सम्पादकीय

विकासका नाममा बजेट उडाउने प्रवृत्ति हटाऔं

आर्थिक वर्ष सकिन तीन साता बाँकी रहँदा अहिले अधिकांश स्थानमा विकास निर्माणका कार्य धमाधम भइरहेका छन् । जेठ अन्तिम र असार लागेपछि यो सक्रियता असाध्यै बढेको छ । सडकका खाल्डाखुल्डी पुर्ने, खोला तटबन्ध गर्ने, कालोपत्र गर्न हतार–हतारमा काम भइरहेको छ । कालोपत्रेका लागि ग्राभेल गर्नसमेत थालिएको छ । कतिपय स्थानमा कालोपत्रेमाथि नै कालोपत्र गरिँदै छ । असार लागेपछि देशभरि नै यो क्रियाशीलता बढेको समाचार आउन थालेका छन् । साउनमा सुरु हुने आर्थिक वर्षको १०÷११ महिना काममा ध्यान नदिने अनि जेठ मध्यदेखि बजेट सक्ने चटारोले कामको गुणस्तरतामा प्रश्न चिह्न खडा हुने गरेको छ । परम्परादेखिको यो चलन जुनसुकै व्यवस्था आएपनि परिवर्तन हुन सकेको छैन । जरा गाडेर बसेको असारे विकासलाई हटाउन निकै कसरत गर्नुपर्ने देखिन्छ, तर नेतृत्व तहमा रहेकाहरुको ध्यान यसतर्फ गएको पाइँदैन ।

सडक कालोपत्रे गर्ने उपयुक्त समय भनेको असार होइन । पानी नपरी सुक्खायाममा गरेको कालोपत्रे टिकाउ, कम खर्चिलो र दिगो हुन्छ । इन्जिनियरिङ अनुसार अति चिसोयाममा पनि होइन र अति गर्मीयाममा पनि होइन, सुक्खा र मध्यम तापक्रम भएको महिना पारेर गरिएको कालोपत्रे सडकले दिगोपना दिन्छ । यसको अर्थ कालोपत्रे गर्ने उपयुक्त समय असोज, कार्तिक, फागुन, चैत, वैशाख र जेठ महिना हो । विडम्बना, हामी कहाँ सडक निर्माण र मर्मतका काम जेठ अन्तिम वा असारमा व्यापक हुन्छ । कहीँ नभएको जाँगर यस बेला प्राप्त हुन्छ । कतिपय सडक बन्न पाएको हुँदैन, बिग्रन थाल्छन् । कालोपत्र उप्किन्छ । गुणस्तरीय सडक बन्नका लागि अनेक चुनौती पार गर्नुपर्छ । बजेट फ्रिज हुने डरले हतारहतार काम गराउनेमात्र होइन, यसैको फाइदा उठाउँदै ठेकेदार कम्पनीहरूले कमसल सामानको प्रयोग गर्ने गर्छन् जसले गर्दा सडक लगायतका अन्य विकासका संरचनाहरू छिट्टै बिग्रिने÷भत्किने गर्छन् । त्यसो त ठेकेदार कम्पनीले राजनीतिज्ञदेखि कर्मचारीसम्मको विभिन्न तहमा कमिसन बुझाउने गरेको चर्चा बेलाबेला सुन्न पाइन्छ । यस्ता गतिविधिले छुट्याइएको रकमको केही अंश मात्रै खर्च गर्ने प्रवृत्ति छ जसका कारण विकास संरचनाहरू कमजोर हुने गरेका छन् ।

प्रत्येक वर्ष वर्षात्याममा बाढी आउँछ, डुबान हुन्छ, हजारौं घर विस्तापित हुन्छन् । असार, साउनमा यो विपत्ति आउँछ भन्ने पानी परेपछि मात्र थाहा हुने होइन, असोज, कार्तिकदेखि नै अनुमान गर्न सकिन्छ । बाढीले कटान गर्ने, डुबान गर्ने आंकलन अगाडि नै हुने हुँदा बेलैमा ध्यान दिएर पूर्वतयारीमा लाग्नु पर्ने हो तर हाम्रा सरकारका प्रवृत्ति पानी परेपछि छाता किन्ने छ । जब पानी पर्छ अनि तटबन्धको काम सुरु हुन्छ, करोडौँ रकम खर्च गरिन्छ अनि केही दिनपछिको बाढीले त्यो बगाएर लैजान्छ । समस्या उस्तै, स्थानीयका पीडा उस्तै, बाढीको डर उस्तै तर राज्यको ढुकुटी भने रित्तो । यस्तो अवस्थाले देश विकासका गति उँभो लाग्न सक्दैन । अब राज्य सञ्चालकले यस विषयमा ध्यान दिन जरुरी छ । विकासको नाममा बजेट उडाउने प्रवृत्तिलाई हटाउनु पर्छ । समयमा कार्य सम्पन्न गर्ने बाटोमा लाग्नु पर्छ ।

Author

You may also like