दमक, १४ फागुन। ज्येष्ठ नागरिकका अगुवा, समाजसेवी एवं पूर्व जनप्रतिनिधि दमकका भवानीप्रसाद दाहालको ७७ वर्षको उमेरमा निधन भएको छ ।
२००३ सालमा असार ३० गते इलाम जिल्लाको खान्दु्रङमा जन्मिएका दाहालको मुटु, मिर्गाैला र दमको समस्याका कारण आइतबार विहानको राति १ः३० बजे दमक ९ बाह्रघरेस्थित आफ्नै निवासमा निधन भएको हो । उनका श्रीमति पम्फादेवी सहित २ छोरा र २ छोरी छन् । आइतबार अपरान्ह कन्काईमाइमा उनको पार्थिक शरीरमा जेठा छोरा राजेन्द्रले दागवत्ती दिएका छन् । साविक दमक १५ मा २ पटक वडाध्यक्ष भएका उनी पूर्वका ज्येष्ठ नागरिकका अगुवाका रुपमा परिचित छन् । दमकमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान स्थापना गर्ने नेतृत्व गर्दै उनी संस्थापक सचिव बनेका थिए ।
त्यसपछि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका संस्थापक जिल्ला अध्यक्षहुँदै केन्द्रीय सदस्य र कोशी प्रदेशका संस्थापक संयोजकको जिम्मेवारी सम्हालिसकेका थिए । जेष्ठ कम्यूनिष्ट मञ्चका निवर्तमान झापा जिल्ला अध्यक्ष, दमक सहकारीका पूर्व अध्यक्ष, पाणिनी निमावि हुँदाका व्यवस्थापन समिति अध्यक्ष समेत रहेर समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशील बनेका थिए । उनले बि. सं. २०१८ देखि ०२८ सम्म सामुदायिक विद्यालयको शिक्षक, ०२८ देखि ०४५ सम्म सहकारी कार्यालयका कर्मचारी, ०४५ देखि ०४८ सम्म निजामति सेवाका रुपमा झापा जिल्ला विकास समितिमा कार्यरत रहे । ०४८ मा राज्य विरुद्धको अभियोगमा जागिरबाट उनीसहित बरखास्तमा परेका थिए ।
उनले पाणिनी माविमा १ लाख ११ हजारको ज्ञानमायादेवी दाहाल स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेका थिए । ज्येष्ठ नागरिक जिल्ला संघ झापा मार्फत् प्रत्येक वर्ष कवि, कलाकार, पत्रकारलाई हौसला प्रदान गर्न भवानीप्रसाद–पम्फादेवी दाहाल ज्येष्ठ नागरिक अक्षयकोषमा १ लाख ५५ हजार प्रदान गरेका छन् । जिल्लाका असहाय ज्येष्ठ महिला तथा पुरुषलाई सहयोग गर्न सरिता–आनी अक्षयकोषका लागि ३ लाख २५ हजार प्रदान गरेका छन् ।
