दमक नगरपालिकाले ल्याएका योजना कार्यान्वयनमा फितलो देखिएको छ । खास गरेर सहर सौन्दर्यकरण र व्यवस्थापनको पक्षमा गरिएका योजनाले प्रभावकारिता देखाउन सकिरहेको छैन । अर्कोतिर चोकमै मोटरसाइकल चढाएर पार्किङ गर्नेदेखि विभिन्न व्यापारीहरुले व्यापार गर्ने थलोमा परिणत हुन थालिसकेको छ । दिउँसोको समयमा यात्रु, बृद्धबृद्धाहरु बसेर आराम साथ भलाकुसारी गर्न बनाइएको चोक पछिल्लो समयमा फुटपाथ व्यापारिक प्रयोजनमा बढी प्रयोग हुन थालेको गुनासाहरु पनि आउन थालेका छन् । माथि झुण्ड्याइएका अस्तव्यस्त तारहरुको समस्या त छँदैछ त्यसमाथि ट्याक्सीहरुको अवस्थित पार्किङले अझै शोभा दिइरहेको छैन ।
बजारमा गुड्ने सवारी साधन व्यवस्थापन पनि सहरको सौन्दर्यकरणको एउटा महत्वपूर्ण पाटो हो । एक वर्ष अगाडि नै दमक चोकबाट अव्यवस्थित ट्याक्सीहरु हटाउने र चोकलाई व्यवस्थित र आकर्षक देखाउने सन्दर्भमा नगरपालिका समितिबाटै निर्णय गरी कार्यान्वयनमा ल्याएको योजना यतिखेर फेरी चर्चामा छ । त्यसको कारण हो( दमक नगरपालिकाले वडा नं. ७ स्थित पशुहाटलाई ट्याक्सी पार्किङ स्थलका रुपमा स्थानान्तरण गरेको थियो । सबै ट्याक्सीहरु सोही स्थानमा पार्किङ गर्नुपर्ने नियम पनि बनायो तर त्यो कार्यान्वयन हुन नसक्दा अहिले फेरी अधिकांश ट्याक्सीहरु चोकमा आएर अव्यवस्थित रुपमा थुप्रिने र कोलाहल र अस्तव्यस्त बनाउने काम गरिरहेका छन् ।
नगरपालिकाले चोकबाट ट्याक्सीहरु स्थानान्तरण गरेको एक पुगेको अवसरमा हलुका सवारी श्रमिक संस्थाले एक कार्यक्रम समेत आयोजना गरेर यो विषयलाई पुनः उजागर गरेको छ । उक्त क्षेत्रको सरसफाईसहित ट्याक्सी व्यवस्थापनका विषय चासो र चिन्ताका साथ आयोजित सो कार्यक्रममा नगरप्रमुख रामकुमार थापा निकै कडा रुपमा प्रस्तुत भएका थिए । तर त्यसरी कार्यक्रममा कडा रुपमा प्रस्तुत हुनुभन्दा कार्यापालिकाको योजना कार्यान्वयनमा असफल बनाउन खोज्ने वा नियम र कानुनको उपहास गर्ने जोकोहीलाई कानुनी प्रक्रियाकै आधारमा कडाई गरेर योजना कार्यन्वयनमा लैजादा राम्रो हुने सुझाव पनि आएका छन् । नगरप्रमुखले दोहोरो चरित्र देखाउनेको संख्या दमकमा कमी नभएको भन्दै ट्याक्सी व्यवस्थापनको विषयलाई जित र हारको रुपमा नहेर्न आग्रह समेत गरेका थिए ।
स्थानीय सरकारले ल्याएका कानुन र नियमहरु कार्यान्वयन गर्ने र गराउने सन्दर्भमा स्थानीय सरकार नै चुकेको र स्थानीय सरकारले तदारुकता देखाए छिनभरमै समस्या समाधान हुने वक्ताहरुले औंल्याएका थिए ।
नगरमा गुड्ने ट्याक्सीहरु सम्पूर्ण रेकर्ड नगरपालिकामा रहने र कुन ट्याक्सीले कसरी काम गरिरहेका छन् भन्ने हेर्न टूाफिकको सहयोगमा दमक नगरपालिकाले रिपोर्ट लिन सक्ने देखिन्छ । स्थानीय सरकारले स्थानान्तरण गरेका ट्याक्सी सम्बन्धीत ठाउँमा नगई अन्यत्र गएका छन भने तिनीहरुलाई कानुनी रुपमा अझ कडाई गरिनुपर्ने देखिन्छ । त्यतिले पनि भएन भने उनीहरुलाई कारवाही गरेर जरिवाना प्रणाली ल्याउन सकिन्छ । जरिवानाले नै धेरैलाई अनुशासित पनि बनाउने गरेको छ । एक पटक सबैलाई एकै थलोमा भेला गरेर सुझाउने र नमाने कारवाहीका प्रक्रियाहरु अगाडि बढाएर नगरपालिकाका निर्णय कार्यान्वयन र सहरको सौन्दर्यकरणमा बल पुर्याउन नगरपालिका कामयावी बन्न सक्नुपर्दछ ।