मुख्य राष्ट्रिय

सहिद दिवसमा कार्यक्रम

दमक, १७ माघ। देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा मनाइने सहिद दिवसमा मंगलबार देशभर विभिन्न कार्यक्रम गरिएको छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइएको छ । सप्ताहको अन्तिम दिन सहिद दिवसका अवसरमा मंगलबार बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । झापाका १० स्थानमा नेपाली कांग्रेस जिल्ला समितिले विभिन्नखाले कार्यक्रम गरेको छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको विशेष सम्झना गरिने दिनका रुपमा सहिद दिवसलाई लिइन्छ । प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । त्यसयता राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको समेत सम्मानमा सहिद दिवस मनाइँदै आएको छ ।

You may also like