देश–समाज राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरमा भए गरेका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

समाज सुधार प्रतिष्ठानमा पुनः विजय बराल
दमक–२ स्थित समाज सुधार प्रतिष्ठानको २२ औं साधारणसभा पुनः विजय बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
११ सदस्यीय समितिको उपाध्यक्षमा अन्जना सिग्देल, सचिवमा बसन्त काफ्ले, सहसचिवमा दामोदर सिग्देल, कोषाध्यक्षमा नारायणप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्। संस्था दर्ता भएपछि निरन्तर अध्यक्ष भई निरन्तर काम गर्दै आएका छन् । शुक्रबार सम्पन्न साधारणसभाका प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापा रहेका थिए ।

सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताएका छन् । शुक्रवार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन् । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको बताए ।

धवलशमशेरलाई छोड्ने तयारी
हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरालाई स्वास्थ्य समस्या देखाउँदै छाड्ने तयारी भएको छ । उनलाई उपचारका लागि छाड्ने तयारी भइरहेको स्रोतले जनाएको छ । जबरालाई उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको हो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।


रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले दश महिनादेखि तलब पाएनन्

जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् । उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । “समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन ”, उनले भने ।

गौरादह शिवालयमा हरिकृतन अष्टजाम
गौरादह नगरपालिका वडा नं –७ महाराजथान शिवालय मन्दिरमा श्री श्री १०८ अखण्ड हरिकृतन अष्टजाम लगाइएको छ । अष्टजाम आयोजक समिति गौरादह –७ को आयोजनामा संचालन गरिएको अष्टजाम ६० घण्टामा सम्म निरन्तर संचालन गरिने आयोजक समितिका संयोजक धन प्रसाद राजवंशीले जानकारी गराएका छन । बैशाख ४ गते साँझमा सुरु गरिएको अष्टजाम आइतबार सम्पन्न हुने संयोजक राजवंशीले बताएका छन । अष्टजाम संचालन गरिएको स्थानमा शिवालय मन्दिर रहेकाले अष्जाम लगाइएको पनि संयोजक राजवंशीले बताएका छन । अष्टजाम माहायज्ञमा मन्दिरको वरिपरि शिव पार्वती, सरस्वती, गणेश, हनुमान, दुर्गा भवानी, सरस्वती, लक्ष्मी लगायतका मुर्ति राखेर सजाइएको छ ।

यात्रुवाहक गाडी दुर्घटना
दाङको लमही कोइलाबास सडकअन्तर्गत गढवा गाउँपालिका ५ चिसापानीमा शुक्रबार दिउँसो भारतीय गाडी दुर्घटना भएको छ । भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेहरू सबै भारतीय रहेका प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ ।

भट्टविरुद्ध सर्वोच्चमा मुद्दा
दुई दलले गर्भनरमा नियुक्तिका लागि समझदारी गरेपछि राजीनामा दिएका नेपाल राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टका विरुद्धमा सर्वोच्चमा रिट परेको छ । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रवार भट्टको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले दलहरूबिचको सहमतिका आधारमा ऐन विपरीत दूषित प्रक्रिया अपनाइएको आरोप लगाएका छन् । यसअघि, २ वैशाखमा उप्रेती र थापाले नै दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेका व्यक्तिहरूलाई नियुक्ति प्रक्रियामा सहभागी नगराउन सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

हेटौडा सिमेन्ट उद्योग पुनः सञ्चालन
हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए । नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे ।
यही वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको हल्ला निराधार भएको र त्यस्तो कुनै निर्णय नभएको जानकारी राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा स्थगित भएको सूचना बोर्डको लेटरहेडमा शुक्रबार जारी जारी गर्दै अर्को सुचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको जनाइएको थियो । बोर्ड सो सूचना भ्रामक भएको र सबै परीक्षाको तयारीमा लाग्न आग्रह समेत गरेको छ ।

नेकपा एस मोरङद्वारा शिक्षक आन्दोलनमा समर्थन
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मोरङ जिल्ला कमिटीले सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनमा समर्थन जनाएको छ । जिल्ला कमिटीका अध्यक्ष चन्द्रविर राईले एक विज्ञप्ती जारी गर्दै आन्दोलनको समर्थन गरेका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षकहरूको न्यायपूर्ण मागलाई उपेक्षा गरेको र शिक्षकहरूको मानमर्दन गरेको नेकपा एसले आरोप लगाएको छ । नेकपा एसले सरकारको रवैयाप्रति गम्भीर आपत्ति जनाइएको छ । साथै, शिक्षकहरूको आत्मसम्मान र शिक्षाक्षेत्रको आमूल परिवर्तनका लागि आन्दोलनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ ।

सिइयो रेमिट्यान्स पार्किङ रकम हिनामिनामा दोषी
विराटनगर महानगरपालिका–७ मेनरोडस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा रेमिट्यान्सतर्फको ‘पार्किङ एकाउण्ट’ बाट १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ हिनामिना गरेको घटनामा उक्त बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी दोषी ठहर भएका छन् । उच्च अदालत विराटनगरको बाणिज्य इजलासले बिहीबार सुवेदीलाई उक्त कसुरमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ५ करोड बढी बिगो असुल गर्ने फैसला गरेको हो ।

भुटानीलाई डिपोट नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले हाल प्रहरी थुनामा रहेका चार जना भुटानी शरणार्थीलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन र त्यसबेलासम्म डिपोर्ट नगर्न अन्तरिम आदेश दिएको छ । २० दिनदेखि झापा काँकडभिट्टा प्रहरीको थुनामा रहेका भुटानी शरणार्थीहरूलाई थुनामुक्त गर्न माग गर्दै शरणार्थी नारायणकुमार सुवेदीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट बुधबार दायर गरेका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

लागुऔषसहित विभिन्न स्थानबाट पक्राउ
फरक फरक स्थानबाट लागूऔषधसहित पाँचथरका दुई जनालाई पक्राउ गरिएको छ । शुक्रबार सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले शिकारी कुकुरको सहयोगमा भारतवाट आउँदै गरेको मे ९ प ३४६३ नं.को मोटरसाइकल चेकजाँचका क्रममा पाँचथर कुम्मायक गाउँपालिका –३ बस्ने २९ वर्षीय अइन्द्रविक्रम खड्कालाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई ल्याएको २७ ग्राम १३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । यता शुक्रबारै कचनकवल गाउँपालिका वडा न. ६ बनियानी चोकमा ४९ ग्राम ५९० मिलिग्राम ब्राउनसुगरसहित कचनकवल –५ बस्ने २८ वर्षीय कासिम मिया पक्राउ परेका छन् । त्यसैगरी, सुनसरी धरान उप–महानगरपालिका–११ स्थितबाट अस्थायी प्रहरी चौकी रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउन सुगर ५३० मिलिग्राम र प्रतिबन्धित औषधी ट्रामोल–४० क्याप्सुल, कोलिवन–३० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

Author

You may also like