स्थानीय

शारदा माविमा आइसीटी ल्याब

उर्लाबारी, १५ पुस।

उर्लाबारी नगरपालिका र एसोशिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका ( आन्मा )को सहयोग साझेदारीमा उर्लाबारी १ झारसाँदीस्थित शारदा माध्यामिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना भएको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले कम्प्युटर प्रयोगशालाको एक समारोहकाबीच उद्घाटन गरेका छन्  । सो ल्याबमा २० वटा कम्प्युटरसहित प्रोजेक्टर, पर्दा, प्रिन्टर्स तथा टेबल र मेच रहेका छन् । प्रमुख अतिथि नगर प्रमुख खरेलले कार्यक्रममा मन्तव्य राख्दै सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नु पर्नेमा जोड दिए । उर्लाबारी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर अघि बढेको बताउँदै उनले विद्यालयहरु प्रविधिसँग अपडेट हुँदै जानुपर्ने धारणा राखे ।
कार्यक्रममा विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेले कम्प्युटरको अधिकतम प्रयोग गरी विद्यार्थीमा पुरापुरा ज्ञान भर्न आवश्यक रहेको बताए  । पहिले कम्प्युटर संख्या कम हुँदा प्रयोगात्मक कक्षा लिन समस्या हुने गरेको भन्दै अब त्यो समस्या समधान भएको शारदा माविका प्रधानाध्यापक सुर्य दाहालको भनाई छ  । डिजिटल साक्षरता र प्राविधिक विकासमा टेवा पु¥याउने गरी कम्प्युटर ल्याब स्थापनार्थ शैक्षिक क्षेत्र विकासमा सहयोगी भूमिका खेलेकोमा नगरपालिका र आन्मा संस्थालाई प्रअ दाहालले धन्यवाद व्यक्त गरे ।
यसअघि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा १५ वटा कम्प्युटर संचालनमा थिए । कम्प्युटर ल्याब स्थापनार्थ खटिएका आन्मा प्रतिनिधि कुन्दन शर्मा मिश्रलगायतको टिमलाई कार्यक्रममा सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवकुमार पाण्डेको सभापतित्व रहेको कार्यक्रममा उर्लाबारी १ का वडाध्यक्ष तिलक पाण्डे, वडा सदस्य गौरीशंकर दाहाल, नगर शिक्षा समितिका सदस्य पूर्णप्रसाद घिमिरे, समाजसेवी पदमबहादुर गौतम लगायतको आतिथ्यता रहेको थियो ।

Author

You may also like