दमक/ कोशी र मधेश प्रदेशलाई मुलुकको अन्नभण्डार मानिन्छ । कुल धान उत्पादनमा सबैभन्दा धेरै हिस्सा हुने यी दुवै प्रदेश धान रोपाइँको प्रमुख महिना असार र साउन पहिलो सातासम्म सुक्खा छन् ।
देशकै अन्न भण्डारका रूपमा परिचित कोशी र मधेस प्रदेश जलवायु परिवर्तनको भीषण मारमा परेको छ । सतह सिँचाइको संकट, वर्षाचक्रको अस्थिरता, भूमिगत जलको तीव्र गिरावट र देशको सिँचाइ सुविधामा लापरवाहीले गर्दा यो क्षेत्र सुक्खाग्रस्तताको गम्भीर अवस्थामा पुगेको छ ।
कृषि मन्त्रालयका अनुसार मुलुकभरको धान रोपाइँ ७२.१४ प्रतिशत पुगेको छ । तर, मधेश र कोशी प्रदेशमा यो वर्ष सबैभन्दा कम रोपाइँ भएको छ । बाली विकास तथा कृषि जैविक विविधता केन्द्रको तथ्यांकअनुसार मधेश प्रदेशमा अहिलेसम्म ४६.८३ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।
यो गत वर्षको तुलनामा आधा कम हो । गत वर्ष यो समयमा मधेशमा धानखेती हुने जमिनको ८०.६ प्रतिशत रोपाइँ भएको थियो ।
अन्नको भण्डार मानिने कोशी प्रदेशमा ६१.७९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यो बेला ८२.७ प्रतिशत धान रोपाइँ भएको थियो । गतभन्दा यसपटक २०.९१ प्रतिशत धान रोपाइँ कम भएको हो । कोशी प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ ।
यसपटक धान रोपाइँ गर्ने समयमा यी प्रदेशमा पानी नपरेपछि राष्ट्रिय स्तरमा धान उत्पादन नै घट्ने सम्भावना बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा कुल ५७ लाख २४ हजार २३४ टन धान उत्पादन हुँदा मधेशको हिस्सा १३ लाख ३७ हजार ६७२ टन थियो भने कोशीमा १४ लाख ३५ हजार ५७८ टन धान फलेको थियो ।
यस्तै, अर्को अन्नभण्डार मानिने मधेश प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने गरेको छ । त्यसमध्ये साउन पहिलो हप्ता वित्नलाग्दा सम्म १ लाख ७४ हजार ५०८ हेक्टरमा रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३३.७७ प्रतिशतले कम हो ।
कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले यसपटक मधेशमा पानी नपरेर सुक्खा हुँदा धान रोपाइँमा आएको कमीले राष्ट्रिय कुल उत्पादन घट्ने अनुमान गरिएको बताए । ‘मधेश प्रदेशले साउन चार गतेसम्मको धान रोपाइँको तथ्यांक उपलब्ध गराएको छ । यसअनुसार गत वर्षभन्दा यसपटक बर्खे धान उत्पादनमा कमी आउने अनुमान मन्त्रालयले गरेको छ । उत्पादनमा कति कमी आउँछ अहिले नै भन्न सकिँदैन । तर, मुख्य धान उत्पादन हुने क्षेत्र मधेश र कोशी प्रदेशमा रोपाइँ नै कम हुँदा उत्पादन घट्छ,’ उनले भने ।
धान उत्पादन घट्दा मुलुकको समग्र अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पर्ने उनको भनाइ छ । उनले भने, ‘धान उत्पादनमा कमी आउँदा किसान परिवारको आयस्रोत घट्छ । यसले हाम्रो खाद्य सुरक्षामा पनि प्रत्यक्ष असर पर्छ,’ उनले भने । साउन १५ सम्मको धान रोपाइँको विवरणपछि उत्पादनबारे भन्न सकिने उनले बताए । ‘साउन चारदेखि केही पानी पर्न थालेको भन्ने विवरण छ । निरन्तर पानी पर्दै गयो भने धान रोपाइँ बढ्छ होला । तर, रोपाइँ बढे पनि ढिलो रोपेको धानबाट उत्पादन कम हुने हुँदा गत वर्षभन्दा कम नै उत्पादन हुने अनुमान मन्त्रालयले गरेको छ,’ उनले भने । बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका अनुसार मुलुकभर १३ लाख ३८ हजार ७३२ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । साउन चार गतेसम्म ७२.१४ प्रतिशत रोपाइँ भएको छ । क्षेत्रफलका आधारमा भन्दा देशभर ९ लाख ९८ हजार २२८ हेक्टरमा रोपाइँ भएको छ ।
गत वर्ष यही अवधिमा ८४.६ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष गत वर्षको तुलनामा १२.४६ प्रतिशत कम रोपाइँ भएको हो । धेरै खेतीयोग्य जमिनमा आकाशे पानीको भरमा रोपाइँ गर्नुगर्ने बाध्यताका कारण धान रोपाइँ समग्रमै कम भएको तथ्यांक अधिकृत रेग्मीले बताए । केन्द्रको तथ्यांकअनुसार साउन चारसम्ममा सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा सुदूरपश्चिममा ९६.३ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख ७६ हजार हेक्टरमा रोपाइँ हुन्छ । जसमध्ये १ लाख ७० हजारमा रोपाइँ भइसकेको छ । कर्णाली प्रदेशमा ८७.९३ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४० हजार ८८४ हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये ३५ हजार ९४८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यसैगरी लुम्बिनीमा ८७.९३ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा ८३.४ प्रतिशत धान रोपाइँ भएको थियो । यो प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ६६ हजार ३६९ हेक्टरमा रोपाइँ सकिएको छ ।
यसैगरी गण्डकीमा ९७.२८ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये ७४ हजार ६६४ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा ८४.३ प्रतिशत रोपाइँ सकिएको थियो । बागमतीमा ८७.१९ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये १ लाख ५ हजार १०३ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ८५.४ प्रतिशत रोपाइँ भएको थियो ।

Author

You may also like