विचार/वहस

प्रेम र संस्कारको चेपुवामा ‘घरज्वाइँ’

जिन्दगी जे जसरी भएपनि चलाउनै पर्दोरहेछ । सुख र दुःख अनि आपत्ति र बिपत्ति जे आओस् जीवनमा मानिस भएर जन्मेपछि त्यसलाई सजिलै सामना गर्नसक्नुपर्छ । जीवन भनेकै घामछाया हो, यो भौतिक संसारमा जन्मिएपछि ढिलो होस् या चाँडो एकदिन न एकदिन सबैले यो संसार छोडेर जानैपर्छ । कोही हुन्नन् अजम्बरी । तर बाचुन्जेल समाजमा राम्रो, पुण्य काम गर्ने कोशिषमा हुन्छन् सबै । सत्कर्म छोडयो भने मानिसले एकदिन न एकदिन उसले नराम्रो फल पाउँछ, पाउँछ । यस्तो दृष्टान्त हामीले हाम्रै समाजमा देखेभोगेकै छौँ । अर्काको कुभलो चाहनु हुन्न मानव भएर जन्मिएपछि । कुनैदिन कुभलो गरिएको छ भने त्यसको परिणाम नराम्रो पाउँछौ हामीले । आफू बाचुन्जेल समाजमा पुण्य काम गर्यो भने उसका सन्ततिले पुस्तान्तरणसम्म आफ्नो गरिमाको हाइहाइ पाउँछन् ।

हो यस्तै यस्तै सामाजिक कार्यको दिशावोध गर्छ अभिनय र चरित्रले । यस्ता कथाब्यथाको उजागर गर्ने काम गर्छ, अभिनय कलाले । अभिनय कला जीवनको प्रकाश हो जसले समाजमा देखिएका घटना र परिघटनालाइ जनजनमा पुर्याउँछ । सत्य र असत्य कुराको नाटकीय चरित्र उतार्छ । सकारात्मक कामको दिशावोध गर्छ । आज अभिनय कलाले हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोहोर्याएको छ । विकृति र विसङ्गतिको भण्डाफोर गर्छ । यही सत्मार्गको कथा अनि ब्यथालाई बोकेर अनेक चलचित्रका कथा तथा पटकथाहरुले अन्धविश्वास र कुरुतिहरुलाई भण्डाफोर गर्छन् । आज त्यही कथाको ब्यथा बोकेको चलचित्र ‘घरज्वाइँ’ असार २८ गतेबाट देशभरका चलचित्र भवन र डिम्याक्स हलहरुमा प्रदर्शन भइरहेको छ । ‘घरज्वाइँ’ को पर्यायवाची शब्दको यसको अर्थ नेपाली शब्दकोशले के भनेको छ भने कुमान्छे , दुलहाजी , भ्वारपैठना भनेको छ । यस शब्दको अर्थलाई अझै परिमार्जित गर्दै लैजाने हो भने खासगरि कुमान्छे किन भनियो ? यसको अर्थ र बुझाइ भन्नैपर्दा नराम्रो अर्थ लाग्ला तर साँचो अर्थमा हामीले यस शब्दलाई गलत अर्थ भने लगाउनु हुन्न किनकि कुमान्छे भनेको नराम्रो अर्थ भने होइन यसको अर्थ व्यापक छ, यसलाई यसरीनै बुझौ , हामीले । आखिर आफ्नो घर हुँदाहुँदै किन श्रीमतीको माइती घरमा ‘घरज्वाइँ’ बस्न बाध्य भयो त आजको पुरुष ? के कारणले हो ? किन आफ्नो घर छोडेर बस्यो ? के कारणले गर्दा बस्न बाध्य भयो ? यसको चुरोको कुरो बुझ्दैन आजको अन्धो समाज । खाली गोबर भरिएको दिमागले नकारात्मक चिन्तन मात्रै राखेको हुन्छ , पुरुष र महिलाहरुको दिमागले । अहिले हाम्रो समाजमा धेरै खालका प्रवृत्ति बोकेका मानिसहरु बस्ने गर्छन् । कतिले त समाजै भाडेका छन्, घरभित्र हिंसाको आगो सल्काइदिएका छन् । हो यस्तै अनेक चिन्तन बोकेका मानिसहरुको चरित्रलाई पर्दाभित्र उतारेका छन् ‘घरज्वाइँ’ चलचित्रका निर्देशक अनिल बुढा मगरले । यस चलचित्रमा एक युवकले बिहेको लागि गर्ने संघर्षको कथा उठान गरेको छ । मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित सिनेमालाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक धर्तीको समेत विश्वास छ । जीएम मूभिज र एवीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सिनेमालाई सुसन प्रजापतिले खिचेका छन् । यो सिनेमाको कथा पनि अनिल आफैंले लेखेका हुन् । यस चलचित्रमा पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले भरपूर्ण रुपमा सघाएका छन् । यस चलचित्रमा स्थापित कलाकारहरुको थोरैमात्रामा भएपनि भीड छ, दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खडक बहादुर पुन, पूर्वेली वरिष्ठ स्थापित कलाकार राज थापा काउचा, कविता आले सहित शिला आले, अनु थापा, वीना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको सशक्त अभिनय छ । यस चलचित्रमा एउटा बाबुले छोरालाई कति माया गर्छ अनि उसले छोराको निम्ति कसरी कति आइपर्ने कुरालाई कठिन परिस्थितिमा पनि सहजै सामना गर्छ भन्ने देखाइएको छ । छोराको निम्ति आफैलाइ पूर्ण बनाउनका निम्ति एक बाबु किञ्चित कुनै अवस्थामा पनि पछि पर्न सक्दैन भन्ने बाबुको रुपमा माइते झाँक्रीको सशक्त भूमिकामा राज थापा काउचा छन्, जो दयाहाङ राईको बाबु हुन् । परम्परा र आधुनिकताको दोसाँधमा अल्झेको मगर समुदायको सभ्यता अनुसार जीवन बिताउनलाई सेरो ( दयाहाङ ) र बिन्जुरी ( मिरुना मगर ) ले विवाहको लागि गरेको संघर्षको कथा हो भन्ने छर्लङ्ग पारेको छ यो चलचित्रले ।

हरेक पात्र र प्रवृत्ति हेर्दा लाग्छ यो चलचित्रको कथा र पटकथा समग्रमा समाजभित्रको ऐना हो । हरेक समाजले ‘घरज्वाइँ’ बसेका पुरुषहरु कसरी आफ्नी जीवन सङ्गीनीलाई समर्पण गर्दै ससुरालीमा बस्न बाध्य हुन्छन् र चुम्बक टासिएझंै टाँसिने आखिर के कारणले गर्दा हो ? स्वयं यस चलचित्रका मुख्य पात्र ‘घरज्वाइँ’ को महत्वपूर्ण भूमिका निर्वाह गर्ने दयाहाङ राईले ससक्त रूपमा अभिनय प्रदर्शन गरेका छन् । अर्को कुरा यस चलचित्रमा भौगोलिक परिवेश, पहिरन मगर समुदायको जस्ताको तस्तै देखाइएको छ । उनीहरूको लवज, शैली, भेषभुषा, रितिरिवाजलाई मूल्यांकन गरेर हेर्ने हो भने जस्ताको तस्तै उतारिएको छ । समग्रमा भन्ने हो भने यो चलचित्रको एउटा ट्रेलरको लोकप्रिय गीतको बोल र अभिनय अन्तर्गत यो गीतैभित्रको संवाद – ‘जा जा गयो त्यहीँ त्यहीँ पो आउन थाल्नु भयो त मास्टर साहेब , मोहिनी लाग्यो कि क्या हो, यो तिम्रो रुमाल दिन आएको, मास्टर साहेबलाई चिना छोडिदिएको त फर्काएर पो ल्याइदिनु भयो ।’ मिरुना मगर र दयाहाङ राईको यस्ता संवादले पनि उनीहरूको प्रेमिल सम्बन्ध देखाएको छ यो ट्रेलरले । यसमा अर्को कर्णप्रिय गीत ‘यानीमाया …….यानीमाया …. यानीमाया’ ले त झनै माया र प्रेमको गाथा जोडिएको प्रतित हुन्छ । ट्रेलरमा युवायुवती बीचको आकर्षण, प्रेम, सर्त, बाध्यता र अर्काको परिवार रिझाउन नसक्दाको कथा पुरै समेटिएको छ भने एकले अर्काको परिवारलाई सहजै स्वीकार्न नसक्दाको द्वन्द्वको परिणाम देख्न सकिन्छ । दयाहाङ राई ( शिक्षक ) ले मिरुना मगर पाउनका लागि गरेको संघर्ष, त्यसक्रममा आउने परिस्थिति र सम्बन्धमा आउने उतारचढावलाई कथामा पाउन सकिन्छ । अन्त्यमा मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित कथासार बुझाउने हरेक गीतको बोल, युवायुवती बीचको प्रेमाभावको कथा र एउटा गाउँमा शिक्षण पेशा गरिरहेका युवा र त्यहीँकी मगर युवतीसंग प्रेम बसेपछि आउने आरोह – अवरोह छ । ‘घरज्वाइँ’ चलचित्रको कथा, पटकथाको लय अनि अभिनय हेर्दा सम्पूर्ण टीमलाई हामी दर्शकहरुले यो चलचित्र हेरिसकेपछि हार्दिक – हार्दिक बधाई तथा शुभकामनाको शुभेच्छा प्रकट भनें गर्नैपर्छ । कमल, झापा

Author

You may also like