दमक/ दमक नगरपालिकाले नगर क्षेत्रमा बढ्दो लागु औषध प्रयोग, कारोबार र ओसारपसार कार्यलाई रोक्न विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
मंगलबार दमक नगर प्रमुख राम कुमार थापाको अध्यक्षतामा बसेको नगरस्तरीय सामुदायिक प्रहरी साझेदारी पालिका समितिको बैठकले यस्तो निणर्य गरेको हो । दमक नगरमा बढ्दो लागू औषध प्रयोग र कारोबारलाई नियन्त्रण र न्यूनीकरणका लागि लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान सञ्चालन गरिने दमक नगर प्रमुख थापाले जानकारी दिएका छन् । अभियान पुसको पहिलो हप्ताभित्र बृहत् सहभागिताकाबीच प्रारम्भ गरिने जनाए ।
चालु आर्थिक वर्षमा यो अभियान सञ्चालनका लागि दमक नगरपालिकाले पाँच लाख र प्रदेश सरकारबाट १० लाख गरी १५ लाखको कार्यक्रम प्रस्ताव गरिएको छ । ‘यो कार्यक्रमलाई प्रभावकारी बनाउन हामीले प्रदेश सरकारसँग समन्वय गर्नेछौं । म आजै मुख्यमन्त्री केदार कार्कीबाटै अभियान उद्घाटन गराउने वातावरण मिलाउँछु ।’ थापाले भने । उनले समाजको इज्जतका नाममा लुकेर बसेका समस्याहरुलाई समाधान गर्न लागु औषध प्रयोगकर्तालाई स्वास्थ्य र कानूनी सचेतना प्रदान गरिने उल्लेख गरे । यसका लागि लागु औषधले समस्या पारेको परिवार सवै लाग्नुपर्नेमा उनको जोड छ ।
अभियानलाई तीव्र बनाउन प्रहरी प्रशासन, राजनीतिक दल, दमक नगरपालिकाको सामाजिक, शिक्षा र स्वास्थ्य शाखा, वडा समितिहरु, सामाजिक संघसंस्था, सञ्चारकर्मीहरुबीच आपसी समन्वय हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिने निणर्य गरिएको छ ।
प्रस्तावित कार्यक्रम अनुसार दमक नगरका १० वटै वडामा लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचारसँग सम्बन्धित सचेतनामूलक सडक नाटक, सचेतनामूलक सामग्री वितरण, अन्तरक्रिया, हेल्प डेस्क र टोल फ्री नम्बर स्थापनालगायत कार्यहरु गरिने बैठकमा जानकारी गराइएको थियो ।
बैठकमा दमक नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक मनोजकुमार लामा, वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, २ का वडाध्यक्ष प्रजापति सापकोटा, ६ का वडाध्यक्ष टेकबहादुर थापा, सामुदायिक प्रहरी साझेदारी पालिका समितिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु सहभागी थिए ।