देश–समाज प्रवास समाचार स्थानीय

मध्यपूर्व द्वन्द्वमा खाडी मुलुकका नेपालीको अवस्था

दमक/ इजरायल–अमेरिका र इरानबीच बढेको द्वन्द्वका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था जटिल बनेपछि त्यहाँ रहेका नेपालीहरूको अवस्था बुझ्न सरकारले विवरण संकलन सुरु गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सरकारले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत आइतबार साँझसम्म झण्डै ५५ हजार नेपालीले आफ्नो अवस्थाबारे जानकारी दिएका छन्। मन्त्रालयका अनुसार ५४ हजार ७ सय ८६ जनाले आफ्नो विवरण टिपाएका छन् ।
सरकारले फागुन १९ गतेदेखि खाडीमा रहेका नेपालीहरूको उद्धार र राहत व्यवस्थापनका लागि विशेष पोर्टल सञ्चालनमा ल्याएको हो। यसमार्फत संकलित विवरणका आधारमा त्यहाँ रहेका नेपालीहरूको समस्या, आवश्यकता र प्राथमिकताको अध्ययन गरी आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ।
फागुन १६ गतेदेखि सुरु भएको इजरायल–अमेरिका र इरानबीचको युद्ध अहिले पनि जारी छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ। यसका कारण नेपालीहरूको प्रमुख श्रम गन्तव्य रहेका संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया, कुवेत र बहराइनजस्ता देशहरूमा सुरक्षा चुनौती बढेको छ। केही स्थानमा हवाई आक्रमण भएका छन् भने साउदी अरेबियामा तेल तथा ग्यास प्रशोधन केन्द्रहरूमा पनि आक्रमण भएको बताइएको छ।
युद्धका कारण कतिपय कम्पनीहरूले कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिएका छन् भने केही कम्पनीहरूमा काम बन्द भएको अवस्था छ। यसबीच यूएईमा आक्रमणमा परी एक नेपालीले ज्यान गुमाएका छन्, जसको शव नेपाल ल्याइसकिएको छ । युद्धका कारण नेपाल र खाडी देशहरूबीचको हवाई सेवा केही समय बन्द भएको थियो। अहिले भने यूएईबाट सीमित उडानहरू सुरु भएका छन् । साथै ट्रान्जिटमा रहेका धेरै नेपाली यात्रुहरू समस्यामा परेका छन्, जसको व्यवस्थापनका लागि नेपाली दूतावास तथा स्थानीय नेपाली समुदायले सहयोग गरिरहेका छन् ।

Author

You may also like