देशमा आमुल परिवर्तनका निम्ति आफ्नो भौतिक शरीरलाई आहुति दिने अमर सहिदहरुको सपना रत्तिभर पूरा हुन सकेन । आशा सबै निरासामा बदलिए । यहाँ गर्नेभन्दा नि खानेहरुको हुल बढया छ । जतासुकै जताततै भ्रष्टाचारी, अपराधी मात्रै छन् । कोहीभने खान नपाएर भोकभोकै मर्न बाध्य छन् । यहाँ क्रान्तिकारी भाषण गर्नेहरु डलरको खेती गरिरहेछन् । सुख र शान्तिको सास फेर्न पाएका छैनन नेपाली जनताले । हिजो जे जे सपना देखाएका थिए जनतालाई आज ती सपना सबै बालुवाटार र सिंहदरवारमा सीमित छन् सत्ताका लागिमात्र । राजनीतिको मियो समात्ने नेता सबै बयोबृद्द भएपछि राजनीतिको लिक अदलबदल हुन सिवाय अरु केही हुन सकेन । नेपाली जनतामा बितृष्णाले जरो गाडेको अवस्था छ ।
तपाईं चिया चमेना गृह, चौतारीमा, विवाह, ब्रतबन्धमा, विद्यालयमा जहाँ सुन्नुहोस कतैपनि राजनीति गर्ने नेताहरुको सकारात्मक कुरा सुन्नु हुन्न । सुन्नुहुन्छ त मिसन– ०८४ आओस् न अनि हाम्रो जनमत कहाँ जानेछ, हामी गोप्य ब्यालेट पेपरमा गर्नेछौं भन्ने जवाफमात्र सुन्नु हुनेछ । हुन पनि सही कुरा हो कि महान नेपाली जनताले ०४८ देखि अहिलेसम्म दिएको जनमतको अवमूल्यन गर्ने काम नेताहरूले गरेका छन् । यो हामीले भनिरहँदा सञ्जीवनी बुटी सुँघेर जनताको आँखामा छारो हान्ने बुज्रुक, अनपढ नेताहरुलाइ रिस उठ्ला, चित्त दुख्ला तर यो कलमीले नेपाली जनता जो ब्यालेट पेपरमा नेताहरुलाई जनमत दिन्छन्, उनैको चरित्र किन सुध्रिएन ? त्यही यथार्थ कुरा सम्प्रेषित गर्दैछु जुन यथार्थपरक छ । नेपाली राजनीतिलाई डोहोर्याउनेहरु हिजोका पुराना व्यक्तित्वहरु जो थिए उनीहरूले देखाएको बाटोमा दोश्रो पिँढीका नेताहरुले पछ्याउन सकेनन् । भ्रष्ट व्यक्तिहरुको चङ्गुलमा देश डुब्यो । यसलाई अवतरण गर्ने असली व्यक्ति भेटिएन । भेटिएका सबै ‘र’ का एजेण्ट मात्रै भेटिए । एकादुई नेताहरु अहिले नि छन् तर उनीहरू सुषुप्त अवस्थामा छन् । बोले पनि उनीहरूको कुनै मूल्यांकन र गुञ्जायस हुन्न । यहाँ भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद मुलुक भनेर अब नक्कली नेताहरुले उनीहरूको विरासतलाई औंलो नठड्याए नि भो । किनकि, देशको यो अवस्था उनीहरूले नै निम्त्याएका हुन् । यहाँ जनता अलमलिएका छन् । चौतर्फी आर्थिक अवस्था डामाडोल छ । न्यून आय भएका जनताहरुको नाम्लो खोसिएको छ, महँगीले चौपट छ । अनि कहाँ खोजौं असली नेताहरु ? खोजेर पाउन नसक्ने बनाए उनीहरूको असली रुप ।
आखिर किन यस्तो अवस्था आइरहेको छ त नयाँ नेपालमा ? नेपाली जनता बेलुकी थकित भएर सुतेको बिहान उज्यालो हुँदा एकाएक प्रधानमन्त्री र मन्त्री अदलबदल हुन्छ । यहाँ अर्को प्रसङ्ग जोडौ, चर्चित भविष्यबेत्ता एल्विन टफ्लरले भनेका थिए कि – ‘अबको ५० वर्षमा संसार कस्तो होला ? हुन पनि हो । यो संसारलाई चकित हिजोका दिनमा अनेकन भाइरस किटाणुले गर्यो जनता काम नहँुदा भोकभोकै मर्नुपर्यो । कति स्थानमा भोकमरी लाग्यो, आर्थिक स्तरोन्नति डामाडोल बन्यो । तर यो चिन्ता हाम्रा नेताहरुले व्यक्त गरेनन् । हिजो आएका खाधान्न, लत्ताकपडा समेत झुक्याएर बाँढे । अनि कसरी सुध्रिएला नेपाली राजनीति ? अहिले जनताहरु क्षमता, शासनमा स्वेच्छता र नेताहरुको दृढ विश्वासका साथ कार्य सम्पादनको क्षमता हेर्न चाहन्छन् तर उनीहरुले रोजेजस्तो युवा नेताहरु अझै पनि पाउन सकिरहेका छैनन् । अलमलिएका छन् । हिजो आशलाग्दा युवा नेताहरु एउटा न एउटा मुद्दा मामलामा फसेका छन् । दुर्गन्धित भएका छन् । एउटा न एउटा बोलाई र गराइमा चुकेका छन, फसेका छन् । गठबन्धन हुनै सक्दैन उनीहरू अहिलेपनि जंगली प्रवृत्तिका छन, उनीहरूको सीटै छैन, सङगठन छैन जस्ता अनर्गल प्रचारवाजी ठूला दलभित्रैबाट बाहिर आएको हुनाले आज गठ्बन्धन टुट्न पुग्यो । सडकमै छताछुल्ल भयो, बिचारहरु सडकमा छरिए, कार्टुन बनाएर भद्दा मजाक समेत बन्न पुग्यो अहिले ।
युवाहरु जीवनको सबैभन्दा उर्वर समय पनि हो । युवा शारीरिक रूपमा स्फूर्ति र जोस अनि मानसिक रूपमा सपनै सपनाले वरिपरि बेरिएको हुन्छ । युवाहरु जिन्दगीमा यथास्थितिमा पटक्कै रमाउदैनन् । परिवर्तन, लगनशीलता र गतिशीलता युवाहरुको मार्ग हो उनीहरू यसैमा रमाउछन् । यसकारणले पनि युवाहरु क्रन्तिका जननी र समृदिका संवाहक उर्जावान शक्ति हुन् । समाजको सबै पक्षमा प्रभावपार्ने पक्ष भनेको राजनीति हो भन्ने कुरा आत्मसाथ गरेका युवाहरू केही वर्ष यतादेखि भौतारिइरहेका छन् । कहाँ जाऔ, के गरौं, कसो गरौं ? भन्ने मनसाय प्रकट गरेको आवाज सुन्न सकिन्छ । गत पछिल्ला दिनहरुमा राजनीतिक मियो अदलबदल हुने अनि दलहरुभित्रको आन्तरिक लोकतन्त्रले मूर्त रुप लिन नस्कदा र पार्टीभित्र रहेको शक्तिसन्तुलनका लागि गर्नुपर्ने द्वन्द्व व्यवस्थापनको कुशलताको कमीका कारण पार्टीहरु विभाजन हुँदासम्म युवाहरू प्रत्येक पार्टीमा एकीकृत थिए हिजोका दिनमा । तर अहिले कुनै पार्टीमा युवाहरूको त्यस्तो संलग्नता भेटिन्न । कि त खाडी मुलुक, कि त शक्तिसम्पन्न राष्ट्रमा श्रम बेचिरहेका छन् । नेपालको राजनीतिबाट वाक्कदिक्क भएका छन् । नहुन पनि कसरी प्रत्येक पार्टीहरु फुटदै, जुटदै, टुट्दै जाँदा युवाहरु त्यसै बरालिन बाध्य बने । उनीहरूले यो पनि बुझे कि – ‘पुराना दलहरुलाई समाजबाट विस्थापित गर्न नयाँ भनिएका दलहरुले के – के गरे त ? उनीहरूको पिच्छलग्गु भएर कुद्ने हिजोका युवाहरू अहिले पनि दल अदलबदलमै छन् कि त मनी र मसल र भाडाका सिपाही बनेका हो हो र हा हा, हु हु गर्ने भएका छन् । जुन दलबाट जता खान पाइन्छ, पेट्रोल हाल्न पाइन्छ, रोजगारको आश्वासन बाढ्दििन्छ उही दलको सेवक मात्र बने आजका युवाहरु । हिजोदेखि आजसम्म सबैभन्दा ठूला तीन दलले सामाजिक जागरण तथा राजनीतिक रुपान्तरणका लागि धेरै रगत र पसिनाको खोलो बगाएकै हुन् त्यसमा आजकै युवाहरूको बलिदान छ । हिजो सशस्त्र जनयुद्ध हुँदाताका बलिदानी संघर्ष गर्ने उनै युवाहरू थिए कतिले सहादत प्राप्त गरे भने कति अहिले घाइते, अपाङ्ग छन, ती सबै युवाहरु नै छन् । उनीहरूलाई बयोबृद्द नेता जो जिब्रो लर्वराउछ , उखान र मनगढ्न्ते टुक्काले आमुलपरिवर्तन हुन्छ भन्छन् । आज तिनलाई युवाहरूले छोडिसकेको अवस्था छ । अब हामी बुझौ कि मिसन – ०८४ को निर्वाचनको नतिजा युवा नेताहरु या चाउरी परेका बुढा नेताहरुको कोर्टमा जाला अहिले दिनगन्ती सुरु भएको छ । अब उनीहरूले यो नि बुझ्नुपर्छ कि ‘बाँसुरी बजाएर’ राजनीतिक धर्म कदापि पूरा हुन सक्दैन यो भगिरथ सत्य हो । आज समस्यै समस्याले रुमलिएको यो अवस्था भनेको राजनीतिक निकास हो तर दुर्भाग्य यो हुन सकेन । हिजो गठबन्धनका सारथीहरुको एउटा चक्काको पांग्रा खुस्किएको छ । अहिले एकले अर्कालाई सत्तोसराप गर्दैछन् । हिजोको शान्ति स्थापना भए पनि आज अशान्ति मच्चाउन अनेकन जालझेलपूर्ण आवाज सामाजिक सञ्जाल र टिकटकमा हालिरहेका छन् । अनि कसरी हुन्छ त गठबन्धन ? आखिर किन टुट्यो ? अहिले पनि बितेको छैन । पुरानो गठबन्धन एकता हिजोमात्र नेपाली कांग्रेसंग टुट्यो अहिले एमाले, नेकपा माओवादी ( केन्द्र ) रास्वपा, जसपा लगायतको अर्को नयाँ गठबन्धन भइसकेको अवस्था छ । यो गठबन्धनलाई ब्रेकफेल गराएर रणनीतिक प्रत्याक्रमण गर्न अबको नेपाली कांग्रेसको रणनीति के हो ? त्योसम्म स्पष्ट भिजन हुने नेता युवाहरु भएपनि सभापति शेरबहादुर देउवाले गठ्बन्धन पुनः हुन दिदैनन् । दिएपनि नेपाली कांग्रेसका युवा नेताहरुले गठबन्धन टुटनुपर्छ समेत हिजो भनेका थिए र अन्ततः टुट्यो पनि । आफैले हुर्काएर, बढाएर, संघर्ष गरेर जो जो जहाँ – जहाँ भएपनि झण्डा एउटै हो तर विचार र बहस फरकफरक भएका कारणले ‘रातो स्टिकर लागेको घर’ अहिले रुपान्तरित हुन सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, राजनीतिक दलको विकल्प सुधार सहितको राजनीतिक दलहरु नै हुन् । अबको नेपाली राजनीतिलाई ‘रामभरोसा’मा नछाड्ने हो भने राजनीति दलभित्रका युवा नेताहरुले सशक्त हस्तक्षेप गर्नैपर्छ । अबको राजनीति मोड कत्ता जादैछ ? बुझेर युवाहरुले नै सत्ता र पार्टीको उच्च नेतृत्व लिन अब फुटेर, टुटेर होइन जुटेर लिन सक्नुपर्छ ।