
दमक/ नेपाल आदिवासी जनजाति महासंघ, दमक नगर समन्वय परिषद्को दोस्रो संस्करणको महोत्सव बिहीबारदेखि दमकमा सुरु भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता आदिवासी जनजाति सांस्कृतिक महोत्सव स्थल दमक–७ स्थित रतुवा खोलाको किनारमा सो महोत्सवको उद्घाटन गरिएको छ ।

दमक नगरपालिका नगरप्रमुख रामकुमार थापाको विशेष आतिथ्यता तथा जातिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता सो कार्यक्रममा रहेको थियो । दमक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भिम प्रसाद पौडेल, दमक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टेक बाहादुर थापा, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, दमक क्षेत्र न ५ का प्रदेशसभा सदस्य होम बाहादुर थापा लगायत विभिन्न जातजातिका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले यस महोत्सवमा देखाईका सस्कृतिक झलक तथा पोषाक, रितिरिवाज भोली आउने पीढिले देख्ने र त्यसैको अनुसरण गर्ने भएकोले महोत्सव महत्वपूर्ण रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले– संस्कार र संस्कृतिमा धनिरहेको दमकमा एकै साथ सबै जात जातीका संस्कार र संस्कृति देखाउने गरि यो खाले बृहत कार्यक्रम आयोजना हुनु नगरकै लागी गौरवको कुरा समेत रहेको उल्लेख गरे ।

महोत्सवको औपचारिक समुद्घाटन पछि बोल्दै कोशी प्रदेशको प्रकृतिक श्रोत तथा पूर्वाधार विकास समिति सभापति होम बहादुर थापाले कोशी प्रदेशको पहिचान नै आदिवासीहरुको संस्कार र सस्कृति रहेकोले यसको सम्वर्धन र प्रवर्धनमा आवश्यकीय सबै सहयोग गर्न आफुहरु तयार रहेको उल्लेख गरे ।
राष्ट्रिय भाषा आयोगले कोशी प्रदेशमा दुईवटा भाषालाई माध्यम भाषाको रुपमा सिफारीस गरेको समेत उनले जानकारी गराए ।
राजवंशी र लिम्बु भाषालाई प्रदेशको माध्यम भाषाको रुपमा प्रयोग गर्न सिफारीस गरेकोले यसलाई कार्वान्वायनमा लैजान सबै पक्ष लाग्नु पर्ने बताए । विभिन्न सांस्कृतिक झाँकी, नृत्य सो कार्यक्रममा प्रस्तुत गरिएका थिए । महोत्सवमा विभिन्न जातिय परिकार, घरहरु तथा अन्य हस्ताकला सीपहरुको समेत प्रदर्शनी गरिएको थियो । सो कार्यक्रममा आकर्षण थप्न हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकाहरुको साङ्गीतिक उत्सव समेत हुने छ । सो महोत्सव वैशाख १ सम्म चल्नेछ ।