अन्तर्वार्ता राजनीति

काँग्रेस दमकमा त्रिपक्षीय भिडन्त

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । यसै सन्दर्भमा गाउँ÷नगरस्तरीय समितिको चुनाव यही असोज ९ शनिबार हुँदैछ । यसका लागि झापाको दमक नगर समितिको सभापतिका लागि तीन जना युवा उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । ति उम्मेदवारहरुमा क्रमशः रोशन विष्ट, प्रकाश प्रसाई र पर्शुराम रिजाल रहेका छन् । विष्ट हालका नगर सभापति र नेविसंघका पूर्व झापा जिल्ला सभापति, प्रसाई दमक उद्योग वाणिज्य संघको तीन कार्यकालका पूर्वअध्यक्ष र रिजाल नेविसंघका पूर्व झापा जिल्ला उपसभापति हुन् । यि तीन उम्मेदवारहरुसंग पूर्वसन्देशकर्मी पंकज दाहालले एकै किसिमका प्रश्नहरु सोधेका छन्  ः

                के भन्छन् त सभापतिका उम्मेदवारहरु ?

प्रश्नहरुः

१) तपाईको उम्मेदवारी के का लागि ?

२) काँग्रेसभित्रको आन्तरिक किचलोलाई कसरी लिनुभएको छ ?

३) कार्यकर्तालाई के भनेर मत माग्दै हुनुहुन्छ ?

४) तपाईंका चुनाव जित्ने आधारहरु के के छन् ?

५) नगर सभापतिमा जित्नुभयो भने के गर्नुहुन्छ ?

                                     पार्टीलाई जीवन्त राख्न मेरो उम्मेदवारी–    रोशन विष्ट

१) नगर सभापतिको रुपमा मेरो कार्यकालमा भएका कमी कमजोरीहरुलाई सच्याउनका लागि, अधुरा रहेका कामलाई पूर्णता दिन र नेपाली काँग्रेसलाई आगामी स्थानीय तह र केन्द्रको निर्वाचनमा जिताउनका लागि मेरो उम्मेदवारी रहेको छ ।


२) कुनै पनि जीवन्त पार्टीभित्र आन्तरिक द्वन्द्व चल्नु र समूह उपसमूहरु हुनुलाई स्वाभाविक रुपमा लिनुपर्छ । तर यो अधिवेशन सम्मका लागि मात्र हुन्ुपर्छ । अधिवेशन पछि पार्टीका नेता कार्यकर्ताहरु एकढिक्का भएर पार्टीको नीति र कार्यक्रमलाई केन्द्रभागमा राखेर अघि बढ्नुपर्छ । अन्य पार्टीहरुमा पनि यस्तो हुन्छ र भइरहेको पनि हामीले देखे भोगेकै हाँैं ।
३) सबैभन्दा पहिला त विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीबाट हामी सबै नेपाली जनता बच्नुपर्छ । अहिलेको यो विषम परिस्थितिमा सबै नेता कार्यकर्ताहरु पार्टीलाई जीवन्त राख्न र साख बचाउने तर्फ लाग्नुपर्छ । म नगर सभापति हुँदा देश कोरोनाको महामारीमा मात्र फसेन, मु्लुकनै कम्युष्टि बाहुल्य बन्यो, त्यसकारण चाहेर पनि भनेजति काम गर्न सकिएन । तर अब कोरोना विरुद्धको खोप र शासन सत्तामा हाम्रै काँग्रेस पार्टीको नेतृत्व रहेकाले मलाई अबको थप एक कार्यकाल मत दिनुहोस् भने कार्यकर्ताको बीच गइरहेको छ । विश्वास छ, जित मेरै पक्षमा हुन्छ ।
४) अहिले पार्टीको संगठनलाई बुझ्ने साथीहरु क्षेत्रीय प्रतिनिधिमा चयन भएर आउनुभएको छ । शुरुमा चुनाव र पछि कोरोनाको महामारीका कारण पार्टी गतिविधि संचालन गर्न पनि खासै अनुकुल स्थिति रहेन । अमेरिकामा पनि राष्ट्रपति धेरैजसो दुई पटक एउटै व्यक्ति चयन भएको पाइन्छ । नेपालमै पनि पार्टीहरुमा दुई कार्यकाल पार्टी प्रमुख भएकै हो । यो सबै इतिहास र डेढ दुई वर्षको समयलाई बुझेका साथीहरुको पनि सल्लाह र सुझाव पाएरै मैलै फेरि पनि पार्टीको नगर सभापतिमा उम्मेदवारी दिएको छु ।
५) अहिलेसम्मको इतिहासमा एकपटक संसदीय उपनिर्वाचन बाहेक अन्य निर्वाचनहरुमा हामीले जितेका छैनौं । पार्टी सांगठनिक रुपले यो क्षेत्रमा कमजोरनै छ । दमक नगरपालिकाको हकमा पनि यस्तै भएको छ । तर अब अन्य दलसंग पनि सहकार्य गरेर अघि बढ्नुपर्छ । मैले फेरि नगर सभापतिमा जितेपछि संगठनलाई चुस्त दुरुस्त राख्ने, प्रशिक्षण चलाउने, सर्वसाधारण जनतामाझ जाने र काँग्रेस पार्टीप्रति उनीहरुको माया ममता जगाउने काम गर्नेछु ।

                     नेता कार्यकर्ताको शिर उचो राख्न मेरो उम्मेदवारी -प्रकाश प्रसाईं
१) मेरो उम्मेदवारी नेपाली काँग्रेसको प्रजातान्त्रिक अभ्यासलाई मलिलो र उर्वर बनाउन हो । जुझारु युवाहरुलाई पार्टीको गतिविधिमा अधिकसे अधिक सामेल गराउन हो । लोकतान्त्रिक संस्कार र समाजवादको नारा तथा सपनालाई साकार बनाउन हो । अग्रजहरुलाई सम्मान र युवाहरुलाई प्रोत्साहन गर्न हो । सबैलाई समेटने र अटाउन सक्ने दरिलो र उर्जाशील पार्टी बनाउन हो । दमक नगरपालिकामा पार्टीको उपस्थितिलाई दर्विलो रुपमा सुनिश्चित गर्न हो ।

२) काँग्रेसमा म र मेरो होइन, हामी र हाम्रो भन्ने भावना विकास गर्नुपर्छ । पार्टीको नीति तथा कार्यक्रममा अडिग भएर सोही अनुसारको कार्यहरु गर्नुपर्छ । पार्टीको शिर सबै नेता तथा कार्यकर्ताहरुले उचो राख्नुपर्छ । म नगर सभापति र मेरा टिमको उम्मेदवारीले नगर समितिमा जितेर गएपछि कुनै पनि नेता तथा कार्यकर्ताको शिर निहुरिन दिने छैनौं, तपाई क्षेत्रिय प्रतिनिधि र वडा सभापतिहरुले हाम्रो टिमलाई मत दिएर विजयी गराउनुहोस् भनेर मत मागिरहेका छौं ।
३) पार्टीमा समूहहरु हुन सक्छन् । गुटहरु हुन सक्छन् । तर ति गुट या समूहहरु स्थायी रुपमा रहनुहुन्न भन्ने मेरो भनाई हो । कुनै पनि लोकतान्त्रिक पार्टीमा विचारमा, नीति तथा कार्यक्रममा मत भिन्नताहरु हुन सक्छन् । कार्य गर्ने शैलीमा फरकपन हुन सक्छ । तर त्यो अधिवेशनभरि मात्र हुनुपर्छ । अधिवेशनबाट चुनिएर जाने नेतृत्वले पार्टीमा एकतालाई कायम राखेर अघि बढ्नुपर्छ । देश र आम जनताको हितमा साथै पार्टीमा नेता कार्यकर्ताहरुको पक्षमा काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
४) दमकमा शुरुमा स्थानीय चुनावमा काँग्रेसको प्रतिनिधित्वनै थिएन । कोमामा रहेको पार्टीलाई हस्पिटलबाट हामीले विरामी अवस्थाबाट स्वस्थ बनाएर ल्यायौं । गएको स्थानीय तहको निर्वाचनमा पराजित भएको पार्टीलाई आम नगरवासीको मन जितेर दर्विलो पार्टीको रुपमा स्थापित गर्न मेरो उम्मेदवारी हो । काँग्रेसलाई आगामी निर्वाचनमा प्रभावशाली र सशक्त पार्टीको रुपमा उभ्याउने, संगठन सृदृढीकरण गर्ने मेरो लक्ष्य छ । पार्टीलाई सिद्धान्त र विधान अनुरुप अघि बढाउने, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने र जनतालाई पार्टीका गतिविधिले नजीक र उनीहरुको प्यारो पार्टी बनाउने मेरो ध्येय छ । लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा क्रियाशीलता, हरेक व्यक्तिको दुःख सुुखको साथी हुने प्रयत्न गरेको, तीन कार्यकाल दमक उद्योग वाणिज्य संघको अध्यक्ष भएर सफलतापूर्वक जिम्मेवारी बहन गरेको कुराले नै मेरो जित सुनिश्चित छ भन्ने मलाई लागेको छ ।
५) मुलत ः दमक नगरपालिकामा पार्टीको बलियो उपस्थिति सुनिश्चित गर्न जनताको मन जित्ने गरीका कार्यहरु गरिनेछ । त्यसपछि आगामी निर्वाचनहरुमा नेपाली काँग्रेसलाई जिताउन सकेसम्मका कार्यहरु गर्ने र पार्टीलाई जनतामाझ लोकप्रिय बनाई उनीहरुका निम्ति काम गर्नेछु ।

          अब्बल दर्जाको पार्टी बनाउन मेरो उम्मेदवारी – पर्शुराम रिजाल 


१) नेपाली काँग्रेसलाई विधान अनुसार संचालन गर्न, पार्टीको संगठन सुदृढीकरण गर्न, पार्टीभित्र देखिएका विकृति र विसंगतिको अन्त्य गर्न, नेता–कार्यकर्ताहरुका बीचमा एकताको भावना विकास गर्न र स्थानीयदेखि केन्द्रसम्मको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन मेरो उम्मेदवारी रहेको छ ।

२) लोकतान्त्रिक पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा हुनुलाई स्वाभाविक रुपमा लिनुपर्छ । तर महाधिवेशन पछि त्यसको प्रभाव रहनु हुन्न, रह्यो भने त्यो दुःखद हुन्छ । त्यसलाई ध्यानमा राखेर स्वाभाविक र स्वच्छ प्रतिष्पर्धा गरियो भने त्यसले विवादित विषयहरुलाई कम गर्छ भन्ने मलाई लाग्छ ।
३) काँग्रेसलाई सांगठनिक रुपमा दमकमा अब्बल दर्जाको पार्टी बनाउने, अभियानका रुपमा वडा तहका समितिहरुलाई बढी क्रियाशील बनाई नेता र कार्यकर्ता बीचमा विश्वासको वातावरण निर्माण गरी अग्रजहरुको सम्मान गर्दै युवाहरुको भरोसा र विषय विज्ञहरुको अनुभवलाई सामूहिक नेतृत्वको अवधारणामा विना भेदभाव संगठन निर्माण गर्न भन्दै सभापतिसहितको समूहका लागि मत मागिरहेका छौं ।
४) म १३ औं महाधिवेशनको पनि उपविजेता हुँ, नगरभित्रका अग्रज, युवा मतदाता, पेशा, व्यवसायी तथा शुभेच्छुकहरुको काँग्रेसलाई एउटा वैचारिक पार्टीका रुपमा विकास गरौं, स्वास्थ्य शिक्षा जस्ता कुरामा नगरवासीलाई सेवा पु¥याउने एक सेवकको रुपमा नगर सभापति भएर काम गर्न साथ सहयोग र सबैको आशिर्वाद रहेको छ भन्ने मेरो विश्वास छ ।
५) स्थानीय तहमा पार्टी संगठनलाई सवलीकरण गरिनेछ । वडा कार्यालयहरुको समुचित व्यवस्थापन गरिनेछ । वडा समितिका गतिविधिहरुलाई मजबुत र क्रियाशील बनाइनेछ । प्रशिक्षण लगायतको कार्यक्रमहरु संचालन गरिनेछ । योग्यता र क्षमताका आधारमा कार्यकर्ताहरुलाई जिम्मेवारी प्रदान गरिनेछ । पार्टीलाई आगामी स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचनमा पहिलो पार्टीका रुपमा विजयी बनाइनेछ ।

 

Author

You may also like