अपराध देश–समाज समाचार स्थानीय

देशु भनिने यामु निरौला हत्याका थप ४ आरोपित पक्राउ

दमक/ गत कात्तिक ६ गते दमक ३ स्थित मावा पूल नजिकै सार्वजनिक जग्गाको उपयोगका बिषयलाई लिएर भएको सामुहिक कुटपिटबाट हत्या गरिएका दमक ९ का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा संलग्न थप चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले अहिलेसम्म सो घट्नासँग जोडिएका ७ जना पक्राउ परेका जानकारी दिए । यसअघि तीन जना पक्राउ परेको तथ्याङक सार्वजनिक भइसकेको छ । पक्राउ पुर्जी जारी भएका बुद्धिमान थापा र इटहरीका डेबिड घले भने अझै पक्राउ पर्न सकेका छैनन उनीहरुको खोजी भईरहेको प्रवक्ता चन्दले बताए । थापा र घलेलाई राजनीतिक संरक्षण दिइएको मृतकका परिवारले आरोप लगाएका छन् । राजनीतिक संरक्षणकै आधारमा उनीहरुलाई लुकाइएको पीडित परिवारको बुझाई छ ।
प्रहरी प्रवक्ता चन्दका अुनसार हत्याको आरोपमा पहिला सात र पछि दुई गरी जम्मा ९ जनामाथि जाहेरी परेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । त्यस घटनामा संलग्नमध्ये तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतम यसअघि पक्राउ परेका थिए । उनीहरूसँगै घटनास्थलमा देखिएका दुईवटा गाडी र दर्जीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पूर्जी जारी भएका दमक ८ का नमकुमार चेम्जोङ र दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको प्रवक्ता चन्दले बताए । त्यस्तै पछि जाहेरी परेर पक्राउ पूर्जी जारी भएका दमक ८ का पूर्व वडा सदस्य समेत रहेका दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीम चम्लागाई र गोपाल भण्डारी पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थपिएको जानकारी चन्दले दिए । पक्राउ पूर्जी जारी भएपछि मात्र घटनाको ७ दिनपछि परिवारले निरौलाको अन्त्येष्टि गरेको थियो ।

Author

You may also like