मनोरञ्जन

नारायणगोपालको स्मृति दिवश

दमक, २० मंसिर

नेपालका स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस मंगलबार नेपाल र नेपाल बाहिर विविध कार्यक्रम गरी मनाइएको छ ।
यस क्रममा नारायणगोपालको स्मृति सहित उनको सम्मानमा झापाको बिर्तामोड र मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा सांगीतिक कार्यक्रम भएका छन् ।
नारायण गोपाल स्मृति प्रतिष्ठान बिर्तामोड ३ ले साँझ बिर्तामोड ४ स्थित बिर्ता पार्टी प्यालेसमा सांगीतिक कार्यक्रम भएको प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीले बताए । वरिष्ठ संगीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चर्चित गायक विष्णु अधिकारीको साथमा स्थानीय कलाकारहरुले गीत प्रस्तुत गरे ।
विगत ९ वर्षदेखि निरन्तर ‘नझरेका फूलहरू’मार्फत स्रष्टा सम्मान र पलेँटी शृङ्खला प्रस्तुत गरिरहेका विराटचोकका गीतकार केपी घिमिरेको अगुवाईमा नारायणगोपालको पुण्यतिथिमा मुर्धन्य गायक शिशिर योगीको अगुवाईको कार्यक्रम सम्पन्न भयो । नझरेका फूलहरूको ३९औँ शृङ्खला अन्तर्गत मंगलबार साँझको ‘पलेँटीमा शिशिर योगी’ कार्यक्रममा गायिका अनु बुढाथोकी, सङ्गीतकर्मी अनुप दियाली, आइतराज लिम्बू सहित अलङ्कार कला केन्द्र बेलबारीको समेत प्रस्तुति रहेकोसुन्दरहरैंचा ९ को सलकपुरस्थित नागदेवी मन्दिरको हलमा कार्यक्रम सम्पन्न भयो ।
नारायणगोपालको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो । २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर उनले स्वर परीक्षा उतीणर् गरेका थिए । ३० वर्ष लामो गायनयात्रामा उनले १३७ वटा गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन् । आधुनिक गीतका साथै उनले केही चलचित्रमा समेत गाएका छन् । साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए ।
भारतको दार्जीलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायण गोपालको समूह बनेको थियो । थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए । योञ्जन र नारायण गोपालले दार्जीलिङमै मित लगाएका थिए ।
नारायण गोपालले ‘दुईटा फूल देउरालीमा’ ‘एउटा मान्छेको मायाले कति’, ‘पोखिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो बेहोसी आज’, ‘मेरो आँखालाई राख्ने’, ‘श्रद्धाको फूल चढाइदिनु, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ लगायतका कालजयी गीत गाएका छन् । भक्तराज आचार्य, फत्तेमान, अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका उनको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो। यो गीत सुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि ढकालले स्वर दिए । यसलाई लोचन भट्टराईले समेत गाएकी छिन् ।
नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलगायत प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो ।
दार्जीलिङकी पेमला लामासँग विवाह गरेका नारायण गोपाल निःसन्तान रहे । पेमलाको पनि निधन भइसकेको छ ।

Author

You may also like