दमक, १७ माघ। झापाको कमल गाउँपालिकाले दलित समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराउने भएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समावेश स्नातक अध्ययनरत दलित विद्यार्थीका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रममार्फत यसवर्षदेखि छात्रबृति रकम उपलव्ध गराउने कार्यक्रम शुरु गरिएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
पालिकाका ७ वटा वडामा स्थायी बसोबास गरिआएका दलित विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनमा सघाउन यस किसिमको छात्रवृत्ति कार्यक्रम शुरुवात गरिएको उनले बताए । विपन्न दलितका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सघाउन यसवर्षदेखि स्नातक तहमा छात्रवृत्ति उपलव्ध गराउने उनले जानकारी दिए ।
पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेका अनुसार छात्रवृत्तिका लागि वडा तथा सम्बन्धित शिक्षण संस्थाको सिफारिस, वार्षिक शुल्क प्रमाणित हुने गरि शिक्षा समितिको पत्र वा बुझाएकोे रसिद, कमल गाउँपालिकाको स्थायी ठेगाना खुल्ने कागजात, शैक्षिक प्रमाणपत्रको प्रतिलिपीसहित व्यवहोरा खुल्ने निवेदन पेश गर्नु पर्ने हुन्छ । पालिकाले यस्तो सुविधा लिन सार्वजनिक सूचना निकालेर यहि माघ २८ गते भित्र निवेदन पेश गर्न लक्षित वर्गसंग अनुरोध समेत गरिएको सूचनामा उल्लेख छ ।
यसका लागि यसवर्ष ३ लाख वजेट बिनियोजन गरेको छ । सोहि वजेटको परिधिभित्र रहेर निवेदनका आधारमा छात्रवृति उपलव्ध गराउने शिक्षा शाखा प्रमुख न्यौपानेको भनाई छ ।