दमक, १ मंसिर
मैथिली सहित आम नेपालीको पर्व वन्दै गएको सूर्य उपासनाको ‘छठ’ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा-अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।
मंसिर ४ गते उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने छठका क्रममा कात्तिक शुक्ल चौथीका दिन ‘नहाय-खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा-मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ ।
व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा-अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथीकै दिन ‘नहाय-खाय’ विधिसँगै जोडेर गर्ने गरेका पनि पाइन्छ । व्रत विधानल ेभनें कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा-अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का बासिन्दा पण्डित महेशकुमार झा बताउँछन् । बिहिबारदेखि ‘अरबा-अर्बाइन’ गरेका वर्तालुले आज शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय-खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् ।
पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ ।
सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ ।
-दमकमा घाट बनाइँदै-
दमक, कमल सहितका पालिकाका बासिन्दाका लागि मंसिर ३ र ४ गते छट पर्व मनाउनका लागि स्थानीय रतुवा खोलामा घाट मनाउने काम अघि बढेको छ । छैठ पूजाका लागि पण्डालसहितको घाट निर्माण कार्य भइरहेको आयोजक मैथिली सेवा समितिले जनाएको छ ।
संस्थाका अध्यक्ष कृष्ण साहका अनुसार अघिल्ला वर्षझै यसवर्ष पनि छैठ पूजाआजा दमक ७ स्थित रतुवा खोलाको पुलदेखि सोही वडाको उत्तर राधा माधव समिति दमकको मन्दिर अगाडिसम्मको खोला धारमा घाट निर्माण भइरहेको छ ।
यसपटक रतुवा खोला धारमा पण्डाल सहितको करिव ३ सय घाट निर्माण गरिने अध्यक्ष साहले बताए । घाट निर्माणका लागि दमक नगर पालिकाको सहयोगमा जेसीभी लगाएर मर्मत सम्भार गरेको,घाटमा रहेको वाँधमा भक्तजनहरुलाई आवाज जावत गर्न सजिलो होस भनेर नगरपालिकाको सहयोगमा विभिन्न दुरीमा पक्की अस्थायी संरचना निर्माण गरिएको मैथिली सेवा समिति दमकका उपाध्यक्ष राजीव पूर्वेले बताए ।
छठ पर्वमा आउने भक्तजनहरुको सहजतालाई ध्यानमा राखेर एमक दर्जन अस्थायी शौचालय , तीन स्थानमा सुरक्षा विट र घाट क्षेत्रमा विजुली उपलब्ध गराउने व्यवस्था गरिने उनको भनाई छ । गतवर्षको छैठमा त्यहाँ २ सय ६० घाट निर्माण गरिएको थियो । छैठ पूजाका लागि घाट बुकिङ्ग कार्य खुल्ला गरिएको बताईएको छ ।
यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिएको मुक्तिको भनाइ छ ।
खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान बताउँछन् । मुख्यत सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वास छ ।
एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत् भएका देवताले शिव-पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव-पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व रहेको मान्ने गरिएको छ । पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको पाइन्छ ।
यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । अघि द्वापरयुगमा भगवान श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुुरु भएको विश्वास गरिँदै छ ।
अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिँकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षकघाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र भाकलका रुपमा अघ्र्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीहरुलेसमेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बनेको छ ।
झापा लगायतका जिल्लामा नदी, तनाउ, खोलीहरुमा समेत यो पर्व मनाउनेको संख्या बर्षेनी बढिरहेको छ ।