लेख विचार/वहस

८८ औं शिवरात्री पर्व र यसको महत्व

यो सालको फागुन २५ गते ज्योतिविन्दु शिव भगवानको जन्मजयन्ती परेको छ । हाम्रो मुलुकमा वर्षभरीमा अनेक चाडपर्वहरु मनाउने गरिन्छ । ती सवैको आआफ्नो विशेषता छन् । आआफ्नो महत्व छ । जसमध्येको शिवरात्रीको महत्व बेग्लै छ । जतिपनि चाडपर्वहरु छन् ती सवै महान आत्मा धर्मात्मा र देवआत्माहरुको यादमा मनाइन्छ । शिवरात्री भनेको ती सवै धर्मात्मा, महानआत्मा र देवआत्माहरुको पनि पूजनीय आरध्यदेव सर्वेश्वर शिव परमात्माको दिव्य अवतारको रुपमा मनाइन्छ ।

शिवका पिठहरुमा शिवलिङ्गको दर्शन गर्न श्रद्धालुहरुको बहुत लाम लागेको हुन्छ भनें पशुपतिनाथको मन्दिरमा त झनै भीड लागेको हुन्छ । भक्तहरुको यो भावनालाई देखेर भगवानले पनि आफ्नो परमधामलाई छोडेर यो धर्तीमा आउनु भएको छ । भक्तहरुको झोली भरिदिनकालागि शिव भगवान सवैको भोला हुनुहुन्छ । भक्तहरुको भावनालाई भरपूर गरिदिनुहुन्छ । शिव भगवान दयाको सागर हुनुहुन्छ । जो मनुष्यमा भएको दुःख पीडालाई दूर गरिदिनुहुन्छ । दुनियाँमा जुन जन्मजयन्ती मनाउँछन्, ती सवै मनुष्यहरुको नै मनाउँछन् । महानआत्मा, धर्मात्मा र देवआत्माहरुको जन्म रातमा भएपनि २४ घण्टाको दिनलाई मानेर जन्मदिवस नै मनाउँछन् । तर मनुष्यलाई देवता बनाउने शिव परमात्माको चाँही कहिल्यै पनि जन्म दिवस मनाइदैन । जन्मरात्री वा शिवरात्री नै मनाइन्छ । किनकि उहाँको जन्म हदको रातमा होइन बेहदको रातमा हुन्छ । कलियुगी दुनियाँको अन्तिम प्रहार जहाँ मनुष्यहरु अज्ञान, अन्धकारमा रुमलिएको हुन्छ, बिषम विकारमा डुबेको हुन्छ, पापाचारमा र भ्रष्टाचारमा मुछिएको हुन्छ । त्यही बेहदको रातमा शिवको अवतरण हुन्छ । शास्त्रमा पनि त्यसलाई द्वापर र कलियुग ब्रह्मको रातको संज्ञा दिएको छ । त्यसमा पनि कलियुग अन्तिम प्रहार त घोर अज्ञान अन्धकार हटाउने रात हुन्छ । त्यही रातमा शिव परमात्माको जन्म हुन्छ र जो अज्ञान, अन्धकारलाई पूर्णरुपले दिनमा परिवर्तन गर्नुहुन्छ । नर्कलाई स्वर्गमा र कलियुगलाई सत्ययुगमा परिवर्तन गर्नुहुन्छ ।

शिवरात्री परिवर्तनको पर्व हो । दिपीकरणको पर्व हो । यसबेला आत्माहरुको परिवर्तन हुन्छ । दुखी आत्मा सुखी बन्छ । पतित आत्मा पावन बन्छ । बिकारी आत्मा निर्बिकारी बन्छ । संसारको आमूल परिवर्तन हुन्छ । मृत्युलोक अमरलोक बन्छ । नर्क स्वर्ग बन्छ । त्यसैगरी दुनियाँको परिवर्तन हुन्छ । सामान्य मनुष्य देवपुरुष बन्छ । पूजारी पूज्य बन्छ । नर्कबासी स्वर्गबासी बन्छन् । शिवरात्री साधारण पर्व होइन । सर्वाेत्तम पर्व हो । सर्वशक्तिमान निराकार परमात्माको साकार श्रृष्टिमा दिव्य अवतरण यादगार पर्व महाशिवरात्री पर्व हो । संसारको आमुल परिवर्तन सर्वआत्माहरुको पारलौकिक पिताबाट हुने भएकोले गर्दा उहाँको यो दिव्यजन्म शिवरात्री कुनै एक, दुई धर्म विशेषको वा एक, दुई क्षेत्र विशेषको नभई एक, दुई वर्ग विशेषको नभई समस्त आत्माहरुको हो हिन्दु मुस्लिम शिख, इसाई, क्राइष्ट, बुद्धिष्ट, हामी सवै मनुष्य आत्माहरुको पिता शिव परमात्माको दिव्य अवतरणको महान पर्व हो । आज यो पर्व कोही धर्म विशेष मात्र सीमित छ । यसको रहस्य सवै धर्मका मानिसहरुमा पनि हुनुपर्ने हो । किनभनें, भगवान हामी सवै मनुष्यहरुको हाम्रो पिता हो । त्यसैले भगवानको खोजी सवैलाई छ । भगवान प्राप्ति सवैलाई उत्तिकै खाँचो छ । सुख पाउन सवैलाई मनपर्छ । दुःखी हुन कसैलाई पनि मन पर्दैन । त्यसैले सधैं सुख पाउनु छ भनें भगवानको शरणमा चल्नुपर्छ । बिकारी दृष्टि कसैकोमा नजाओस् । पवित्र दृष्टि हुनु आवश्यक छ । त्यसैले यो ८८ औं महाशिवरात्री धुमधामकासाथ सवैले मनाऔं ।

दमक ५, झापा

Author

You may also like