दमक, १५ माघ। एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आइतबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ मा नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । आइतबार नेपाालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरेर कुष्ठरोगबिरुद्धको दिवस मनाइएको छ ।
समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आइसकेको छैन । अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ । त्यसैले सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोही अनुसार उपचारको खोजी गर्नु अत्यन्त आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
झापामा कुष्ठरोगको जोखिम बढीरहेको तथ्यांकले देखाएको छ । स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको तथ्यांक अनुसार झापामा देशकै सबैभन्दा बढि जोखिम भएको जिल्ला मध्ये छौटौ नम्बरमा रहेको छ । कोशी प्रदेशको सबैभन्दा बढी जोखिम रहेको यो जिल्लामा यो आर्थिक वर्षमा १ दशमलव ०६ प्रतिशतले बृद्धि भएको छ । यसैगरी मोरङमा १ दशमलव ५३ प्रतिशतले बृद्धि हुँदा झापामा भने यसको दर अझ बढेको आईतबार झापाको दमक नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
झापाको पनि सबैभन्दा बढि जोखिम ग्रामिण क्षेत्रका पालिकाहरुमा देखिएको छ । १५ वटा पालिकाहरुमध्ये सबैभन्दा बढी जोखिम कचनकवल गाउँपालिमामा रहेको स्वास्स्थ्य कार्यालयका कुष्ठरोग विभाका अधिकृत बिरेन्द्र दासले जानकारी दिए । यहाँ ५ दशमलव ०५ प्रतिशत जोखिम रहेको छ भने सबैभन्दा कम जोखिम कन्काई नगरपालिकामा रहेको छ । यहाँ ० दशमलव ५६ प्रतिशत मात्रै जोखिम रहेको उनले जानकारी दिए ।
कचनकवलपछि सबैभन्दा जोखिम गौरीगञ्ज गाउँपालिकामा ४ दशमलव ०३ प्रतिशत, हल्दिबारी गाउँपालिकामा ३ दशमलव ०३ प्रतिशत, गौरादह नगरपालिकामा १ दशमलव ०८ प्रतिशत र दमक नगरपालिकामा १ दशमलव ०६ प्रतिशत जोखिम रहेको बताइएको छ ।
टोल टोलमै गएर रोगीहरुको पहिचान गरि उपचारमा सहभागी सहभागी गराउन अनुरोध गर्दै आइएको भएपनि जोखिम कायमै रहनुले कुष्ठरोगसँग सामना गर्न अझ सक्रियताकासाथ जनचेतनामुलक कार्यक्रमको खाँचो रहेको स्वास्थ्यकर्मीहरुले औल्याएका छन् । यद्यपी रोगीहरु अभै समाजमा खुल्न नमानी बस्ने गरेको र त्यसले विरामीहरुमा जोखिम बढाउने भएकोले नियमित औषधी सेवन र चिकित्सकहरुको परामर्श लिन अनुरोध समेत गरिएको छ ।
कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउँछन् ।
महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९÷८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको जनाएको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।
जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ ।
विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. प्रशन्न नापितले सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको बताए । रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उनको भनाइ छ । पछिल्लो समय तराई र विशेषगरी मधेस प्रदेशमा कुष्ठरोगका बिरामीको संख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउछन् । यसबाहेक एनएलआरले पूर्वको कोशी र पश्चिमको सुदूरपश्चिम प्रदेशमा समेत कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । “एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ”, सिंह भन्नुहुन्छ ।
कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । मिसनले तीनवटै सरकारको सहकार्यमा कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताउनुहुन्छ । यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालसमेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ ।
कुष्ठरोगको चिह्न र लक्षण शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिन्ह हो । यस बाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिन्हहरू हुन् ।