देश–समाज राष्ट्रिय समाचार स्थानीय

सुशिला कार्की नेतृत्वका तीन मन्त्रीबाट पदभार ग्रहण, पहिलो निर्णय के के गरे ?

दमक/ सुशीला कार्की नेतृत्वको सरकारको विषय विज्ञका रुपमा छनौटमा परेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् । उनीहरूले पदभार ग्रहण समेत गरेका छन् ।
अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्यालले शपथ लिएका हुन ।
खनाल पूर्व अर्थसचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल वरिष्ठ अधिवक्ता हुन् । बाँकी सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले तत्कालका लागि आफ्नै नेतृत्वमा राखेकी छन् ।
वरियतामा नवनियुक्त मन्त्रीहरूमा
अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ । पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ रहेका छन् । तेस्रोमा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् ।
प्रधानमन्त्री कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गरेकी थिइन् । तीनै जना मन्त्रीले सोमबार शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । आजै गृहमन्त्रीको शपथ लिएका उनले केहि बेरअघि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । उनले पदभार सम्हालेलगत्तै तीन निर्णय गरेका छन् । जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ ।
कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ । यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।
यसैगरी, अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै चुनावका लागि बजेट व्यवस्थापनका निम्ति टुक्रे आयोजना खारेज र तयार नभएका आयोजना रोक्का गर्ने निर्णय गरेका छन् । यसैगरी, खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने र स्वकीय सचिवालय पनि नराख्ने बताएका छन् । यद्यपि गाडीमा हिंडदा फोनको प्रयोग गर्नुपर्ने भएकोले चालक चाहिँ राख्ने बताए । पदभार ग्रहण गर्दै मन्त्री खनालले भने, ‘मलाई माननीय नभन्नुहोला’ अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’
स्रोतका अनुसार अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो। तर मन्त्री खनालले त्यो पनि मानेका थिएनन् ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन् ।
यस्तै नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो । भत्ता नलिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयको पदभार सम्हाल्दै घिसिङले आफ्नो तलब–भत्ता सहिद परिवारको नामको कोषमा दिने निर्णय गरेका हुन्। उनले सुरक्षाको सुविधा भने लिनेछन् ।यस्तै, सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सहयोग संकलन गर्न विशेष कोष स्थापना गरिने मन्त्री घिसिङले बताए। आफू १८ घण्टा काम गर्ने घोषणा गर्दै उनले कर्मचारीलाई पनि १८ घन्टा खटिएर काम गर्न आग्रह गरेका छन् ।
गृह मन्त्रालय सारियो
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय सञ्चालन हुँदै आएको भवनमा गृह मन्त्रालय सञ्चालन हुने भएको छ । यसअघि गृहमन्त्रालय सञ्चालन हुँदै आएको भवन भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालय परराष्ट्र मन्त्रालय रहेको भवनमा सारिएको हो ।
परराष्ट्र मन्त्रालय भने पहिलाकै भवनमा यथावत सञ्चालन हुँदैछ । परराष्ट्र मन्त्रालयको एउटा शाखा सञ्चालन हुँदै आएको भवनमा अब गृह मन्त्रालय सञ्चालन हुन लागेको हो । अहिले पुरानो गृह मन्त्रालयबाट आगलागीबाट जोगिएका सरसामान धमाधम नयाँ ठाउँमा सार्ने काम भइरहेको छ । अधिकारकर्मी समेत रहेका अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । उनलाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Author

You may also like