सहकारी मर्जिङको प्रतिनिधिमुलक एउटा सन्दर्भ– उत्तरी मोरङको केराबारी गाउँपालिकाका सामाजिक अभियन्ता समेत रहेका विभिन्न संघसंस्थामा आवद्ध रहेका गोकुल बहादुर थापाले त्यहाँको संस्था मर्जिङमा जाँदै गर्दा निकै महत्वपूर्ण सम्वेदनशिल भावुकता जोडिएको विषय उठाएका छन् । २०४८ सालमा साप नेपाल र तत्कालीन मच्छिन्द्र युवा क्लबको साझेदारीमा केराबारी एकीकृत सामुदायिक विकास परियोजनाको प्रस्ताव (प्रपोजल) निर्माण गर्ने क्रममा राष्टिूय पुस्तकालयको प्राङ्गणमा रातको उज्यालो (मइन्टोल) बालेर बस्दा साप नेपालका सहजकर्ता श्रद्धेय दाजुहरु बासुदेव न्यौपाने र रामहरि केसीको उत्प्रेरणामा कार्यक्रममा खाजा खान भनी छुट्याइएको नेरु. १० बाट बचत गरी शुरु गरिएको र पछि २०५० साल तिर सहकारी डिभिजनमा दर्ता भएको (दर्ता नं.१० उल्लेख भएको) उत्तरी मोरङकै पहिलो सहकारी संस्था, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. जुन नेफ्स्कुन मोरङ र मोरङ ऋण तथा बचत संघकै जन्मदाता संस्था मध्येकै एक थियो ।
अब उपरान्त यो संस्था आफ्नो नाम र इतिहास अनि ऐतिहासिक भूमिका समेत नामेट पारेर एकीकरणमा जाने निश्चय भएकोले आजकै दिन आफैं रातो टीका लगाएर संस्थाबाट बिदा भएको घोषणा गर्यौं हामीले । एकातिर एकीकरणको खुशी र अर्कोतिर नामोनिशान अस्तित्व मेटिनुको पिडा र भूपी शेरचनको ‘मैनवत्तीको शिखा’ कविता बीच तादात्म्यता खोजी रहेको छु म । जलेर सकिनुको पिडाले पोल्यो भन्नू कि जलेरै अरुलाई उज्यालो छरियो भनेर रमाउनु भन्दै एकदर्जन बढी सदस्यले सहकारी छोडेको पीडादायी तस्बिर सार्वजनिक भएको छ ।
यो प्रतिनिधिमूलक घटनाले के देखाउँछ भने सरकारको मर्जिङ नीतिले गाउँ गाउँमा खुलेका सहकारीको इतिहास र व्यक्तिको योगदान सहजै मेटाउँदै गईरहेको बुझ्न कठिन पर्दैन ।
विगतमा गाउँ गाउँका सामान्य भन्दा सामान्य महिला तथा पुरुषहरुको पारिवारिक व्यवहारमा सहजीकरणका लागि खोलिएका सहकारीहरु पछिल्लो समयमा मर्जिङ गरिँदै गएका छन् । सरकारले नै वित्तिय क्षेत्रका संस्थाहरु धेरै भए र अनुगमन र नियमनमा कठिनाई मात्र उत्पन्न भएन, छरपस्ष्ट रुपमा आएका वित्तिय संस्थाबाट सर्वसाधारणको बचत तथा लगानी सुरक्षित हुने आधार गुम्न थालेपछि सरकारले नै मर्जिङको नीति ल्याएको हो । यसकारण ५० प्रतिशत सहकारी मर्जिङ गरेर घटाउने ध्याउन्नमा सरकार लागेको देखिन्छ । मर्जिङ सबैतिर हुँदै आएको छ । विद्यालयहरु मर्जिङ भईरहेका छन् । सहकारी मर्जिङ भईरहेका छन् र बैंकहरु मर्जिङ गरिएका छन् ।
हुन पनि हो जसरी एउटा सहकारीले गाउँ गाउँका सानो सानो रकम भेला गरेर ठुलो सहकारी निर्माण गर्न सक्छ भने साना साना सहकारी, विद्यालय वा बैंकहरुलाई एकिकृत गरी ठूलो भोलममा काम गर्न सक्ने क्षमता विकास गर्नु नराम्रो होइन । त्यो स्वागतयोग्य कुरा रहेको खुशी साट्दै गर्दा कतिपय स्थान विशेषमा खोलिएका यस्ता वित्तिय संस्था वा विद्यालयले छुट्टै ऐतिहासिकता पृष्ठभूमि बोकेर उठेका वा उठाइएका हुन्छन र त्यहाँ सञ्चालकहरुको सानो स्वार्थमा अमुल्य योगदान दिएर आएका व्यक्तित्वहरुको मेहनत, लगानशिलता, उदारता मात्र होइन त्यो संस्था उठाउन उनीहरुले दिएको सम्पूर्ण योगदान नै नामेट भईदिँदा कतिपय संस्थाबाट सदस्य वा शेयरसदस्यहरु निस्कने र स्वतन्त्र बस्ने पनि गरेका छन् । यस्ता ऐतिहासिक पृष्ठभूमि बोकेका संस्थाहरुले मर्जिङ अगाडि आम शेयर सदस्य तथा बचतकर्ताहरुलाई एक ठाउँमा भेला गरेर एउटा प्रस्तावको रुपमा अगाडि सार्ने र गहन छलफल गरी निस्केको निस्कर्षको आधारमा मात्र निर्णय गर्दा उपर्युक्त हुनेमा सञ्चालकको एकाधिकारवादी प्रवृत्ति हावी गराउँदै संस्थाको अवस्थाको विषयमा कसैलाई जानकारी नगराई मर्जिङ गरिदिँदा सो संस्थाले आम बचतकर्ता तथा शेयरसदस्यप्रति न्याय गरेको ठहर्दैन । अन्यायपूर्ण व्यवहार हुनु अगाडि संस्थाको अवस्थाको विषयमा सबै जानकारी जानकारी गराएर अब मर्जिङ जाँदै राम्रो हुने कुरा बुझाएर मात्र गरिनु आवश्यक देखिन्छ । हठात र एकाधिकारवादी प्रवृत्तिबाट यस्ता निर्णय गर्दा आम मानिसको चोट पर्नसक्ने तर्फ सञ्चालक नचाखो हुन आवश्यक छ ।