने यिनै चाडपर्व रहेछन । एक मुठीको सास रहुन्जेल आफ्ना परिवारजन बिच खुसी साट्नै पर्छ , सबैले । यही कुरालाई मनन गर्दै यो दशै कसैकसैलाइ सदियौ बर्षदेखिको ढाटेर खानेहरुको लागि मनदुःखी भयो होला तर हामीजस्ता निम्न आयश्रोत हुनेकालागि यो दशै खुसी बाढेर गयो । तर दशैकै बिचमा गत असोज १८ र १९ गते आरी घोप्टे निरन्तर बर्षाका कारण आम नेपाली जनताहरु भने घरबारबिहिन भए , कतिजनाले मृत्युवरण गर्नुपर्यो । यति दुःखद घटना घटे दशैकै मुखमा जुन कुराले हामी नेपालीहरुलाई दुःखित् तुल्यायो । हिजोका दिनमा पनि महाभुकम्प, बाढीपहिरो र कोभिडको पहिलो, दोश्रो र तेस्रो चरणले थिलथिलो र सन्त्रासमय नभएका जनता त होइनन् तापनि यो सबै भोग्न बाध्य भए आम नेपाली जनताहरु । भोग्न पनि के चाहिँ भोगेनन अनि ब्यबस्था पनि के– के भोगेनन् नभोगेको पनि कुनै शासन पद्धति रहेन । अब त अति भएपछि खती हुन्छ भनेझैं ५२, ६२, ७२ देखि अहिले ८२ सालसम्मको अवधिसम्म आमूलपरिवर्तन यथार्थ रुपमा भोग्न पुगे जनता ।
आखिर यो किन भयो ? कसले गर्यौ ? कसको खेल रहयो ? कुनकुन नेताहरूका कारणले गर्दा बर्तमान अवस्थाको सिर्जना भयो भनेर खोज्दा यसको यक्ष प्रश्न तपाईं हामी बृद्ध तथा युवा पुस्ताहरुको आँखा कै अगाडि भोग्नु र देख्नुपर्यो । यहाँ कुनै नेताहरू अछुतो नरहदा हुन्छ कि हाम्रो देशमा हिंसा र भ्रष्टाचारको बिगबिगी भित्र्याउने भनेकै शीर्ष नेता हुन जो पटकपटक सरकार प्रमुखको भूमिका हिजोसम्म निभाइरहेको थियो । युवाहरूलाई प्रयोग गरेर सरकारको तर चाट्ने काम गर्नमा ब्यस्त थिए नेताहरु जसले आगो लगाउन, हातहतियार चलाउन, काटमार गर्न, रेलिङ्ग भाच्न उनैले बृद्ध नेताहरूले मात्र सिकाए, युवाहरू सबै रोजगारका निम्ति खाडी मुलुक तथा युरोपेली राष्टूहरुमा धमाधम पासपोर्ट बनाउदै बिदेश भासिन बाध्य बनाए, नेताहरूले । ४८ देखि ८२ साल सम्म फेरिएका सरकारहरुले गरेका कुनै कामहरुको उल्लेखनीय कामको मूल्यांकन गरौ न, एकपटक । कहिँ राम्रो काम भने देखिन्न । हुन सक्ला कामगर्ने सवालमा कति बनेका हिजोका प्रधानमन्त्री र मन्त्रीहरुले काम नगरेका भने होइनन तापनि चुहावट हुँदासम्म चु नबोली बसिरहे । नेपाल न घटेका घटना कुन बाकी छ र ? के – के घटना भोगे र सहे तमाम नेपालीहरुले ।
सस्तो लोकप्रियताका नाममा ढटुवा नेताहरूले संजीवनी बुटी सुघाएनन् र ? इतिहासका पाना पल्टाएर हेर्दा हिजो सानो बच्चा जो कखरा सिक्दैथियो उसको पुस्ताले सम्म हाम्रा नेताहरुको भोगबिलास र भ्रष्टाचारको यथार्थ विवरण सामाजिक संजाल र अनलाइन खबरबाट अहिले पत्ता लगाउन सकेको छ । विश्व क्षेत्र यतिबेला ग्लोबलाइजेसन भएको अवस्था छ घरमा बसेर संसार नियाल्छ, चहार्छ, रिमोटमै देश चलेको छ । हुन त हिजोका दिनमा सानै कक्षामा पनि इतिहास पढिन्थ्यो अहिले माध्यमिक तहमा र उच्च तहमा इतिहास र भूगोल बिषय थोरैमात्र पढाई हुन्छ तर पनि हत्केलामा राखेको मोबाइलबाट अहिलेका साना बच्चाले बिश्व पढन सक्छ । ढाट्न पनि ढाट्नु कसलाई ढाट्नु अब ? न बुझ्ने गवार को छ अहिले ? अति गरेसी अत्याचार हुन्छ भन्छन अहिले नेताहरूले गरेको दमन, अन्याय, अत्याचार, भ्रष्टाचार, बेथितिका कारणले देशले निकास खोजेको मात्र हो ।
जनताहरु नेताहरूबाट आजित भएकै कारणले गर्दा नयाँ युवाहरूको स्वतन्त्र नेतृत्व जन्मिएको हो । हुन सक्ला कोहिकोही आसेपासे, झोले, भरौटे, चम्चे, सुराकी जो स्वार्थ लुट्न चाहन्थ्यो र उनीहरुको स्वार्थ पुरापनि भयो उसलाई यतिबेला गुमेको हिजोको सत्ता साझेदारी गर्ने गुलामीहरुको जयजयकार गर्न नपाएर बहुलाएका होलान । तर छातीमा हात राखेर भन्नैपर्दा यहाँ के भन्न सकिन्छ भने हाम्रा नेताहरूले देश खोक्रो बनाएकै हुन्, यसलाई पुनः ब्यूँताउन अब गाह्रो छ । यही भएर आज अचानक नेपाली राजनीतिमा फेहरिस्त फेरबदल हुन पुग्यो । जनताले थाहै नपाइ नेपाल देशभर भित्रभित्रै नयाँ पुस्ता जेन – जी हरुको पुस्ता जन्मिसकेको रहेछ । यो हामी जस्ता कलम चलाउनेहरुलाइ गोप्य कुरा थाहा हुन सकेन । यतिबेला जेन – जी आन्दोलनले पुरानो राजनीतिक संस्कृति र संरचनालाइ चुनौती दिँदै नयाँ अध्यायको सुरुवात समेत भएको छ । यही आन्दोलनले इतिहासमै पहिलो पटक सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गराएर महिला नेतृत्वको सम्भावना स्थापित गराएको छ भने सामाजिक संजालमा लगाइएको प्रतिबन्ध हटाइसकेर नयाँ नेतृत्वको सरकारले धमाधम काम गरिरहेको अवस्था छ ।
विभिन्न लोकतान्त्रिक आन्दोलनका क्रमागत शृंखलाहुँदै २०६२÷६३ को दोश्रो जनआन्दोलनले नेपाली समाजलाई क्रमश ः लोकतान्त्रिक बाटोमा अघि बढायो । मधेस आन्दोलनले मधेसलाई हेर्ने राज्यको चष्मा केही हदसम्म पुरै सफा गरिदियो । राजनीतिक दलहरु सत्ताका लागि मात्र सिमित भए , जसले गर्दा बारम्बारको सरकार परिवर्तन, अस्थिरता, नातावाद, कृपावाद र गुटबन्दीले राज्य संयन्त्रलाई पङ्गु बनाएरै छाड्यो । जब राजनीतिक नेतृत्वले जनतालाई भविष्यका आशादिनुभन्दा दिनप्रतिदिन निरासा पैदा गर्यो । कति शीर्ष नेताहरूले जनताको पिटाइसम्म खान पुगे । आज युवा पुस्ताहरुमा बिगत र आगतका राजनीतिक बृतचित्र स्वयं हेर्न पाए, नजिकबाट बुझ्ने अवसर नेपालको राजधानी काठमाडौबाट पाए ।
देशमा भएका सत्ता सञ्चालनका विकृति र विसंगति बढार्नका निम्ति उठेका जेनजी पुस्तामाथि गलत आरोप लगाइँदैछ । कुनै देशवाट संचालित छन भन्ने समाचार अनलाइन समाचारमा बाक्लै खबर नआएका होइनन् त्यो छुट्टै पाटोको बिषय हो तर किन जन्म भयो यो जेन ( जीहरुको नयाँ पुष्ताको भन्ने बहस राजनीति दलहरुले बिगतमा समिक्षा गर्न सकेनन । बकवासमा हल्ला फिजाए, अनेकन नाम र रुपको संज्ञा दिए, दलहरुले । उनीहरूको बिरासत नयाँ छ, बिचार फरकफरक छन । शीर्ष युवाहरुको बहस अन्तरकृया हेर्दा हामीलाई लाग्छ उनीहरू डिजिटल दुनियाँमा हुर्किएका रहेछन भन्ने प्रतित हुन्छ । उनीहरूले बिगतदेखि हालको अवस्थासम्म हाम्रा नेताहरूले पटकपटक राज्य दोहन गरेर देशलाई भ्रस्टाचारै – भ्रष्टाचारको देश भनेर बिश्वमै चिनाउन पुगे, अहिलेसम्म । उनीहरूसङ्ग विशेषत ः पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तन जीवन शैलीमा गहिरो रुपमा समाहित भएको स्पष्ट देख्न सकिन्छ । बर्तमान पुस्ता ईन्टरनेट र सामाजिक संजालको युगमा हुर्केको पुस्ता हो । सामाजिक संजालका विविध एप्सहरुमा कोहि न न कोहि जोडिएकै हुन्छन । त्यो जोडिनबाट बन्चित गरायो ओली प्रधानमन्त्री नेतृत्वको सरकारले हिजो । अबको नेपालको राजनीति भीषण राजनीतिक टकरावबाट जोगाउनका निम्ति सम्पूर्ण राजनीतिक दल, युवा सरोकारवाला निकाय, अधिकारकर्मीहरु एकजुट भएर अघि बढ्नु जरुरी छ । अब प्रश्न केवल नेतृत्वको होइन, नयाँ क्रान्ति अब हतियारले होइन, बिचारले हुनेछ । यो क्रान्ति सडकमा होइन, संस्थागत संरचना भित्र हुनेछ । नयाँ पुस्ताले आफ्नो दृष्टि, मूल्य र उर्जालाइ पार्टी, संसद र निर्णय प्रक्रियामा पुर्याउन सकेमात्र नेपालको राजनीति साच्चैनै नयाँ मोडमा अघि बढ्ने निश्चितप्राय ः छ । यसमा सबै पक्षबाट हातेमालो गरौ ।

Author

You may also like