दमक । विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइन बक्यौता उद्यामीले नतिरेसम्म सर्वसाधारणले पनि नतिर्ने चेतावनी दिएका छन् । एक दिन तलमाथि नभईकन सर्वसाधारणको लाइन काटिने तर सरकारको संरक्षणमा अबौंको बक्यौता हुँदा पनि उद्योगीले तिर्न नपर्ने जस्तो विभेद गर्न नहुने भन्दै उपभोक्ताले आन्दोलनको चेतावनीसहित कर्मचारी फर्काउन थालेका छन ।
उनीहरुले दुई–चार सय महसुल पनि बुझाउन नसक्ने विपन्न उपभोक्ताको लाइन काट्ने, तर सम्पन्न उद्योगीहरूलाई भने सरकारकै पहलमा पटक–पटक छुट दिइरहने भेदभावपूर्ण व्यवहार स्वीकार्य नहुने भन्दै ठाउँ–ठाउँका उपभोक्ता विरोधमै उत्रिन थालेका हुन् ।
रूपन्देही, संखुवासभा, सिराहालगायत जिल्लामा स्थानीयले प्राधिकरण कर्मचारीलाई मिटर रिडिङमा अवरोध मात्रै गरेका छैनन्, रूपन्देही देवदहका स्थानीयले त उद्योगीको बक्यौता नउठाएसम्म महसुल नतिर्ने भन्दै सिडिओलाई ज्ञापनपत्र बुझाउनेदेखि राँकेजुलुस निकाल्नेसम्मका विरोध कार्यक्रम गरेका छन् । संखुवासभामा लाइन काट्न गएका कर्मचारीमाथि कुटपिट नै भएको छ । त्यस्तै, सिराहाको माडरमा महसुल नतिर्ने उपभोक्ताको लाइन काट्दा कर्मचारीलाई स्थानीयले ११ घण्टासम्म नियन्त्रणमा लिएका छन् । पुनः लाइन जोडेपछि मात्रै छाडिदिएका छन् ।
उद्योगीलाई बक्यौता असुल नगरी पटक–पटक लाइन जोडिएका घटनामा सर्वसाधारण ग्राहकले खुलेरै असन्तुष्टि जनाउन थालेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उद्योगीसँग अर्बाैँ रुपैयाँ बक्यौता नउठाउने, लाइन काटे पनि जोडिहाल्ने, हामीलाई भने दुःख दिने भन्दै सर्वसाधारण उपभोक्ताले प्रश्न उठाउन थालेका छन्,’ उनले भने, ‘लाइन काट्दा, मिटर रिडिङ गर्न जाँदा हाम्रा कर्मचारीमाथि अभद्र व्यवहार हुन थालेको छ ।’
गत ८ कात्तिकमा विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका कर्मचारी महसुल नतिरेको भन्दै रोहिणी गाउँपालिका बैकुण्ठपुरस्थित एक सर्वसाधारणको घरमा लाइन काट्न गए । तर, ठुला उद्योगलाई वर्षौँदेखि अर्बौँ छुट दिइरहने, दुई–चार सय बक्यौता हुने सर्वसाधारणको घरमा लाइन काट्न आउने भन्दै स्थानीयले अवरोध गरे । पहिले उद्योगीसँग बक्यौता उठाएर आउन भन्दै विरोध गरेपछि प्राधिकरणको टोली लाइन नकाटी फर्कियो । भोलिपल्ट प्रहरी सुरक्षासहित गएर उक्त ग्राहकको घरमा लाइन काटेको थियो ।
उद्योगीसँग बक्यौता असुल नगरेको भन्दै रुपन्देहीकै देवदह नगरपालिका– ७ का स्थानीयले भदौको सुरुका दुई साता प्राधिकरण कर्मचारीलाई आफ्ना घरमा मिटर रिडिङ नै गर्न दिएनन् । स्थानीयले ‘जनपक्षीय संयुक्त संयन्त्र’ नामक एक संगठन नै बनाएर अभियान चलाएका हुन् । उक्त समूहले ३२ साउनमा जिल्ला प्रशासन कार्यालयमा सिडिओलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीको बक्यौता असुल नभएसम्म आफूहरूले पनि महसुल नतिर्ने चेतावनी दिएका थिए ।
१४ साउनमा संखुवासभाको खाँदबारी वितरण केन्द्रका कर्मचारी
स्थानीय एक ग्राहकको घरमा लाइन काट्न गए । बक्यौता नतिरेर कालोसूचीमा परेको अर्को ग्राहकलाई आफ्नोबाट विद्युत् दिएको भन्दै उक्त ग्राहकको घरमा लाइन काट्न कर्मचारी गएका थिए । तर, स्थानीयले उद्योगीसँग बक्यौता उठाउन नसक्ने, तर साना उपभोक्तालाई दुःख दिने भन्दै कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेर लखेटे । अहिले भने ती ग्राहकले बक्यौता तिरिसकेको प्राधिकरणले जनाएको छ ।
सिराहा नगरपालिकाको माडरमा महसुल नतिर्ने ग्राहकको घरमा लाइन काट्ने सिराहा वितरण केन्द्रका कर्मचारीलाई १६ साउनमा स्थानीयले नियन्त्रणमा लिए । ठुला उद्योगले बक्यौता नतिरे पनि लाइन जोडिदिने, तर सर्वसाधारणलाई पेल्ने भन्दै उनीहरू आक्रोशित बने । बिहान १० बजेतिर नियन्त्रणमा राखिएका कर्मचारीलाई लाइन पुनः जोडिदिएपछि राति ९ बजेतिर मात्रै छाडिदिएका थिए ।
सिराहाकै मिर्चैयामा २४ साउनमा प्राधिकरणको टोली बक्यौता नतिरेका ग्राहकको घरमा लाइन काट्न गएको थियो । तर, सचेत नागरिक तथा युवा समूह, मिर्चौया नामको स्थानीय समूहले पनि उद्योगीको अर्बौ बक्यौता उठाउन छाडेर किन सर्वसाधारणको घरमा लाइन काट्न आएको भन्दै अवरोध गरेको थियो । त्यसपछि टोली त्यसै फर्किएको थियो । सोही समूहले सबै ग्राहकलाई समान व्यवहार गर्नुपर्ने भन्दै सिराहा वितरण केन्द्रमा पत्रसमेत लेखेको थियो । ‘गरिब जनताको थोरै बक्यौता हुँदा पनि बिजुली तुरुन्त काटिन्छ, तर राजनीतिक पहुँचवाला व्यक्ति र ठुला कम्पनीलाई अर्बौँ बक्यौता हुँदा पनि विद्युत् दिइन्छ,’ पत्रमा भनिएको थियो, ‘यस्तो विभेदपूर्ण व्यवहार स्वीकार्य छैन ।’
मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई शुल्क लाग्दैन । तर, उनीहरूले न्यूनतम ३० रुपैयाँ शुल्क भने तिर्नुपर्छ । त्यो शुल्क तिर्न नसक्ने ग्राहकको घरमा पनि प्राधिकरणले विद्युत् काट्दै आएको छ । तर, वर्षौँदेखि डेडिकेटेड फिडर र ट्रंकलाइनको अर्बाैँ रुपैयाँ बक्यौता नतिरेका उद्योगमा लाइन काट्दा बक्यौता असुल नहुँदै सरकारले लाइन जोड्न निर्देशन दिने गरेको छ ।
पछिल्लो समय प्राधिकरणका कर्मचारी बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न निरुत्साहित भएका छन् । बिल जारी भएको ६० दिनमा महसुल असुल नभएमा प्राधिकरणका कर्मचारीले नियमतः सिधै ग्राहकको लाइन काट्न सक्छन् । समय–समयमा बक्यौता असुल गर्न बक्यौता नतिर्ने ग्राहकको लाइन नै काट्ने अभियान अघि बढाइन्छ । बक्यौता नतिरेमा ग्राहकमाथि हुने पहिलो कानुनी कारबाही नै यही हो । तर, पछिल्लो समय लाइन काट्दा ग्राहकबाट अभद्र व्यवहार हुने गरेको छ । त्यसले गर्दा पछिल्लो समय ग्राहकहरूको घरमा लाइन काट्न नसकिएको वितरण केन्द्रका अधिकारीको गुनासो छ । ‘उद्योगीबाट बक्यौता उठाउनुहुन्न, हामी सर्वसाधारणलाई थोरै बक्यौता हुँदा पनि दुःख दिन आउनुहुन्छ भन्दै ग्राहकबाट गुनासो र अभद्र व्यवहार हुन थालेको छ ।