दमक, ११ माघ। नेपाली महिलाहरुले १ महिनासम्म शिवजीको पूजा आराधना गर्ने श्री स्वस्थानी व्रत आजबाट प्रारम्भ भएको छ ।
नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
बिशेषत ः हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् । पूर्णिमामा पूजा लगाएर व्रत समाप्त गर्छन् ।
यसैबीच, माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समिति साँखु काठमाडौंद्वारा प्रत्येक वर्ष हुने स्वस्थानी व्रतको व्यवस्थापन तयारी भएको बुधबार पत्रकार सम्मेलनमा जनाएको छ ।
स्वस्थानी कथामा वर्णन गरिएको सालीनदीमा व्रत बस्ने सहितको मेलालाई व्यवस्थित र मर्यादित बनाउनका लागि शंखरापुर नगरपालिका, प्रहरी प्रशासन तथा यातायात व्यवसायीहरुको संयुक्त पहलमा धार्मिक तथा ऐतिहासिक नगरी शालिनदी मेला व्यवस्थित गरिएको व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।