दमक, १५ पुस।

लामो समयदेखि हङकङ बस्दै आएका चर्चित लोकगायक गणेश पराजुलीको संयोजनमा हङकङमा इलाम साँझ सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । जहाँ इलामका कलाकारहरुलाई आमन्त्रित गरेर कार्यक्रम गरिएको हो ।
इलाम समाज हङकङको आयोजनामा २ स्थानमा भएको कार्यक्रममा, चर्चित कलाकार जोडी गणेश पराजुली र यशोदा पराजुलीकासाथै कोमल निरौंला, सुनिता थेगिम, कल्पना बानु राई, कमल राई र गणेश न्यौपानेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका छन् । साथमा हङकङकी चर्चित कोरियो ग्राफर योगिता गुरूङको पनि सहभागिता रहेको थियो ।
पछिल्लो कार्यक्रम शनिबार याक एण्ड यति रेस्टुरेन्ट जोर्डनमा कल्पना र सुनिताको संयुक्त सांगीतिक साँझ सम्पन्न भयो । कल्पनाले अरुणा लामाको सम्मानमा उनले गाएको गीतबाट आफ्नो गायन सुरु गरेर दर्शकलाई मन्त्रमुग्ध पारिन् । अनि महेश श्रेष्ठको शब्दमा गुराँस भइ फुलुँ सहितका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेको उनले पूर्वसन्देशलाई जानकारी गराइन् ।
हेनरी जि. ल्योङ्ग याउमातेई कम्युनिटी हलमा सम्पन्न अघिल्लो कार्यक्रम समाजका अध्यक्ष श्री वसन्त राई ‘विपिन’को अध्यक्षतामा कोशी प्रदेश सांसद मीना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

You may also like