समाचार स्वास्थ्य

झापामा दादुरा खोजपड्ताल सुरु

बिर्तामोड, ०४ माघ। झापाको एउटै गाउँमा ६ जना सहित जम्मा ७ जनामा दादुरा देखिएपछि यसबेला अन्य विरामीको पनि खोजपड्ताल सुरु गरिएको छ । झापा गाउँपालिकामा छजनामा दादुरा आउटब्रेक भएको बताउँदै अन्यमा समेत संक्रमण भएको हुनसक्ने भन्दै खोजपड्ताल अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।
झापा गाउँपालिका ७ को सन्थाल बस्तीका छ जनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेका छन् । सन्थाल समुदायका दुईजना, थापा थरका तीनजना र बराइली थरका एकजनामा दादुरा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, बिर्तामोडका एकजनामा पनि दादुराको संक्रमण देखिएको छ ।
मंगलवार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य कार्यालयको टोली, गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियासहितका जनप्रतिनिधि, विद्यालयका शिक्षकलगायतबीच संक्रमण रोकथामका विषयमा बृहत अन्तरक्रिया गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख न्यौपानेले अन्य संक्रमितको खोजीका लागि कन्ट्र्याक्ट ट्रेसिङ सुरु गरिएको बताए । उनले रेपिड रेस्पोन्स टिम परिचालन गरिने, घरधुरी सर्वेक्षण गरिने, सम्बन्धित व्यक्तिहरुलाई अभिमुखीकरण गरिने जानकारी दिए ।
संक्रमितहरुलाई भिटामिन ‘ए’ को उपचार गरिएको उनले बताए । अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी संगीता शाह, स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटी, गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलिया स्वास्थ्य शाखा प्रमुख न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
यसअघि, सन् २०२३ मा झापामा छजनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा सातजनालाई संक्रमण देखिसकेको स्वास्थ्य प्रमुख बाराकोटीले बताए ।
झापा गाउँपालिकामा पहिलो संक्रमण पुस १३ गते देखापरेको थियो । शरणामती स्वास्थ्य चौकीमा आएका ती संक्रमितको रगत परीक्षणका गर्दा पुस २५ गते पोजेटिभ आएको थियो । त्यसपछि, झापा गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले पुस २६ गते सो टोलमा खटिएर नमुना संकलन गरेको थियो । त्यसबेला छजनाको रगत संकलन गरिएकोमा पाँचजनामा पोजिटिभ देखिएको थियो ।

You may also like