अर्थ स्थानीय

झापामा ड्राइगन खेतीप्रति आकर्षण

दमक, ०४ माघ। झापामा ड्राइगन (सिउँडी) फलको खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । ड्राइगन खेतीबाट राम्रो आम्दानी हुने देखेपछि झापाका युवाहरुले आधुनिक तरिकाले खेती थालेका छन् । झापाको दमक, बुद्धशान्ति, बाह्रदशी, गौरीगञ्ज लगायतका क्षेत्रमा ठूलो मात्रामा व्यवसायिकरुपले ड्राइगन फलको खेती हुँदै आएको छ ।
झापाको दमक ४ का पूर्णकुमार लामाले गतसाल १५ कट्ठा क्षेत्रफलमा ड्राइगन खेती गरेका थिए, उनले ५ लाखबढीको आम्दानी भएको बताए । उनले अहिले ४० पोल विरुवा थपेका छन्, जसबाट यो वर्ष आम्दानी लिन सकिने उनले बताए ।
यसैगरी दमक २ निवासी भुपेन्द्र थापाले अघिल्लो वर्ष झापाकै गौरीगञ्जमा आठ विगाहा जमिनमा यसको खेती गरेका थिए र अहिले सोही स्थानमा अरु ४ विगाहा जमिन थपेर ड्राइगन फलको खेती गरेका छन् । अघिल्लो वर्ष २५ लाख वढीको विक्रि गरेको जानकारी दिए । यो वर्ष थप उत्पादन बढ्ने देखिएको छ, उनले भने ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले अघिल्लो बर्षहरुमा अनुदानको कार्यक्रम समेत संचालन गरेकाले खेती विस्तारमा युवाहरु थप उत्साहित भएको बताएका छन् । उनले झापामा ड्राइगन खेतीको क्षेत्रफल २ गुणा बढेको जानकारी दिए । उनले उत्पादनमा बृद्धि भएको र क्षेत्रफल पनि बढेको भएपनि उत्पादन बढ्दा मुल्य घट्ने भएकाले विगत वर्षमा झै मुल्य लिन यो वर्ष किसानलाई गाह्रो हुने उनले बताए ।
यसअघि बाहिरी जिल्लाबाट विरुवा ल्याएर खेती थालेका झापाली युवाहरुले अहिले आफैपनि नर्सरी संचालन गरी अन्य जिल्लाहरुमा विक्री गर्न समेत सफल बनेका छन् । ५ बर्ष अघिसम्म जिल्ला बाहिरबाट विरुवा ल्याएर खेती गर्ने किसानले अहिले विरुवा उत्पादन समेत गर्न थालेका छन् । बाह्रदशी गाउँपालिका वडा नं. ७ मा स्थापित फाल्गुनन्द कृषि फार्मले अहिले ठूलो संख्यामा बाहिर व्यापार गर्न सफल भएको जनाएको छ ।
विदेशबाट फर्किएर स्वदेशमै केही गरौं भनी ३३ विगाह क्षेत्रमा कृषि कर्म थालेका मदन वेघाको ७ महिना अघि सवारी दुघर्टना परी पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुरुङ्गामा मृत्यु भयो । तर उनले देखाएको बाटोमा काम गर्ने युवाहरुले बाह्रदशी गाउँपालिका वडा नं. ७ मा गर्दै आएको कृषि फार्ममा अझै मेहनेत गरेर खेती गर्दै आएका छन् । अहिले फार्ममा ठूलो संख्यामा सिउँडी फलको विरुवा उत्पादन गर्न सफल भएका छन् ।
५ बर्ष अघि देखि परिक्षणकोरुपमा थालिएको ड्राइगन फल खेती यतिखेर जिल्लाका विभिन्न भागमा व्यवसायिकरुपमा थालिएको छ । खेती विस्तार हुन थाले पछि अहिले फाल्गुनन्द कृषि फार्मले विरुवा उत्पादन र विक्रीलाई जोड दिएको फार्मका व्यवस्थापक छोटुभाइ अन्सारीले बताए । छोटु भाइका अनुसार अहिले एकै जना किसानले १० हजारसम्म विरुवा लाने गरेका छन् । विरुवा झापा देखि पश्चिमी जिल्ला र भारतसम्म लाने गरेका छन् ।
तराई वा गर्मी स्थानमा हुने यो खेती अझ बलौटे माटोमा धेरै हुने गरेको छ । ड्राइगन फल खेती गर्दा शुरुका केही बर्ष दोहोरो बाली समेत उत्पादन लिने गरेको व्यवसायिक रुपमा ड्राइगन फलको खेती गदैैै आएकी बुद्धशान्ति गाउँपालिका वडा नं. १ की प्रतिमा पोखरेलले बताइन् । उनले विगतको तुलनामा यो वर्ष उत्पादन बढ्नेमा आशा बढेको बताइन् ।

You may also like