स्थानीय

संग्रौला बन्धुबाट प्रवेशद्वार

शिवसताक्षी, २६ मंसिर ।
संग्रौला बन्धुहरुले झापाको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा सताक्षीधाम प्रवेशद्वार निर्माण गरिदिएका छन् ।
पूर्वकै एक पवित्र धार्मिक तथा पर्यटकीय स्थल मानिने सताक्षीधाम प्रवेशद्वारको आइतबार एक कार्यक्रमकाबीच जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले वैदिक विधिबाट पूुजा गरी उद्घाटन गरेका छन् । सो प्रवेशद्वार १९२ जना संग्रौला बन्धुहरुबाट उठेको २२ लाख सहयोग रकमबाट निर्माण गरिएको हो ।
प्रवेशद्वार उद्घाटन पछि आयोजित कार्यक्रममा बालसन्त देवाचार्यले संग्रौला बन्धुहरुले सामाजिक सेवाको क्षेत्रमा गरेका कार्यहरु प्रशंसनीय रहेको बताए । उनले यो प्रवेशद्वारले सताक्षीधामको सौन्दर्यलाई अझै बढाएको बताए । उनले सताक्षी धामलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउन सबैको भूमिका अपेक्षित हुने बताए । कार्यक्रममा गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज महाराजले गौ माताको रक्षाका लागि सताक्षीधाममा भइरहेको कार्यलाई अझै मजबूत र सुदृढ बनाएर लैजाने प्रतिवद्धता जाहेर गरे ।
संग्रौला वंश समन्वय तथा समाज कल्याण समितिका अध्यक्ष दिलीप कुमार संग्रौला र कार्यक्रमको अध्यक्षता गरेका सो प्रवेशद्वार निर्माण समितिका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले हिन्दु धर्मको रक्षा र गौ माताको संरक्षणका लागि आपूmहरु सदा सर्वदा लागिरहने बताए । सताक्षीधाममा मात्र होइन, सामाजिक तथा धार्मिक सेवाका कामहरु अन्य ठाउँहरुमा पनि गर्दै जाने उनीहरुको भनाई थियो । कार्यक्रममा समितिको अध्यक्ष दिलीपले सताक्षीधाम क्षेत्रका लागि चाँडैनै १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका थिए ।
कार्यक्रममा सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष तुलाराम बोखिमलाई नवनिर्मित प्रवेशद्वारको साँचो समेत हस्तान्तरण गरिएको थियो । सताक्षीधाम समितिको पूर्व अध्यक्ष प्रसाद सुब्बा, जानकीश्वर संस्कृत गुरुकुल गौरादहका सुरेश पौडेल र डा. सूर्यनारायण साहले शुभकामना मन्तव्य राखेका थिए । धाममा सोमबार बालचतुर्दशी मेला लागेको छ ।

Author

You may also like