लेख विचार/वहस

भ्रष्ट ब्यक्तिहरु कानुनी कठघरामा पर्नैपर्छ

नियम, विनियम, विधान, कानुन सबैलाई लाग्नैपर्छ र गलत कर्म गरेका कोहीपनि छुट्न हुन्न यहाँ । तर हाम्रो देश नेपालमा त ‘नेपालको कानुन दैवले जानुन्’ भनेझैं भएको छ नयाँ नेपालमा । यहाँ जसले जे गरेनि भो, जो होचो उसैको मुखमा घोचो भनेजस्तै भएको छ । कानुनी कठघरामा यहाँ निम्छरा ब्यक्तिमात्रै परेका छन्, अरुलाई कानुनले छुँदै छुँदैन । नेताहरूको अघिपछि हिड्ने डनवादहरु यहाँ खुलमखुला हिड्दासम्म प्रहरी प्रशासन मौन छ । उनीहरूलाई पक्रने र दण्ड, सजायको व्यवस्था हुँदासम्म कसैले पक्रेर जेल सजाय भोगाउने नीति नियमै कोल्याप्स भएको छ ।

यतिसम्म चरमलापरबाही छ कि यहाँ ठूला दलका मान्छेहरुले उनीहरूको चाकरी गर्नेहरुलाई जस्तोसुकै अवस्थामा पनि उन्मुक्ति पाएको अवस्था विद्यमान छ । हिजोका दिनमा भ्रष्ट ब्यक्तिहरुलाई जेल हालिन्थ्यो । नीति, नियमअनुसार चल्थे हिजो । आज त न नीति छ, न नियमै । कोहीपनि नीति नियमानुसार चलेकै छैनन् । नेपाली राजनीति यहाँ बयोबृद्द नेताहरुकै बाहुबलीमा चलेको छ । उनीहरू आवश्यक पर्दा कहिले भारत, कहिले चीन, कहिले अमेरिकाका ‘रअ’ का एजेन्टलाई हारगुहार गरिरहेका छन् किन ? किनकि उनीहरू देशमा राजनीतिक उथलपुथल होस्, चौतर्फी भ्रष्टाचार होस्, विधिविधान चौपट होस् भन्ने चाहन्छन् । यसमा सबैभन्दा ठूलो दोष तीन दलीय सिन्डिकेटको शीर्ष नेताहरुको चलखेलमा केन्द्रीत रहेको छ । उनीहरू यतिसम्म चलखेल गर्न माहिर छन् कि एकले अर्कोलाई प्रधानमन्त्रीको सिफारिस गर्ने र उता नेताकार्यकर्ताहरुलाइ थुम्थुम्याउने खेल अहिलेपनि चलिरहेकै छ । नेता भने मिल्छन् तर जनताहरुलाई झगडा गराउन खेल खेल्छन यो हिजोदेखि आजसम्म चलिरहेकै छ । अहिले चल्दै गरेको र चालिदै गरेका गोटीहरु हेर्दा लाग्छ कि वर्तमान प्रचण्ड नेतृत्वमा बनेको सरकारको आयु पनि सार्है लामो होलाजस्तो देखिन्न । गुट, उपगुटको राजनीतिक खिचातानी र नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्माको सार्वजनिक रूपमा आएको भाषण सुन्दा लाग्छ कि यो सरकारको छटपटी, जोडघटाउ सुरु भएको प्रतीत हुन्छ । हिजो पटकपटक संसद बिघटन, पुनस्र्थापनाको अतीत हेरेर मूल्यांकन गर्नैपर्दा लाग्छ हामी कार्यकर्ता किन हाम्रै नेताहरुको षड्यन्त्र बुझ्दनौ ? पुरानो विरासतमा उनीहरूले गरेका अनेक कर्तुत अहिले पनि ताजै छन् । तापनि किन बुझ्दैनौ हामी ?

भ्रष्टाचारका अनेकन काण्डहरु छन् – ललिता निवास जग्गा प्रकरण अधकल्चो छ । ओम्नीकाण्डमा अख्तियारले गरेको अनुसन्धान गुमनाम छ । बाइडबडीको अनियमितता घटना अलपत्र छ । अहिलेसम्म ३३ किलो सुन हराएको हरायै छ । नेपाल ट्रष्टको जग्गा हिनामिनामा अनुसन्धान नै अपुरो बन्यो , लडाकु शिविरको घोटाला काण्ड तामेलीमा छ । नेपालका अन्य चर्चित काण्डहरुमा – लाउडा, धमिजा, चेज एयर, चाइना साउथ वेस्ट, एयर बस, वाइडबडी, गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरण, सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद प्रकरण, पुस्तक र विद्युत्तीय सवारीमा कर, चकलेटमा भन्सार छुट, स्वास्थ्य सामग्री खरिद प्रकरण, दुगडको स्वार्थमा नुन आयातमा निजी क्षेत्रलाई अनुमति । उतिबेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विचौलिया विजयप्रकाश मिश्रसंग सुरक्षा प्रीन्टिङ प्रेस खरिदका लागि कमिसन डिल गरेको अडियो आजभन्दा धेरै अघि भाइरल समेत भएको थियो ।

अहिले चर्चित रहेका कतिपय काण्ड छानबिनको नाममा राज्यसत्ताकै दुरुपयोग गरेर ढाकछोप गरिएको छन् । कतिपय छानविन हुँदाहुँदै वीचैमा रोकिएका छन् । राजनीतिक हस्तक्षेपका कारण अख्तियारमा अहिले पनि रोकिएका मुद्दा धेरै छन् । पटकपटक सरकार परिवर्तनको खेलले गर्दा पुराना मुद्दा हेर्ने काम नयाँ सरकारले समय दिन सकेन । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिनामा ३७ वर्ष अघि सरकारी स्वामित्वको बाँसबारी छाला कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपका व्यवसायी अरुण चौधरी पक्राउ समेत परेर अहिले रिहा भएका छन् । यो घटना तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा कर्मचारी सहितको मिलेमतोमा किर्ते कागजात बनाई हत्याएको प्रारम्भिक अनुसन्धान हुँदासम्म विगत र वर्तमान सरकार प्रमुखहरु मौन हुनु कतिसम्मको लज्जाको बिषय हो ।

अर्को बिषय पछिल्लो समयमा नेपालमा राजनीति र भ्रष्टाचार एक अर्काका परिपूरक हुन कि भनेजस्तै प्रतीत छ । भ्रष्टाचार गर्नकैलागि राजनीति गर्ने र उच्च ओहोदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । यो होडबाजीमा धेरै नेता तथा कार्यकर्ता सामेल भए कांग्रेसका चारजना नेताहरु खुमबहादुर खडका, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले र जेपी गुप्ता भ्रष्टाचारी ठहर भइसकेका छन् । यति हुँदासम्म उनीहरूले उन्मुक्ति किन पाइरहेका छन् त ? अनि किन अरुलाई कोकोहोलो मच्चाइ मच्चाइ गाली गर्नु तीन दलका नेताहरूले ? यहाँ चोखो को रहेको छ ? को रहेनछ ? अबमात्र हेर्न बाँकी रहयो नयाँ पार्टीहरुको बिरासत हेर्न । वास्तवमा यो किन भइरहेको छ त भन्नुपर्दा नेपालमा भ्रष्टाचारको मूल जरो नै राजनीति हो । राजनीतिकै आडमा भ्रष्टाचार मौलाएको ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष तथा बरिस्ठ अधिबक्त्ता श्रीहरि अर्यालको भनाई छ । उनको भनाई अनुसार भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी जुनै सरकारको हो तर जुनैपनि सरकारले गर्न सकेन । अर्को कुरा कतिपयले अख्तियारलाई बढी अधिकार नदिएकाले पनि भ्रष्टाचार कम हुन नसकेकै हो भन्ने कुरा सम्बन्धित निकायका उच्च पदस्थ व्यक्तिहरुले बताइरहेका छन् भने अख्तियारलाई जतिसुकै शक्तिशाली बनाएपनि भ्रष्टाचार निर्मूल सम्भव नहुने ठोकुवा समेत अधिकारकर्मीहरुले गर्दासम्म यो समस्या ज्यूँका त्यूँ छ , समाधान हुन सकेको छैन ।

अधिकार बढीमात्रामा अख्तियारलाई दिनुपर्छ । उनीहरूलाई कुन क्षेत्रमा बढी भ्रस्टाचार हुन्छ भन्नेसम्मको अनुसन्धान गर्न दिनुपर्छ । साथै राष्ट्रिय सतर्कता केन्द्रलाई अधिकार दिएर भ्रष्टाचार नियन्त्रणको स्वतन्त्र तरिकाले प्रयास गर्नुपर्छ । भ्रष्टाचारमा राजनीतिक संरक्षण नहुने हो भने स्वत ः भ्रष्टाचार न्यूनीकरण भएर जान्छ । हिजोआज भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएकाहरु यत्रतत्र देखिन्छन् । आज यसरी नै नेता बचाउ अभियानमा स्वयं तीन दलका नेताहरु नै सक्रिय देखिएका छन् । उनीहरूको बदनियतपूर्ण यो कर्मले गर्दा आज नेपाली जनतामा निरासा छाउँदै गएको छ र जनमत पनि अदलबदल भएको छ । ब्यालेट पेपरमा जनमत ठूला दलहरुप्रति छँदैछैन । अहिले जनतामा नेताहरुप्रति देखिएको आक्रोशको बेगलाई मत्थर बनाउन सचेत दल र कार्यकर्ताहरु लागेमात्र जनताका निराशाहरु क्रमशः हटेर जानेछन् । यसकारणले हिजोदेखि आजका मितिसम्म भ्रष्टाचार गरेर ब्रह्मलुट गर्ने भ्रष्ट नेताहरु कानुनी कठघरामा पर्नैपर्छ । सबलाइ चेतना भया ।

Author

You may also like