देश–समाज फिल्मी खबर स्थानीय

सडक मान्छेको सपनाको कथा “माग्ने राजा”

सुन्दै अनौठो लाग्ने, चित्र – बिचित्रको कथा, नयाँ पुराना कलाकारहरुको बेजोड प्रस्तुति समेटिएका नेपाली चलचित्र नेपालमा कति बने कति । कथा बेग्लै खालको, कुनैकुनै चलचित्र त बाहिर नाम राम्रो भएनी भित्रभित्रै न कथा छ, न कुनै उदेश्य छ, न कुनै स्पष्ट कार्यदिशा अनुसारको कथा । चलचित्र जे जस्तो होस तर नेपाली गीत भने उरन्ठेउला छन, गीतको भित्री मजबुन राम्रा लाग्ने खालका छन, यसैले इज्जत र गरिमा थामेको छ, हाम्रा नेपाली कथानक चलचित्र । पुराना चलचित्र हेरौ, के घर के डेरा, माइतीघर, आमा, देउता, कुसुमेरुमाल, कसम, युगदेखि युगसम्म, लाहुरे, पिरती लगायत अनेकन चलचित्रहरु बने । सबै चलचित्रहरु आआफ्नै कथा र ब्यथा थिए । कति हास्यब्यङग्यात्मक थिए भने कति सुखद, प्रेमिल र बिछोडका पीडाहरु बोकेका चलचित्र हेरियो । यद्यपि थोरै मात्र चलचित्र बने ती प्रायसः राम्रो कथानक लिएर आए त्यसका पात्र झनै अभिनयमा तिख्खरपना छाएका कलाकारहरुका कारणले चलचित्र सुपरहिट बने । पहिलेको दाजोमा अहिले पहिलेका जस्ता कथानक मिलेका कथाहरु लेख्ने कथाकार कोहिकोहि मात्र भेटिन्छन । उनीहरूले लेखेका कथाहरूपनि कथाबस्तु राम्ररी मिलेको देखिन्न न टुप्पो न फेद कतै नमिलेका कारण धेरै चलचित्र हेर्ने दर्शकहरु अचेल डिम्याक्स र सिनेमा हलमा खचाखच भरिएको देखिन्न । भरिउन पनि कसरी कथाबस्तुले मागे अनुरुपका खारिएका कलाकार देखिन्न, बिचबिचमा हसायो यतिमात्र छ, कथाबस्तु । कुनकुन चलचित्रमा त गीतको बोलै राम्रा छैनन, गीतकारले रचेका गीतका बोलहरु यतिसम्म पाइयो कि न गीतको सार छ न शब्दावलीमा मिठासपन । स्वादिलो र गुनिलो शब्दहरुको संगममा गीतको रचना गरेको देखिन्न । लोकभाक, लोक सङगीतका स्वरहरु जनतामाझ सुन्न सकिने गीत बिरलै भेटिन्छन । कति चलचित्र त यस्तोसम्म देखियो न गीत, न कथा, कोरियोग्राफर, म मेकअप मेन केहीको तालमेल नमिलेरै फिल्महरु चल्न सकेनन । मुनाफा कमाउन सकेनन । यहाँ यो कलाकर्मीले यसो भन्दा कसैलाई नकारात्मक टिप्पणी गरेजस्तो होला तर तीतो सत्य यही हो । कुनैदिन मोफसलमा बसेर सडक नाटक, गीतिनाटक, छोटो सिरियल, टेलिचलचित्रमा कथाबस्तु अनुसार अभिनय त गरियो सो अनुसार अहिले बनेका नयाँ धेरैजसो चलचित्रले बजारमा बजार लिन नसकेको देखिन्छ । यसको प्रमुख कारण के हो त ? त्यो सबै राजनीतिक कारणले गर्दा हो । आज राजनीति लहडमा लागेर खानै त्याग्ने कलाकारहरुको भीड हामी चलचित्र बिकास बोर्डभित्र देख्छौ, हिजो सबै कलाकार स्वतन्त्र थिए, कसैको चम्चागिरी, दादागिरी चल्दैनथ्यो, अहिले दलको झोले भएका छन कलाकारहरु किन होला ? जवाफ आउँछ कतैबाट ? कतैबाट आउदैन, आजका सबै कलाकार राजनीतिको सिढी चढ्दैछन, कुन स्थानमा पुगेर अवतरण हुनुपर्ने हो स्वयं डुङ्गा चलाउनेलाइ समेत थाहा नभएको अवस्था छ । नेताहरुको अघिपछि बेफ्वाकमा कुदेर न पाउनु केही छ, घरको अवस्था कमजोर हुँदासम्म एउटा ससानो जागिर खाएर जीवन चलाउ भन्ने सोच छैन अहिलेका युवायुवतीको । हामी सामाजिक संजालमा आफ्ना नेताहरुले गरेको कर्म कस्ता छन त्यो सम्म नबुझि जे पायो त्यही हुँदै नभएको कुराहरु पोष्ट गरेर आफ्ना नेताहरूको कुकर्मलाई समेत ढाकछोप गर्ने परिपाटी बढ्दै गएको छ ।
यी सबै यथार्थ बिषयबस्तुलाई भित्री कुरा बुझेर हिजोआज यसैलाई कथाबस्तु बनाएर सचेत गर्दासम्म मानिसहरु शुद्धीकरण हुन सकेका छैनन । कहाँ ढाट्ने, कहाँ छल्ने, कहाँ भ्रष्टाचारको अखडा बनाएर अरुलाइ फसाउने अनि आफु चोखो बन्ने प्रवृत्ति आजको आधुनिक मानवमा जेलिदैगएको छ । हो यस्तै– यस्तै अर्को कथाको छोटो कथानक कहानी “माग्ने राजा” का कथाका दृश्य अनि गीत संगीतका आवाजहरु प्रेषित गर्दैछु । एउटा गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथाबस्तु निर्माण भएको चलचित्रको नाम हो “माग्ने राजा“ । आर.आर. फिल्मले वितरण गरेको र सामीप्य राज तिमल्सेनाको कथा, पटकथा र संवाद रहेको यो चलचित्रमा विल्सन बिक्रम राई, शिशिर वाङदेल शारदा गिरी, राधिका कडेल, मिस पबि लगायतको अभिनय रहेको छ भने अभिनेता आर्यन सिग्देलको पनि यसमा विशेष भूमिका रहेको छ । यस चलचित्रमा टेलिभिजन प्रस्तोता तथा गायिका साथै पूर्व राष्टिूय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रोलसम्म दिएर एउटा अर्को नयाँ भूमिका प्रस्तुत गरेको छ । देशमा कानुनी शासन कस्तो चलिरहेको छ ? अन्याय गर्नेहरुले न्याय कसरी प्राप्त गर्छन र उनीहरूकै जीत जहाँपनि हुन्छ र सबै राजैराजा बन्ने परिपाटीले गर्दा प्रत्येक क्षेत्र तहसनहस बन्दै गएको छ । एउटा सर्वसाधारण जनता सानो काम लिएर सम्बन्धित निकायमा जादासम्म कहिल्यै काम छिटोछरितो तरिकाले काम हुन्न । थीतिमाथि बेथिति बढ्दो छ । यहाँ राम्रो मान्छे खोजेर सम्म पाउन सक्ने अवस्था छैन । चाकडी र चाप्लुसी जसले गर्छ उसैले मानसम्मान पाएका छन, यहाँ । लोकतान्त्रिक गणतन्त्र त नेपालमा आयो तर त्यसको फल खाने दलाल र बिचौलिया बर्गहरु मात्र भए । यस चलचित्रमा माग्ने बुढा मात्रै “माग्ने राजा” को वृतान्त कथाका पात्र भए, कलाकार केदार घिमिरे । करिब दुई दशकदेखि टिभी र नेपाली चलचित्रमा माग्ने बुढा पात्रको रुपमा परिचित थिए, उनको कलाकौशल चुस्त दुरुस्त भएकै कारण यो चलचित्रको कथाबस्तु उनैको उपनामका आधारमा निर्देशक÷कथाकार÷ निर्माताहरुले लगानी गरेरै बनाए । यो चलचित्रमा अभिनेता तथा हास्यकलाकार घिमिरे “माग्ने राजा” चलचित्रमा एउटा सामान्य ब्यक्तिले आफुलाइ राजा ठानेपछि आउने घटना क्रमलाई यहाँ बिचबिचमा गीत र हाँस्यास्पद डाइलगले सुगन्ध थपिदिएको छ । मनोरञ्जन सङ्गै गहन बिषय उठान भएको छ ।
सन्देशमुलक कथा र मनोरञ्जनात्मक शैलीमा केही सिकाउने जमर्को घिमिरेले गरेका छन । शुटिङ्ग अवधिभर थकान नलागि आफ्नो महत्वपूर्ण अभिनय प्रस्तुत गर्ने घिमिरे यो अर्थमा उनी अब्बल दर्जाका उत्कृष्ट कलाकारको रुपमा हामी दर्शकले उनलाई दर्ज गरेका छौं । हामी भन्न चाहिँ भन्छौ कि अभिनय गर्न गाह्रो हुन्न तर उनको जस्तो अभिनय गर्न यो चलचित्रमा धेरै कठिनाइ र अप्ठ्यारो पनि छ । थकान मेट्ने ठाउँनै देखिन्न उनको भूमिका हेर्दा । अभिनेत्री वर्षा शिवाकोटीले कथा बस्तु र निर्माण समूहका कारण आफूले चलचित्र निर्देशक ऋषि लामिछानेले जीवनकालमा हरेक मानिसले भोग्नुपरेको हासो र रोदनको सम्मिश्रण “माग्ने राजा” भएको अन्तर्वार्ता विभिन्न संचार माध्यममा दिएका छ्न । एउटा लोभलाग्दो कुरा त यो चलचित्रले करिब ५ दिनमा ४ करोड रुपैयाँको हाराहारीमा ग्रस कलेक्सन गरेको बताएको छ । फिल्महलबाट बाहिर निस्केर क्रीया प्रतिक्रिया दिनेहरुमा धेरैजसो दर्शकहरु चलचित्र राम्रो र उत्कृष्ट रहेको उत्तर दिएका छन । यो चलचित्रमा बालकदेखि बृद्धबनिताहरुको मुखैमा रसाउने यो गीतले धेरै ट्रेण्ड पाएको छ । जुन गीत केदार घिमिरे र बाबुल गिरीले गाएका थिए–
जिन्दगी चल्दैछ ऐशमा
म त सुतेर उठेको पैसामा
छैन मनमा चोट सुकिलो छ कोट
मेरो घरको करेसामा पैसाको बोट
राजाको गद्दी म हान्दिन्छु
म त पैसाको बिटाले हान्दिन्छु ……………
बोलको गीतले यो चलचित्रको गरिमानै उचो राखिदिएको छ । अन्त्यमा यो चलचित्रका निर्माता ÷ निर्देशक ÷ कथा ÷ पटकथाकार अनि सम्पूर्ण कलाकारहरुलाइ आफूपनि एक कलाकर्मीको नाताले पूर्ण सफलताको शुभकामना सहित हाँस्यकलाकार भाइ केदार घिमिरेज्यूलाई हार्दिक – हार्दिक बधाई दिन चाहान्छु । जय सिनेमा ।

Author

You may also like