विमल लामिछाने
दमक, १५ पुस। झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजुङ जोड्ने दमक–चिसापानी–रवि सडक (फाल्गुनन्द मार्ग) को निर्माण कार्यले गति लिन सकेको छैन । आधाभन्दा बढी काम अधुरो अवस्थामा छ ।
निर्माण कार्यले गति लिन नसकेको गुनासो आउनका साथै समितिको बैधानिकता समेत समाप्त भइसकेको टिप्पणी हुन थालेको बेला निर्माण समितिले अन्तिम चरणको काम शुरु भएको बताएको छ । सो सडकको परिकल्पना भएको करिब ३५ वर्ष वितिसकेपनि निर्माण कार्य सम्पन्न हुनेमा अझै अन्योल सृजना हुँदा जनस्तरबाटै प्रश्न उठ्न थालेको छ । लामो समय यो सरकारको प्राथमिकतामा परेन । जब प्राथमिकतामा पर्यो र बजेट पर्याप्त आयो त्यसपछि काम भएन । पछिल्लो समयमा पूर्ण बजेट सहित दमकदेखि चिसापानी सडक निर्माणको लागि ठेक्का लाग्यो तर अहिलेसम्म ५० प्रतिशत काम भएको छैन ।
दमकदेखि चिसापानीसम्मको ३५ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिँदासमेत काम पूर्ण भएको छैन । सडक कालोपत्रेका लागि तीन खण्डमा काम गर्ने गरी निर्माण सम्झौता भएको थियो ।
माथिल्लो दुईखण्ड निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कालोपत्रका लागि लागेको ठेक्काको समय चार पटकसम्म थप हुँदा समेत निर्माण हुन सकेको छैन । पहिलो खण्ड मानिएको दमकदेखि साढे छ किलोमिटर महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०७५ साउन अन्तिममा सम्झौता गरेको थियो । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किमी सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको छ । सो सडकखण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । सडकमा धेरैजसो ठाउँमा नाली निर्माण र ग्याभिङ वालको काम भने सम्पन्न भइसकेको छ ।
समितिका अध्यक्ष रेवतराज पुरीले आफू अध्यक्ष भएर आएयता २० ओटा कल्भर्ट, ४ वटा पुल, ट्रयाक वेभ र सव वेभ, बेष्ट वाल (भित्तातर्फ लगाइने), रिटेनिङ वाल लगायतका काम सम्पन्न गरेको जानकारी दिए । उनले झापा खण्डतर्फ ३ किलोमिटर र इलामतर्फ ३ किलोमिटर सडक कालोपत्रे भइसकेको र सडक डिभिजन कार्यालय तथा निर्माण समितिबीच भएको पछिल्लो प्रतिबद्धता अनुसार बहुवर्षे योजना भएकाले दमक – चिसापानी सम्मको ३५ किलोमिटर लामो र ८ मीटर चौडाइको सडक यही आर्थिकवर्षभित्र पूर्ण हुनेगरी अबको कालोपत्रेको काम यही माघ पहिलोसाताबाट शुरु गरिने बताए । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको
आधाभन्दा बढी…..सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर सुधीरकुमार झाले बताए ।
तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको पनि झाले बताए ।
सडक निर्माणमा आइलाग्ने समस्याका कारण र समयमा रकम भुक्तानी नहुँदा काममा ढिलाई भएको निर्माण कम्पनीका सञ्चालक तुलसीराम भण्डारीले बताए । उनले भर्खरै स्थानीय राजनीतिक दल तथा सरोकारवाला निकायले बाटो खोलिदिने सहमति भएसँगै काम अगाडि बढाइने सहमति भएकोले काम अब द्रुत गतिमा हुने बताए । आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको उनको गुनासो छ । भुक्तानी समयमा भए अब वैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने उनको भनाई छ ।