स्वास्थ्य

हात्तीपाइले रोग नियन्त्रणमा चासो

भद्रपुर, १७ माघ। झापामा हात्ती पाईले रोग नियन्त्रण अभियान विगत १२ वर्षदेखि सञ्चालन भइरहेको अभियानलाई यो पटक पनि सफल बनाउने प्रतिबद्धता जनाइएको छ ।
विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०८० को अवसरमा भद्रपुरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुसँगको छलफलमा सहभागीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रमा प्रदेशसभा सदस्य छविलाल चुडालले हात्तीपाइले रोगको निदानका लागि प्रदेशसभामा कुरा उठाउने बताए । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै दिनु हुँदैन’, उनले भने, ‘अभियान सफल बनाउन सबैको सहयोग जरुरी छ, यसका लागि पाइलट प्रोजेक्ट चलाउनु पर्छ ।’
औषधि सेवन दर कम भएको भद्रपुर नगरपालिकामा थप कार्ययोजनाका साथ अभियान चलाइने नगरप्रमुख गणेश पोखरेलले प्रतिबद्धता जनाए । ‘अघिल्लो वर्ष ३५ प्रतिशत थियो, जनप्रतिनिधको रुपमा कार्यभार सम्हालेपछि उक्त दर बढेर ५३ प्रतिशत पुगेको छ ।’, नगरप्रमुख पोखरेलले भने, ‘हात्तीपाइले रोगलाई निर्मूल पार्न यो पटक अझ लागिपर्छौं ।’
यता, ४३ प्रतिशत औषधि सेवन दरलाई ७१ प्रतिशतमा पु¥याउन सफल शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहङ थोप्राले जनशक्ति अभावसँगै मानिसमा चेतनाको कमीले लक्ष्य अनुरुप काम गर्न नसकिएको बताए । गत वर्ष एकीकृत रुपमा जनशक्ति परिचालन गरेर टोलटोलमा अभियान चलाएकाले औषधि सेवन दर बृद्धि गर्न सकिएको बताउँदै उनले यो पटकको अभियानलाई निष्कर्षमा पु¥याउने हरप्रयास गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले रोग निदानका लागि औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै अनुगमनलाई प्रभावकारी बनाउने उल्लेख गरिन् । छलफलमा स्वयम्सेविका सीता आचार्यले जान्ने बुझ्नेमा पर्ने सरकारी कार्यालयका हाकिम र कर्मचारीहरुलाई औषधि सेवन गराउन सकस पर्ने गरेको तीतो सत्य ओकलिन् ।
झापा बाह्रदशी गाउँपालिकाकी नुतन साहले आफू विगत २० वर्षदेखि हात्तीपाइले रोगबाट पीडित भएको अवस्थामा औषधि खान थालेपछि केही सहज भएको जनाइन् । पहिला अहिलेजस्तो औषधि पनि नपाउने गरेको अवस्था उल्लेख गर्दै उनले अहिले आएको औषधि खाए रोगबाट बच्न सकिने धारणा राखिन् । अर्का हात्तीपाइले रोग पीडित भद्रपुर–५ का रामप्रेम ठाकुरले हात्तीपाइले रोगबाट पीडित बिरामीका लागि राज्यले राहत र आत्मनिर्भर हुने खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
गत वर्ष जिल्लामा ७८ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जनाए । ‘जिल्लाबाट हात्तीपाइले रोग उन्मुलन गर्न यो पटक औषधि सेवन दर ८० प्रतिशत भन्दा बढी हुन जरुरी छ । नत्र अभियान असफल भएर दुई वर्ष फेरि थपिन्छ ।’ यो वर्ष कोशी प्रदेशको झापामा मात्र हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइँदै छ । नेपालसहित विश्वबाट सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहेको छ ।
स्वास्थ्य कार्यालय झापा र भद्रपुर नगरपालिकाको आयोजना तथा सहारा नेपालको विश्वास परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । नेपालमा पाइने १० प्रकारका उष्ण उपेक्षित रोगहरुको निदानका लागि फेरमेडको आर्थिक सहयोगमा सहारा नेपालले विश्वास परियोजना सञ्चालन गरिरहेको परियोजनाका कार्यक्रम संयोजक पवनकुमार राईले जानकारी दिए ।

Author

You may also like